सुत्केरीको दशाले बिगारेको मन र भत्केको दिनचर्या « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुत्केरीको दशाले बिगारेको मन र भत्केको दिनचर्या


२९ बैशाख २०७७, सोमबार


काठमाडौँमा खाद्यान्न पुर्‍याएर चितवन तर्फ फर्केका थानकोट कटी नौविसेतिर ओरालो लाग्नै लाग्दा एक ट्रक चालकले बाटामा हिडीरहेको जमातमा सुत्केरी महिला पनि देखेछन् । जमातका धेरैले अलि अस्वाभाविक तरिकाले उनलाई रोक्न सङ्केत गरेछन् । उनी वास्ता नगरेरै अगाडि बढेछन् । अलि पर पुगेपछि ट्रक रोकेछन् । झुत्रेझाम्रे, बालबालिका, सुत्केरी देखेपछि मन पग्लेछ । उनीहरूलाई आफू पुग्नै ठाउँसम्म पुर्‍याइ दिने तर प्रहरीले जुनसुकै वेला जहाँ पनि आफूलाई अप्ठ्यारो पार्न सक्ने कुराको जानकारी गराएछन् । त्यसको जबाफदेही आफैँ हुन पर्नै जानकारी गराइ चितवनसम्म पुर्‍याइ दिन्छु भनेर ट्रकको पछाडि राखेर ती सबै जनालाई गुडाएछन् ।

मलेखुमा पुगेपछि प्रहरीले ‘माथिको आदेश’ भनेर ‘जहाँबाट ल्याएको त्यही पुर्‍याएर छाड’ भनेछ । ट्रक ड्राइभरको होस काढेछ । यात्रुले अनुनय विनय गरे केही लागेनछ । ती ट्रक चालकले फेरि उही ठाउँमा ल्याएर छाडेछन् । ती मजदुरहरू फेरि हिँडेरै तिन दिन लगाएर त्यही मलेखु पुगेछन् । ‘खुट्टा सुनिएका छन्, ब्रुफिन खाएर हिँडेका छन् ।’ ‘१२ दिनसम्म हिँडिरहेका छन् ।’ ‘१६३ घण्टा हिँडेर बालबालिका सहित छाप्रोमा बसेका मजदुरका परिवार सिन्धुली पुगे रे ।’ ‘छिमेकी प्रधानमन्त्रीले जनतासँग माफ मागे । हाम्राले घुर्की लगाए ।’ ‘सर्वोच्च भन्छ नागरिकलाई सुरक्षित रूपमा घर पुर्याउ । प्रधानमन्त्रीले आदेश दिन्छन् । घर जान हिँडेका छन् भने पनि तुरुन्तै त्यही रोक ‘ यी विषयवस्तु दन्त्यकथा जस्तो लागे पनि सञ्चार माध्यममा आएका घटना हुन ।

सीमापारि तीन हजार नेपाली नागरिक अलपत्र । बिमारी आमाले बाटामा आएको छोराको मुख हेरेर मर्ने रहर छ भन्दै गर्दा ‘उतै रोकियो’ भन्ने खबर सुनी छन् । उनको प्राण गयो । छोरोले त्यतै सिमाना पारि किरिया बसेका छन् । एक जना नेपाली त्यही सीमापारि बिमारी भएर उपचार नपाइ मरे ! अरू देशले विशेष चार्टर विमान पठाएर आफ्ना नागरिक लगे । अरू त के हाम्रो जस्तै औकात र भूगोल भएको भुटानले पनि आफ्ना दुई जना नागरिक नेपालमा रहेकाले उनीहरूलाई लैजान विशेष विमान पठाउने भएछ । सर्वोच्च अदालतले सीमा पारिका नागरिकलाई सीमावारि ल्याउन दिनु भनी मौलिक हकको रक्षाको लागि आदेश दिई रहेको छ । सरकारले चाहिँ रोकीरहेकोछ । यी र यस्ता विषयले लकडाउनको २५ औँ दिनमा मन बिग्रियो । दिन चर्चाका नियमित कार्य र कार्यालयका काममा जागर लाग्न छाड्यो ।

