काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस कोभिड १९ को खोप सन् २०२० को अन्तिमसम्ममा तयार हुने बताएका छन् । उनले टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तर्वार्तामा यस वर्षको अन्तिममा यो खोप आउने बताएका हुन्।
राष्ट्रपति ट्रम्पले संक्रमणको हुने जोखिम भए पनि विद्यालय खोल्नु पर्ने बताए ।
ट्रम्पले कोरोना भाइरसको कारण अमेरिकाको अवस्था कमजोर भएमा विपक्षीलाई राजनीतिक हिसाबमा फाइदा पुग्ने आरोप लगाएका छन् ।
यसअघि उनले सुझाउँदै आएको कोरोना भाइरसको औषधि हाइड्रोक्सिक्लोरोक्विनको विषयमा भने यो औषधि निर्माण गर्ने कम्पनीसँग आफ्नो कम्पनीको शेयर नरहेको बताए । उनले यो औषधि प्रयोगमा कुनै नोक्सानी नरहेको र यसको प्रयोगले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा पनि कमी आएको दाबी गरेका छन् ।
कोरोना भाइरस नियन्त्रणको लागि समयमा नै सही कदम नउठाएको आरोप खेपिरहेका ट्रम्पले आफ्नो गुप्तचरले सही सूचना नदिएको कारण समयमा नै प्रभावकारी कदम चाल्न नसकिएको बताए । बीबीसी