कोभिड – १९ को जोखिम कम गर्न के गर्नुपर्ला ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिड – १९ को जोखिम कम गर्न के गर्नुपर्ला ?


२३ बैशाख २०७७, मंगलबार


विश्व स्वास्थ्य सङ्गठनले महामारीको रूपमा घोषणा गरी सकेको नोभेल कोरोना भाइरसबाट सर्ने रोग (कोभिड-१९) हाल विश्वको लागि नै चुनौतीका रूपमा खडा भएको एउटा रोग हो । यो रोग सङ्क्रमित व्यक्तिको श्वास प्रश्वास बाट निस्कने पानीका कणहरू, सङ्क्रमित व्यक्तिले छोएको वा प्रयोग गरेको विभिन्न चिज बस्तुको प्रयोगले सजिलै सर्न सक्ने एक सरुवा रोग हो । कोभिड -१९ विरुद्ध हालसम्म कुनैपनी खोप वा औषधी पत्ता नलागेको र यसको सङ्क्रमण विश्वव्यापी रूपमा फैलिँदै गइरहेको अवस्थामा यस रोगको रोकथाम पूर्णरुपमा गर्नु असम्भव प्राय देखिन्छ । तथापि यो रोगको उत्पत्ति नेपालमा नभएको र हाल नेपालमा देखिएका सङ्क्रमितहरूको तथ्याङ्क हेर्दा यो रोग एक आयातित रोगका रूपमा रहेको हुनाले हाललाई यो रोगलाई थप फैलन नदिन सबै तह र तप्काबाट विश्व स्वास्थ्य सङ्गठनले बताएको निरोधात्मक उपायहरू अपनाउनु नै यो रोगबाट बच्न सकिने एक मात्र विकल्पको रूपमा देखिएको छ ।

कोभिड – १९ को सङ्क्रमणबाट बच्न र यसलाई फैलिन नदिन नेपाल सरकारले वर्तमान अवस्थामा लकडाउनको नीति अवलम्बन गरेको देखिन्छ । लकडाउन भनेको आम सर्वसाधारण जनताले अत्यावश्यक काम विना बाहिर ननिस्की आफूलाई आफ्नो घर भित्रको दायरा भित्र सीमित गरी सार्वजनिक स्थलमा हुनसक्ने भिडभाडको कटौती गरी रोग सर्न सक्ने सम्भावित जोखिमको न्यूनीकरण गर्नु नै हो । वर्तमान परिवेशमा हेर्दा स्वास्थ्य सेवाको क्षेत्रमा उत्कृष्ट साबित भएका अमेरिका, इटाली, बेलायत, स्पेन जस्ता विकसित मुलुकहरूलाई यो रोगको रोकथाम गर्न फलामको च्यूरा चपाए जस्तो कठिन अवस्था रहेको छ । एक सङ्क्रमित व्यक्तिबाट अर्को सङ्क्रमित व्यक्तिमा सजिलै सर्न सक्ने यो रोगले हाल विश्वको अर्थतन्त्रमा ठुलो हलचल ल्याइदिएको छ । यसैक्रममा नेपालजस्तो विकासोन्मुख मुलुकमा समेत यो रोग देखा पर्नु र यसको रोकथाम एवं नियन्त्रणको लागि सरकारले अङ्गीकार गरेको लकडाउनको नीतिले गर्दा काम गर्ने जनशक्ति घरमै बस्नुपरेको हुँदा कल, कारखाना, उद्योग, निर्माण जस्ता अन्य विभिन्न क्षेत्रमा ठुलो धक्का पुगेको छ । तसर्थ नेपाल जस्तो न्यून साधन श्रोत भएको देशमा यो रोगलाई समयमा नै नियन्त्रण गर्न हाल देशभित्र रहेका सङ्क्रमितहरूको पहिचान गरी उनीहरूलाई स्वास्थ्य जनसङ्ख्याबाट अलग्गै राखी आवश्यक उपचार गर्ने र स्वस्थ्य सर्वसाधारणलाई सङ्क्रमित हुनबाट बचाउने तर्फ स्थानीय तह, प्रदेश र सङ्घले एक आपसमा प्रभावकारी रूपमा सहकार्य गरी अगाडी बढ्नुपर्ने समय आएको छ

अहिलेको अवस्थामा सङ्क्रमणलाई थप फैलिन नदिनु नै हाम्रो प्रमुख उद्देश्य हो । यसको लागि सङ्क्रमित भई वा सङ्क्रमणको सम्भावना बोकी हालैको समयमा विदेशबाट नेपाल प्रवेश गरेका नेपाली वा गैर नेपाली नागरिक र त्यस्ता व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई साधन श्रोत सहितको दक्ष स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा क्वारेन्टाइनमा राखी आवश्यक उपचार गर्ने गराउने तर्फ नेपाल सरकारले गम्भीर रूपमा कदम चाल्नुपर्ने समय आएको छ । अहिलेको अवस्थामा यस विषयलाई समाजले समेत राम्ररी बुझ्न नसकेकोले सामाजिक रूपमा बहिष्कृत एवं तिरस्कृत हुने डरले समेत सम्भावित सङ्क्रमितले पहिचान लुकाएर बस्नुपरेको हुनसक्ने हुँदा नेपाल सरकारबाट यस विषयमा पर्याप्त सूचनाको सम्प्रेषण र सङ्क्रमित प्रति हुने व्यवहारको सम्बन्धमा स्पष्ट दृष्टिकोण सार्वजनिक हुन जरुरी छ । यस विषयमा राज्यले सम्भावित सङ्क्रमितलाई सान्त्वना दिई त्यस्ता सङ्क्रमितको रेखदेख तथा उपचारको ग्यारेन्टी लिने सम्बन्धमा आम जनसमुदायलाई विश्वस्त बनाउन ठोस कदम चाली त्यसरी सङ्क्रमित भएको भनी शङ्काको घेरामा परेका जोसुकैलाई सहज रूपले स्वतफुर्त रूपमा सार्वजनिक भई सरकारलाई सहयोग गर्ने वातावरण सिर्जना गर्नेतर्फ जोड दिनुपर्ने अवस्था आएको छ ।