सपनाका घटना, कथा र उपकथा जन्मेको र हुर्केको थातथलो सेरोफेरोमा रहेको हुन्छ । जन्मभूमि र बाल्यकालमा जीवन बिताएको माटोसँग सम्बन्धित हुन्छन् । जीवनका दुई तिहाइ भन्दा बढी समय जन्मेको र हुर्केको ठाउँमा भन्दा बाहिर बिताइसकेको छु । अचेतन र अर्धचेतन अवस्थाका सपनाहरू कित जन्मभूमि कै सेरोफेरोमा रहेका हुन्छन् कि त नितान्त पारिवारिक विषयवस्तुसँग सम्बन्धित हुन्छन् । परिवार छाडेर अर्काको मुलुकमा मजदुरी गर्न कोही पनि रहरले गएको हुँदैन, बाध्यताले । त्यहाँ पुगेर फर्कँदा आफ्नै मातृ देशमा आउन नपाएको अवस्था कति पिडादायक होला । बोलाइ र लेखाइले यसलाई सम्बोधन गर्न सकिँदैन । सरकारले पनि रहरले त त्यसो गरेको होइन होला भनी सकारात्मक बन्न खोज्दछु । पटक्कै मन मानेको छैन । सरकार सहयोगी बन्न नसके पनि निर्दयी बन्न हुँदैन भनी अन्तर आत्मा प्रतिक्रिया उब्जिहाल्छ ।

यी माथि उल्लिखित समाचार र यस प्रकृतिका जानकारी अनलाइन पत्रिका र सामाजिक सञ्जालमा निरन्तर देखिन थाले । होइन होला त्यतिसम्म त भनेर थप सञ्चार माध्यम हेर्‍यो त्यही कुराको पुष्टि भएको हुन्छ । अव त त्यस्ता घटनाहरू नदोहोरिएलान् कि भन्यो फेरि एक पछि अर्को त्यस्तै । प्रधानमन्त्री आफै बिमारी हुनुहुन्छ । बिमारी अवस्थाका प्रधानमन्त्रीप्रति अलि सहानुभूति र प्रशंसा हेर्न र सुन्न पाइन्छ कि भन्यो । अलिकति आसा लाग्दो कुरा केही छैन । मन अझ दिग्भ्रमित भयो । आज सम्मको लकडाउनको दिनचर्या झन् भत्क्यो । विचलित भयो । पश्चिमाको भाषामा डिस्ट्रोर्ड भयो डिकन्सट्रक भयो । तर रि कन्सट्रक हुन सकेन ।

मध्य दिउसोको वेला अगाडि तेर्सिएका धेरै काम चटक्कै छाडेर करेसाबारीमा काम गर्न पुगेँ । पाँच बजेतिर आसनमै फर्केँ । जानु पनि कहाँ । त्यो भन्दा अरू गर्ने के ? भैगो त्यताका कुरा नसोचौँ । चिन्ता नगरौँ, बरु आफ्नै काममा लागौँ भनी कार्यालयकै कामप्रति ध्यान दिने प्रयास थालेँ । अहिलेको आफ्नो काम विकास साझेदारसँगको समन्वय । लकडाउनका वेलामा पनि के के नै गरे जस्तो निकै व्यस्त भए जस्तो । विकास साझेदार निकायका कर्मीहरूको छटपटी देखेर म पनि अलि हौसिन खोज्छु । अलि चित्त बुझाउन खोज्दछु । शोधभर्नाका सूचक र नतिजामा आधारित उपलब्धि जस्ता विषयवस्तुमा थुप्रै इमेलहरू झुन्डिई रहेका छन् ।

कोरोनाको भयाभय अवस्थाका बारेमा दातृ निकायहरूको जिज्ञासा । त्यसमा केही चिन्ता । केही माथिको आदेश । आदेशअनुसारको जानकारी लिई माथि पुर्‍याउन पर्ने बाध्यतामा आफूलाई मिसाउन प्रयास हुन्छ । वहाँहरूको तत्परता तथा सुधारका प्रयासलाई दुर्गम र कठिन अवस्थामा भएका बच्चाको पठनपाठनको अवस्था सम्झन्छु । हामीले गरिरहेका कामको ती दूरदरारका बालबालिकाको पठनपाठनसँगको सम्बन्ध खोज्दछु । कुरा हुन्छन् अनलाइन पठनपाठनका । स्वअध्ययन सामग्री तयार गरी पठाउने । शिक्षक सहयोगी सामग्रीका कुरा हुन्छन् । भिडियो कनफरेन्समा संघीय मन्त्रीदेखि प्रदेश मन्त्रीहरूसम्मको छलफल हुन्छन् । दाताहरू सँगको छलफल । कहिले हामी मन्त्रालय पद्धतिका मानिसहरू बिचमा छलफल । ती सबै स्मरणमा लिएर ती कठिन अवस्थाका बालबालिकाको अवस्थासँगको सम्बन्ध फेरि स्थापित गर्न प्रयास गर्छु चुरो र टुङ्गो भेटिँदैन । कम्तीमा यति त होला भनेर आसामा पुग्नै सक्दिन ।

