वीरगञ्ज । आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । र्यापिड डायग्नोस्टिक टेस्ट रिपोर्ट पोजेटिभ देखिएकी वीरगञ्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोटस्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाइएको छ भने उनको शव नारायणी अस्पतालमा राखिएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन पाध्यायका अनुसार उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेकैबला मृत्यु भएको हो । उनी ब्लड क्यान्सरकी बिरामी पनि भएको उनले बताएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पताल लगिएको पारिवारिक स्रोतले बताएको छ । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।
लकडाउन अवधिमा घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको र प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवाकि स्रोतले जनाएको छ ।
शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्यापिड टेस्ट गरेको थियो । एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएपछि त्यहीँ अस्पतालमा शनिबार मृत्यु भएको बताइएको छ ।
उनको परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरेको छ ।