अनि महाशयलाई त मर्निङवाक गर्नैपर्छ ! « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अनि महाशयलाई त मर्निङवाक गर्नैपर्छ !


४ बैशाख २०७७, बिहिबार


ओ नो कति वर्षपछि सहरको मौसम सफा भएको छ,
बिहान बेलुकी ज्यान तन्काएर भुँडी मेन्टेन गरेको मान्छे,
प्रदूषित सहर हुँदा त सुकिलो मुकिलो भई हिँडेको मान्छे,
वहाँलाई रोक्ने कसको हिम्मत ? बिहानै बाहिर निस्कनै पर्छ
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

वहाँ त यही ठाउँमा जन्मे हुर्केको रैथाने हुनुहुन्छ,
वाउको सम्पत्तिमा मोज मस्ती गर्दै हुर्केको मान्छे,
यतातिरको निर्णयकर्ता, धेरैको लागि भीआइपी मान्छे,
वेला वेलामा नानाथरी सुझाव ओकल्दै जानुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

कोभिड-१९ लाई मात खुवाउन सक्ने इम्युनिटी पावर जो छ,
बेलुकीपख दुई प्याक लाइराको खानदानी मान्छे,
वर्ष दिनलाई पुग्ने खाद्यान्न स्टोरेज गरिराको मान्छे,
चौरासी व्यञ्जन पकाउँदै भोग गरिराख्नुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

वहाँको आफन्त र नातेदार विश्वमा छरिएका छन्,
ठुला कुरा नगर्नुस् न भन्छन्, वहाँ त दामी मान्छे,
आर्थिक र सामाजिक परिवर्तनका कुरा गर्ने मान्छे,
वहाँलाई सोसियल मिडियामा अपडेट भइराख्नु पर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

जुनै सरकार आए पनि सत्ताको स्वाद लिई राख्नुहुन्छ,
सके आफै नसके आफ्नालाई चान्स दिने मान्छे,
राहत सुविधा अरूलाई होइन आफैलाई पुर्‍याउने मान्छे
निमुखा, मजदुर र कमजोरको सूचना लुकाउनुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

सोसियल डिस्टयान्सिङ्ग र आइसोलेशन अरूले मानी दिनुपर्छ,
किनमेलको मेसो मिलाएर चोकसम्म चहार्ने मान्छे,
रित्तो सडकमा ढल्किएर हिँड्नुपर्ने मान्छे,
उनलाई एन नाइन्टी फाइभ मास्कको फुर्ती पनि देखाउनुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

वहाँको डगीको पनि बिहानै मलमुत्र विसर्जन गराउनुपर्छ,
फोहोर देखे भने प्याच्च थुक्दै हिड्ने मान्छे,
सरसफाइको तस्बिर पोस्ट गरी रहने मान्छे,
वहाँ निस्किदा काम विशेष नै हो, स्वीकार गर्नुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ ।

कोभिड-१९ लाग्दै नलाग्ने कन्फिडेन्ट पाल्नु भा’कोे,
डाक्टर र नेतासम्म पहुँच भएको मान्छे,
थुप्रै चोरवाटाकोे पनि भेउ पाएको मान्छे,
ब्लड प्रेसर र सुगर घटेको नाटक गर्नुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ।

लकडाउन त क्षणिक हो, धेरैको लकडाउन गरीदिनु भा’छ,
अरूले हात जोडेर मानी दिनुपर्ने मान्छे,
समाजमा सबैको नजर परेको मान्छे,
प्रहरीलाईसमेत झुक्क्याएर दैनिकी भ्याउनु पर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ।

समाजसेवी, विज्ञ, अभियानकर्मीको रूपमा चिनाउनुहुन्छ,
पढाई र कमाई हाइलेभलकोे भनेर ट्याग लागेको मान्छे,
प्रवचन, भाषण र लेखनबाट अर्ती उपदेश वाडिँराको मान्छे,
बेलाबेलामा चिनजानका मिडियामा आइराख्नुपर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ।

योजनाबद्ध आफ्नो फाइदाको काइदा खोज्दै हुनुहुन्छ,
अरूको बाल मतलब आफ्नो गुणगान चाहने मान्छे,
लकडाउन सकियोस् न फेरी शान दिन तयार मान्छे,
दुई चारवटा फोरम खोजेर वहाँलाई अनुभव शेयर गर्नु पर्छ,
अनि महाशयलाई त मर्निङवाक गर्नै पर्छ।

Tags :
प्रतिक्रिया दिनुहोस