रूपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालले आइसियूमा उपचाररत गुल्मीका कोरोनाभाइरस संक्रमितको मृत्यु नभएको जनाएको छ।
बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै अस्पतालले ती बिरामीको अहिले भेन्टिलेटरको सहायतामा उपचार भइरहेको बताएको छ।
उनलाई भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर कोरोनाबाट बिरामीको मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेपछि अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिएका थिए । साथै उनले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई सुझाएका थिए ।
भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले अन्ततः बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्यो ।
स्रोतका अनुसार जीवित व्यक्तिबारे झूठो विवरण दिएको भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए । प्रदेश सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने बताइएको छ ।