स्थानीय तह र वडा स्तरमा रहेका कार्यालयहरू प्रत्यक्ष रूपमा स्थानीयको सम्पर्कमा हुने भएकोले अहिलेको अवस्थामा सम्भावित सङ्क्रमितको पहिचान गर्ने, सो को लगत सङ्कलन गरी व्यवस्थापनको उपायहरू कार्यान्वयन गर्ने साथै यस रोगबाट बच्ने तथा नियन्त्रण गर्ने उपायहरूका सम्बन्धमा स्थानीय स्तरमा पहुँच हुने गरी चेतनामूलक सूचना सम्प्रेषण गर्ने विषयमा स्थानीय तह र त्यहाँ रहेका वडा स्तरका कार्यालयहरूको प्रभावकारी परिचालन महत्त्वपूर्ण रहेको छ । यस विषयमा स्थानीय तह र त्यहाँ रहेका वडा स्तरका कार्यालयहरू सँग सहकार्य गरी सङ्क्रमितहरूको पहिचान गर्न र सम्भावित सङ्क्रमितहरूलाई स्वतफुर्त रूपमा अगाडी आउने वातावरण बनाइ थप सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने तर्फ सहयोग गर्न सहज हुने अवस्था छ । यसरी काम गर्दा स्थानीय जनसमुदायबाट प्राप्त हुने सूचना र सहयोगले रोग नियन्त्रणमा ठुलो टेवा पुग्नेछ । यस्तो अवस्थामा लकडाउन सँगसँगै सङ्क्रमितको पहिचान गर्नको लागि प्रत्येक वडालाई गाउँ-गाउँ वा टोल-टोलमा छुट्ट्याई प्रत्येक गाउँ वा टोलमा रहेका घर घरमा स्वास्थ्य कर्मी सहितको टोली खटाई परिवारका प्रत्येक सदस्यको नाम, उमेर, पेसा, रोजगार वा अन्य सिलसिलामा कतै गएको भए सो स्थान/देशको नाम, स्वास्थ्य स्थिति, लगायत अन्य आवश्यक विवरण सहितको लगत सङ्कलन गरी सम्भावित रोग सङ्क्रमणको सम्भावनालाई आधार बनाई उक्त घरमा सङ्क्रमित हुने सम्भावना अत्यधिक भएमा रातो रङ्ग, सङ्क्रमित हुने सम्भावना मध्यम भएमा पहेँलो रङ्ग र सङ्क्रमित हुने सम्भावना न्यून रहेमा हरियो रङ्ग सबैले देख्ने गरी घरको कुनै भागमा लगाई सोही अनुसार घरमै आइसोलेसनमा बस्नुपर्ने वा कुनै तोकिएको स्थानमा क्वारेन्टाइनमा बस्नुपर्ने वा अस्पताल भर्ना हुनुपर्ने भएमा सोही अनुसार गर्ने व्यवस्था मिलाउँदा सङ्क्रमणलाई थप फैलिनदिनबाट रोक्न सकिने साथै रोगको सङ्क्रमण फैलिन सक्ने सम्भावना भएका क्षेत्रलाई विशेष निगरानीमा राखी रोग नियन्त्रणमा सहयोग पुर्‍याउन सकिन्छ ।

कोभिड – १९ रोगको उपचार गर्न हाल सम्म कुनै विशेष खोपको आविष्कार भई नसकेको र उक्त रोगबाट समस्त विश्व आक्रान्त भइरहेको अवस्थामा हामीले यस रोगबाट बच्न विश्व स्वास्थ्य सङ्गठनले सुझाएका रोकथामका उपाय अपनाउनुको विकल्प छैन । हाललाई यस रोग माथिको विजय भनेको सङ्क्रमितको सङ्ख्या घटाइ सम्भावित जोखिमलाई फैलन नदिनु नै हो । यसका लागि समस्या पहिचान गर्न घर-घरसम्म राज्यको पहुँच हुनु जरुरी छ । यस विषयमा अनावश्यक भयबाट मुक्त गराइ सर्वसाधारणलाई स्वतफुर्त रूपमा इमानदारीपूर्वक अगाडी आइ सम्भावित जोखिमबारे सूचना दिने र त्यसरी प्राप्त भएको सूचनाको आधारमा सम्भावित सङ्क्रमित वा सङ्क्रमण देखा परेका नागरिकलाई सहज वातावरणमा स्वास्थ्य सेवा उपलब्ध गराउने तर्फ विशेष जोड दिनुपर्ने अवस्था छ । साथै यस विपतको घडीमा विदेशबाट आउनुहुने नेपाली नागरिक एवं आफूलाई सङ्क्रमण भएको शङ्का लाग्ने जो कोहीले स्वतफुर्त रूपमा अगाडी आएर सङ्क्रमणलाई थप फैलिन नदिन सरकारलाई सहयोग गरी सच्चा नागरिकको पहिचान दिनुपर्ने देखिन्छ, अन्यथा यो रोगको सङ्क्रमणलाई रोक्न सरकार असफल हुने र राज्यले ठुलो क्षति व्यहोर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न ।

Tags :
प्रतिक्रिया दिनुहोस