दातासँग सम्बन्धित कार्य सम्पादनका नतिजा र शोधभर्ना सम्बन्धी सूचकको प्रगतिको अवस्थाका छटपटीमा अलमलिन प्रयास गर्छु । सबै यान्त्रिक लाग्छ । यन्त्र जस्तो । यति पुर्‍याउने यति किन भएन । यति भए पैसा आउँछ । यी नतिजामा आधारित काम, सूचकमा आधारित काम र कार्यसम्पादन सम्झौतामा आधारित प्रगति सबैको गन्तव्य बालबालिका हुन् । मर्म नपहिलिएका काम । गन्तव्यमा जे भए पनि प्रगति देखिने । सबै खर्च भएको र यति वटा तालिम तथा यति वटा कार्यक्रम सम्पन्न भएकाले शत प्रतिशत प्रगति । स्याबासी र धन्यवाद । नपुगेकोमा जसरी पनि पुर्‍याउन पर्ने प्रतिवद्दता । लक्ष्य अनुसार प्रगति नभएकोमा पक्ष प्रतिपक्ष जस्तो विवाद र प्रतिवाद । ती शतप्रतिशत प्रगति हुँदा बच्चाको पठनपाठनमा खासै केही प्रभाव नभए पनि हुने । यी कुराले पनि मन समालिन सकेन।

सानो हुँदा पढेको संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क, एसियाली विकास बैङ्क जस्ता संस्थामा थोरे भए पनि नेपालकोसमेत लगानी भएको हुन्छ । ती संस्था नेपालका पनि हुन् । ती संस्था विश्व हितका लागि स्थापित भएका हुन् । देशको सीमा हुँदैन मानव हित सर्वोपरि रहन्छ । ती हितकारी संस्थाका कर्मीहरू कति दयालु र विवेकी होलान् भनी त्यता तर्फ विगतलाई स्मरण गर्दै घोत्लिन खोज्दछु । खास टुङ्गोमा पुग्न सक्दिन । हामी जस्तै भौतिक प्रगति र खर्च प्रतिशत बाहेक के सिकाइ भयो त भनेर आफैँमा अलमलिन्छु । यी कार्यसम्पादन करारमा आधारित सूचक, नतिजामा आधारित प्रगति, सूचकको परिपूर्णतामा आधारित शोधभर्नाका विशेषता हेरेर मन शान्त पार्छु भनेर कम्प्युटरमा गुगल चहार्छु । पहिला गुण अनि अवगुण हेर्छु भन्छु । के हुन्छ मलाई थाहा छैन अवगुणमा आँखा पुग्छ । यस्ता सूचक केन्द्रित विकासे कर्मले मानवीय पक्षलाई मुर्छित बनाउँछ रे ! मान्छे क्रमशः यान्त्रिक हुन्छ । विवेक गुमाउँदै जान्छ रे ! तीनै सूचकलाई सर्वोपरि ठानी एक अर्काको मूल्याङ्कन गर्छ । होच्याउँछ । शिखरमा पुर्याउछ । स्वावासी दिन्छ । गर्न नसकेकोमा सजायको भगि बनाइन्छ । बहादुरी, सुकर्म र कुकर्मको मूल्याङ्कनको विधा बन्छ । सकिन्छ । यता वाट पनि मन सम्हालिन सक्दैन । गुगलमा अरू थप विषयवस्तु तिर प्रवेश गर्न कत्ति पनि मन लाग्दैन ।

