अचेल ऊ बिहान सबेरै उठेर जान्छ I साँझ झमक्क रात परेपछि मात्र घर आउँछ र रक्सी खान थाल्छ I उसले रक्सी खान थालेको दुई हप्ता मात्र भयो I कतै नगएको दिन दिनभरि रक्सी खान्छ I भोको पेटमा निख्लै खानु हुँदैन, केही सितन चाहिन्छ भन्ने कुरा उसलाई थाहा छैन I रक्सी खाने भनेको रक्सी नै खाने हो भन्ने मात्र थाहा छ उसलाई I उसले जहिलेदेखि रक्सी खान थाल्यो, त्यसै दिनदेखि घरमा कसैसँग बोलेको छैन I कोही बोल्न आए गायब हुने धम्की दिएको हुँदा घरका कोही पनि ऊसँग बोलेका छैनन् I ऊ हो अनुराग गुप्ता I मिस्टर अनुरागनन्दन गुप्ता I
राति बाह्र बजे नशा उत्रेपछि ऊ जाग्यो I बत्ती बलिरहेको थियो I पत्नी सुलभा अझै निदाएकी छैनन् I उनले अनुरागलाई एकोहोरो हेरिरहिन् I उनले भनिन् ‘’ के भएको हो हजुरलाई ? के त्यस्तो कारण छ आफ्नी जीवनसाथीबाट पनि लुकाउनु पर्ने ?” अनुराग उठेर बस्यो I एकै सासमा एक गिलास पानी खायो र भित्तातिर हेर्न थाल्यो I सुलभाले उसको हात समातेर चुमिन्, उसको कपाल मुसारिन् र तल खस्केको ओढ्ने माथि काँधसम्म तानिदिइन् I अनुराग उनलाई हेरेर मुसुक्क हाँस्यो I किन्तु त्यो हँसाइ हँसिलो थिएन, रुन्चे हाँसो थियो I सुलभाले भनिन् “हजुरको चुप लागेर बस्नु भन्ने आदेश मेरो मुखलाई मौन राख्न त सफल होला, तर मेरो मन र हृदयलाई शान्त राख्न सक्दैन I जेसुकै कारणले दुःखी भए तापनि मौन समस्याको समाधान होइन I आफ्नी जीवन सङ्गिनीलाई समेत बताउन नहुने के कुरा हो त्यो ? हजुरको अवस्था देखेर छोरीहरूको कस्तो हालत भएको छ, विचार गर्नु भएको छ ? आज शुक्रवार हो, सोमबार विराटनगरबाट रुनालाई हेर्न आउँदैछन् I”
अनुरागका बाबु भिखारी गुप्ताको नेपालगन्जमा मिठाई पसल थियो I अनुराग भिखारीको कान्छो सन्तान हो I लगातार तीन जना छोरीपछि अनुरागको जन्म भयो I ऊ जन्मने बेलामा आमा साह्रै कमजोर भएकी थिइन् I अनुराग मावली सहर बहराइचमा जन्मेको थियो I डाक्टरहरूले बडो मुस्किलले आमा छोरालाई बचाएका थिए I तर छोरो जन्मनु र साह्रै मुस्किलले आमाछोरी दुवै बाँच्नुमा डाक्टरको नभई ‘नुक्कड़ बाबा’ को कृपाको महत्त्व बढी भएको विश्वास थियो भिखारीलाई I भिखारी बाबाको अखडामा गएर क्वाँ क्वाँ रुँदै बाबालाई धन्यवाद दिएका थिए I बाबाले भनेका थिए ‘’पुत्रके प्रति तेरा अपूर्व अनुराग देखके मै खुस हुआ ! इसको अनुराग नामसे पुकारना I”
अनुरागलाई डेढ वर्ष दूध ख्वाएपछि उसको मुखबाट ‘अम्मा’ भन्ने शब्द निस्केको दिन नै आमाले यस नश्वर संसारबाट सदाका लागि बिदा लिइन् I शैशव कालमै आमा गुमाए पनि अनुरागले दुःख पाउनु परेन I दिदीहरूले उसलाई बडो जतनले हुर्काए I अनुरागलाई आमाको सम्झना छैन I तर बाबु भिखारी गुप्ताले रातदिन दुःख गरेको देखेको छ उसले I
‘‘म नजन्मनु पर्थ्यो सुलभा ! या म जन्मनासाथ मर्नुपर्थ्यो , या पापाले मलाई पढाउनु हुन्नथ्यो I म पनि मिठाई बेचेरै बस्ने थिएँ I आफ्नो व्यवसाय गरेर बस्नुमा जुन प्रतिष्ठा छ, त्यो यो परतन्त्र जीवनमा कहाँ ?
