काठमाडौं । शिक्षण अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पतालका चिकित्सकसहित ३८ जनालाई क्वारेन्टिनमा राखिएको छ ।
अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना भाइरस (कोभिड १९) संक्रमणको पुष्टि भएपछि
उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टिनमा राखिएको हो ।
बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।
न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टिनमा राखिएको छ ।
उनीहरु सबैको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले जानकारी दिएका छन् ।