विगत केही समयदेखि अध्यात्मवाद र दर्शनको विद्यार्थी हुने आफ्नो प्रयास छ । हालसम्मका सिकाइलाई व्यवस्थित गरी आफूलाई सामान्यीकरण गर्न प्रयास गर्छु । धर्मको परिणाम र आधार खोज्न प्रयास गर्छु । धर्मात्माले के पायो । अधर्मीले के गुमायो । खासै केही भेट्दिन । ‘आजसम्म के जानिस् र के सिकिस् त मूर्ख’ भनी आफ्नै योग्यतामा असन्तुष्ट हुन्छु । यो धर्म भन्ने कुरा पनि कस्तो । न प्रमाण भेट्छु न तर्क भेट्छु । पूर्व जन्मको कमाइ र अर्को जन्मको लागि कर्म यस्ता कुराले मात्र मन शान्त हुँदैन । यो जुनीको कर्मले मात्र उपलब्धि (फल) को अपेक्षा गर्नु हुँदैन रे ! यही भित्रको सापो नापो मिल्दैन रे ! पूर्व जन्मको कमाइ, यो जन्मको कमाइ र अर्को जन्मको कमाइले मात्र पूर्णतामा हेर्न पर्छ रे !

होलाकी भनेर त्यतैतिर चिन्तन गर्न खोज्दछु । मन मटक्कै मान्दैन । कसले देख्यो ती कुरा । त्यसको प्रमाण के । तर्क गर्ने आधार के । मेरो अल्प बुद्धिले ठम्याउन सक्दैन । होला नि भनेर भौतिकवादी भनिने ठुला मानिस भैँसी पूजा गर्न गएको कुरा सम्झी त्यतातिर पनि गमिन खोज्दछु । सोच पुग्दैन । सन्तुष्टि मिल्दैन । मात्र शिक्षिका डा. जानुका नेपालले ‘धर्म’ शीर्षकमा लेखेको लेखको वाक्यांश ‘धर्म भनेको विश्वास हो’ भन्ने विषय नै मेरो यस तर्फको अन्तिम तरङ्ग हुन पुग्छ ।

१२ दिनकी सुत्केरी रगत चुहाउँदै पैदल यात्रा, १२ दिन हिँडेर कोहलपुर। यो १२ दिनले मलाई पिरोल्न छाडेन । बाल्यकाल तिरको आमाले भनेको १२ दिनको कुरा मलाई याद आयो । एक दिन मैले आमालाई सोधेको थिएँ । ‘आमा तपाइले हाम्रो हजुर आमाको त कुरा गर्नुहुन्छ । तर हजुरबा को त कुरा गर्नु हुन्न नि भनेर भन्दा वहाँले तिम्रो हजुर वा लाई त मैले पनि देखिन । मैले त के कुरा तिम्रो बुवाले पनि देखे जस्तो लाग्दैन भन्नु भयो । मैले थप जिज्ञासा राखेँ । वहाँले भन्दै गर्नु भयो ‘तिम्रो बुबा ३ वर्षको मात्र हुनु हुन्थ्यो रे ! तिम्रो हजुरबा काठमाण्डौंमा पुलिसमा जागिर खाएर पहिलो पटक १२ दिन हिँडेर घरमा आइपुग्दा आमा (हजुरबा कि आमा) घरमा देख्नु भएन छ । वहाँकी आमालाई माई आएर माथिल्लोवारि उत्तिपट्टिको गहिरोमा केही दिनको खान सहित उतै छाडि दिएका थियो रे ! त्यो जानकारी पाउना साथ आमालाई बोलाउँछु भनेर जानु भएछ । गएको केही बेरमा वहाँलाई पनि ज्वरो आएछ । अलिकति वर आएर त्यति वेलाका वहाँका बा नाता पर्ने (मैले नाममा अलमल भएँ च्याङ्ग्रा वा पुठे भनेजस्तो लाग्छ) लाई गाउँको कटुवालले झैँ फलाके र ‘ए फलाना मलाई पनि ज्वरोले समायो मेरो छोरोको रेखदेख गरिदिनु’ भनेर भन्नु भयो रे ! त्यसपछि वहाँ पनि फर्किनु भएन छ ।’

आमाले यी कुरा भनी रहँदा म डराउँदै सुनी रहेको थिएँ । घरी रुन भक्कान खोज्थे अनि सम्हालिन्थे । ‘त्यो माई भनेको के हो नि आमा भनेर मैल सोधेँ’ त्यो त बिफर भन्ने रोग पो रहेछ । मलाई आमाले त्यो कुरा भनेको समयताका बिफर उन्मुलनको अभियान थियो । घरघरमै भित्ताहरूमा बिफर उन्मुलन सम्बन्धी वाक्यहरू लेखिएका हुन्थे । मलाई मेरो हजुरबा र हजुरआमा देख्ने र व्यहोर्ने भाग्य मिलेन । आमाले पटक पटक हजुरआमाको प्रशंसा गरेको दाजुहरूलाई आफूले गाली गर्दा साह्रै चित्त दुखाउने गरेको काहानीहरु भन्नुहुन्थ्यो । सामान्यतया सासूका बारेमा बुहारीहरूले गुणगान गाउँदैनन् । तर आमाले सधैँ त्यसरी किन राम्रो कुरा मात्र भन्नुहुन्थ्यो । पहिला मलाई होस् आएन अहिले आमा हुनुहुन्न । थप जानकारी लिन सम्भव छैन ।

अहिले बिफर रोग छैन । बिफरको सुई बनेर उन्मुलन भयो । करोनाको पनि सुई बन्ला अनि सास्ती कम होला भनेर एक छिन आनन्दित त भएको थिएँ । त्यी सुत्केरी र तिनले जन्माएको बच्चाको हालत के होला । मन फेरि भरङ्ग हुन पुग्यो । सकारात्मक सन्देश केही छ कि भनेर फेरि कम्प्युटर खोलेर ताजा खबरहरू हेर्न खोज्दै थिएँ, ‘राज्य मात्र होइन विश्व नै सङ्कटको वेला यत्रो जम्बो सुकुम्वासी आयोग किन ?’ आँखा त्यही शीर्षकमा पुग्यो । यसलाई सकारात्मक बनाउन प्रतिक्रियाहरू पढ्दै थिएँ । शारदा त्रिताल जस्ता गमिला र कर्मशील व्यक्तिको प्रतिक्रियाले मन झन् खिन्न हुन पुग्यो । वहाँको प्रतिक्रिया थियो ‘सुकुम्वासीको नाममा फेरि पनि सार्वजनिक सम्पत्तिको विनाश हुने भयो ।’ विषयवस्तुको निचोड बुझ्न खोज्छु । सकारात्मक हुन्छु भन्दा भन्दै अभिव्यक्त भएका दर्जनौँ प्रतिक्रियाले ‘आयोग त जमिन नभएकाको लागि होइन । राजनीतिक लेनदेनको कुरा हो । भू माफियाले राजनीतिक दलहरूसँगको मिलेमतोमा खडा गरेका हुकुम बासीको विषयवस्तु रहेछ’ भन्ने मनमस्तिष्कमा प्रतिबिम्ब आयो ।

सरकारको मात्र गाली गरेका सामाग्रीहरू अनलाइनमा छरपस्ट छन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता, यो सरकार मजदुरको होइन, सहयोग गरेर घर पुर्‍याउन त कता कता हिँडेर जान लागेकालाई पनि बाधा आदि इत्यादि ।

सरकारलाई यति विघ्न गाली किन गरेको होला । मूल सरकार एउटा हुन्छ । हामी नागरिक धेरै हुन्छौँ । फेरि गाली पनि प्रदेश र स्थानीय सरकारलाई होइन ठुलै सरकारलाई मात्र किन होला । भरोसा धेरै भएकोले त्यसो गरेको होला । किन कि जोसँग आस हुन्छ उसैका बारेमा त असन्तुष्टि हुने हो भन्ने लाग्छ । फेरि सरकारका आफ्नै समस्या बाधा र व्यवधान हुन्छन् । सरकार चलाउने मानिस राजनीतिक प्राणी हुन् । उनको भनाइ र गराइ अदम्यता म देख्दिन । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्छौँ भन्छन् । नेपालको राष्ट्रिय बजेटको बिस प्रतिशत शिक्षामा लगानी गर्छौँ भन्छन् । भन्ने मात्र होइन चुनावी घोषणा-पत्रमा लेखेर सार्वजनिक नै गर्छन् । समाजबादउन्मुख राज्यको लागि यस्तो गर्ने भनी प्रस्तुत हुन्छन् ।

शिक्षा सुधार गर्न भनी सरकार आफै आयोग गठन गर्छ । तिम्रो समाजवाद उन्मुख राज्यको लागि, तिम्रै घोषणापत्रका आधारमा शिक्षामा यस्तो गर्न पर्छ भनी प्राज्ञ र प्राविधिकले दिएको प्रतिवेदन सार्वजनिक नभएर नै ढिसमिस हुन्छ । यसको जवाफ दिन कसैले पर्दैन । किन त्यो प्रतिवेदन गुमनाम भयो होला भनी गम्दा निजी विद्यालयका पहुँचवालाको बहादुरीले त्यसो भएको हुनु पर्छ भन्ने अनुमान भन्दा टाढा पुग्न अल्प बुद्धिले सक्दैन ।

सरकारी निकायमा रही माथिल्लो तहको परिवेश नियाल्न पाएको धेरै नै वर्ष भयो । अनुभवले र भोगाइले किन त्यति धेरै सरकारमा भर परेको होला भन्ने लाग्छ । सबैले यति विघ्न भरोसा र गाली किन गरेका होलान् भन्छु । उसका बाध्यता, विवशता र कार्यक्षेत्र साह्रै धेरै छन् एउटा सरकारले कति गर्न सक्छ र । केही मन्त्रीहरू त अहोरात्र खटेर काम गरेको पनि सुनिएको छ । तर ती अलपत्र परेका मानिसको सहाराको विकल्प अर्को ठम्याउन सकिँदैन । हामीसँग प्रदेश र स्थानीय सरकार पनि छ । उनीहरूले पनि सहयोग गर्छु भन्दा मेलोमेसो पाइरहेका छैनन् । सरकार एक कुरा भन्छ । अदालत अर्को कुरा भन्छ । तथापि स्थानीय सरकार र वडा सरकारको जनता सँगका निकट व्यवहारले अलिकति मन शान्त हुन्छ ।

बच्चा बोकेर हिँडेकी सुत्केरीले बिग्रेको मन र भत्केको दिनचर्या समाहलिन अझै सकेको छैन । तथापि सकारात्मक हुन खोज्दैछु । समहालिन खोज्दै छु । यो कोरोनाको विषय नितान्त नयाँ हुनाले सबै अलमलमा परेको हो भन्ने कुरामा विश्वस्त हुन पर्छ भन्ने कुरामा मन दह्रो बनाउनको विकल्प हामीसँग छैन । अछामकी मेनुका ढुङ्गाना तिम्रो सञ्चार माध्यममा आएको तिम्रो भाइका बारेमा लेखेको लेखले हामीलाई पनि दुःखी बनाएको छ । तर चिन्ता नगर तिम्रो भाइ घर नछोडेको भए पनि आधुनिक प्रविधिमा डिप्लोमा गर्दै गरेका हुन् । कलेजको छात्राबासमा बसेका छन् । उनी धेरै कुरामा अवश्य सक्षम छन् । कम्तीमा भाइसँग कुरा गर्न पाएकै छौ । बङ्गलादेशमा यो वेलामा खानाले मरिँदैन । पक्का छ । मलाई पनि कक्षा ८ मा पढ्दा देखि डेरा गरेर बसेर दाउरमा एक्लै पकाएर खाएको दिन सम्झने बनायौ, तिमीलाई धन्यवाद छ । त्यो भन्दा विकराल अवस्थामा धेरै मानिसहरू छन् । त्यस्ता कुरा गरेर भाइलाई शान्त पार्न पर्छ । पत्रकार जगत् भाइले पनि यस्तै लेख लेखेका छन् । हिजो मात्र रोल्पाका ८७ वर्षका बाको उनकी आमालाई धेरै वर्ष पहिला उनका बाबाले घिसार्दै लगेर खाल्टामा गाडेको अनुभव छ । पत्रिकामा छ । सीमापारिका मानिसका कथा । सुत्केरी आमा र बच्चाका दशा भन्दा तिमी भाग्यमानी छौ भनेर भाइलाई सम्झाउन पर्छ । बा-आमालाई पनि शान्ति दिलाउनु तिम्रो कर्तव्य हो ।

तिमीले मलाई अल्प बुद्धिमा दुई सकारात्मक कुरा तरङ्गित गरायौँ त्यसको लागि पनि धन्यवाद छ । पहिलो – मैले आमाबाट जे जति जान्न र सिक्न पर्थ्यो सिकिन । फेरि जीवनमा जे जति सिके त्यसको ९० प्रतिशत घरपरिवार र अनौपचारिक प्रक्रियाबाट नै सिकेको भन्ने कुरामा विश्वस्त छु । अहिलेको यो विषम परिस्थितिमा हाम्रा बालबालिकाले मैले जस्तो भूल नगर्ने अवसर पाएका छन् । परिवारमा बसेर विगतका कुरा गर्ने । हाम्रा संस्कार र संस्कृतिका कुरा गर्ने । अभ्यास गर्ने विदेशमा शक्तिशाली राष्ट्रमा झन् हुर्मत व्यहोर्न परेकाले अव विदेश जाने हाम्रो गन्तव्य होइन छ भनेर गम्ने । यही विकल्प खोज्ने । अन्तिम पर्दा ती देशले अर्काका देशको नागरिकको भिसा थप्दिन भन्दा रहेछन् । विदेश जाने कुरा राम्रो कि नराम्रो कुराकानी गर्ने । यी र यस्ता विषयहरू खोतल्ने ।

दोस्रो- मानिसलाई पहिलो आवश्यकता गाँस (खाना) नै हो । भोलि महामारी लम्बिएमा के हुन्छ कसैलाई थाहा छैन । गाउँ घरका जहाँ जहाँ जमिन छ । जे जति सकिन्छ खन्ने जोत्ने र जे उब्जिने सम्भावना छ लगाउन सुरु गर्ने । तीन महिनामा मेरै परिश्रमले उत्पादन गर्छु । तीन महिनासम्ममा बाच्न सकेमा त्यस पछि आफ्नै कमाइले बाँच्न सकिन्छ भनेर विश्सत हुने । यस अर्थमा हामी गाउँका मानिस सहरका भन्दा भाग्यमानी छौ । विकसित देशकालाई भन्दा हामीलाई अनकुल छ ।

म विश्वस्त छु । विदेशका सिमानामा रहेका, जहाज नउडेर समुद्रपार भएका, एक दिन हामी सबै नेपाली नेपाल मै हुने छौँ । त्यति वेला हामी संसारका सबैजसो मुलुकबाट आफ्नो मातृभूमिमा आएका हुनेछौँ । तर त्यति वेला झन् हामीलाई विघ्नै समस्या पर्नेछ । के खाने ? के लगाउने ? विदेशमा रोजगार गरेकाले के गर्ने आदि इत्यादि । विदेशको विकल्प ! पढ्न जानेका लागि विकल्प ! रोजगारको लागि जानेको विकल्प ! उतै रमाउन जानेका लागि विकल्प !। विकल्प हुन्छ । मानवमा जति पनि विकल्प हुन्छन् । हिम्मत हार्न हुँदैन । कामना गरौँ हामी सबै आफ्नो मातृभूमिमा जम्मा हुनेछौँ । यही बाँच्न र रमाउन सक्ने छौँ । अव हाम्रो जीवन दर्शन बदल्न पर्छ । अरू संवृद्ध र धनी भए भनेर त्यतै लाग्न जरुरी रहेन छ । विश्वका संवृद्ध र धनी राष्ट्रको हालत पनि झन् डरलाग्दो भयो । हामी समृद्ध र धनी हुने सपना भन्दा सुखी हुने र सरल जीवन शैलीमा बाच्ने बुद्धिको विकास गरौँ । मृत्यु र बिमारीलाई पनि स्वाभाविक प्रकृतिको नियमका रूपमा ग्रहण गर्न सिकौँ ।

अव केही महिनापछि हामीसँग संसारभरका मानिस गरेको प्रगति देखेको र भोगेको जानकारी हुनेछ । ज्ञान, सीप, केही पुँजी र प्रविधिको जानकारी सहित मातृभूमिमा रहेका हुनेछौँ । यो सकसलाई अवसरमा बदल्न सक्नुपर्छ । सकिन्छ, मेरो पनि बिग्रेको मन र भत्केको दिनचर्यामा सुधार ल्याउनको विकल्प छैन । अर्को पटक विकल्हरुको बारेमा सामग्री लिएर प्रस्तुत हुनेछु । आजलाई बिदा ।

डा. काफ्ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विकास सहायता समन्वय शाखाका प्रमुख हुन्

Tags :
प्रतिक्रिया दिनुहोस