पापा तीस वर्षको हुँदा मेरी आमा मर्नुभयो I पापामाथि ठुलो बज्रपात भयो I एकातर्फ चार जना ससाना छोराछोरी हुर्काउनु थियो भने अर्कातर्फ हमेसा दुकानमा नबसे हातमुख जोड्ने उपाय थिएन I मेरो पापाको नाम भिखारी थियो , तर उहाँले कहिल्यै कसैको अगाडि हात फैलाउनु भएन I उहाँलाई न खानको सोख न लाउनको I एउटा गन्जी , लामो घुँडासम्म आउने कट्टु र पसिना पुछ्ने सानो गम्छाको भरमा उहाँ पचास वर्षसम्म मिठाई पसलमा बस्नुभयो I उहाँलाई विवाहको प्रस्ताव पनि नआएको होइन, तर स्वीकार गर्नु भएन I सबै दिदीहरूको सात आठ कक्षामा पढ्दापढ्दै सानै उमेरमा विवाह भयो I सबै गुप्ता परिवारमा जस्तो चलन चलेको थियो, पापाले पनि त्यही गर्नुभयो I”
भोलिपल्ट शनिवारको दिन I अनुरागले हातमुख पनि नधोई सिसी निकाल्यो I उसले गिलासमा रक्सी खन्याउँदै थियो , कसैले च्याप्प उसको पाखुरो समात्यो I उसले टाउको उठाएर हेर्यो, उसको हात जेठी छोरी रुनाले समाइरहेकी थिई I अनुरागले अविचल छोरीतर्फ हेरिरह्यो हरिरह्यो I अनुरागको आँसुले रुनाको हात भिज्यो, तर दुबै जना एक अर्कोलाई हेरिरहे I कोही पनि बोलेन I बिस्तारै हात हटाएर रुनाले भनेकी थिई ‘पापा आज हामी पशुपति जानुपर्छ I’
अनुराग यन्त्रवत उठ्यो I आज सत्र दिनपछि नुहायो I नौ दिनपछि दाह्री काट्यो I बाबुछोरी पशुपति गए I पशुपतिमा दर्शनार्थीको ठुलो लाइन थियो I करिब डेढ घण्टा लाइनमा बसेपछि उनीहरू भोलेनाथको प्रांगणमा पुगे I अगाडि उभिएका ठुलो सेठजस्तो देखिने व्यक्तिले दुवै हात जोडेर पाठ गर्दै थिए –
मुरजडिण्डिमवाद्यविलक्षणं मधुरपञ्चमनादविशारदम्
प्रमथभूतगणैरपि सेवितं भजत रे मनुजा गिरिजापतिम्
शरणदं सुखदं शरणान्वितं शिव शिवेति शिवेति नतं नृणाम्
अभयदं करुणावरुणालयं भजत रे मनुजा गिरिजापतिम्
नरशिरोरचितं मणिकुण्डलं भुजगहारमुदं वृषभध्वजम्
चितिरजोधवलीकृतविग्रहं भजत रे मनुजा गिरिजा पतिम्
तर अनुरागमा त्यो भजनप्रति कुनै अनुराग भएन I ऊ सम्पूर्ण रूपमा शून्यमा रहिरह्यो I उसमा कुनै चेतना थिएन I यन्त्रवत थियो ऊ I ठुलो साँढेको नजिकै पुगेपछि रुनाले ‘पापा’ भन्दै घचघच्याइ I बल्ल अनुराग जाग्यो I यताउता हेरर भन्यो ‘हँ’ I रुनाले भनी ‘ पापा ! भगवान् पशुपतिनाथको प्राङ्गणमा हुनुहुन्छ I भन्नुस् सत्य कुरा के हो ? ’ अनुरागले भनेको थियो – ‘’छोरी म भोले बाबाको अगाडि उभिएको छु I कुरा लामो छ I सबै कुरा घर गएर मेरी धर्मपत्नी र तीनै जना छोरीलाई अगाडि राखेर भन्छु I”
भिखारी गुप्ताले कहिल्यै सुख गरेनन्, सोख गरेनन् I नेपालगन्जको असह्य गर्मी ऋतुको समयमा जब सारा नेपालगन्ज सहर बिहानीपखको शीतलको आनन्द लिँदै मीठो निद्रामा लीन हुन्थ्यो, यी भिखारी तीनै बजे उठेर दूध घोट्न थाल्दथे I सबेरै बागेश्वरीको दर्शन गर्न जाने भक्तजनहरूका लागि जलेबी र लड्डु तयार गर्दथे उनी I उनका बचपनका दोस्तहरु भन्ने गर्थे ‘क्या हो भिखारी ! कहिलेकाहीँ त बागेश्वरी माताको लागि समय निकाल I कहिलेकाहीँ त शीतल हावा खान निस्क I कहिलेकाहीँ त त्रिभुवन चौकको साँझको रमाइलोको लुत्फ उठाऊ I’ उनी सरल र निर्दोष जवाफ दिन्थे ‘’म बागेश्वरीको दर्शन गर्न जाऊ त उनको लागि प्रसाद कसले बनाउँछ ? यदि म दोस्तहरुसंग रंगरेलियाँ मनाउन जाऊँ त मेरा बालबच्चा को पल्छ ? मलाई मेरै भाग्य भोग्न देऊ, म यसैमा खुसी छु I’
भिखारी जीवनमा धेरै थाके, किन्तु कहिल्यै आफूलाई थकित देखाएनन् I उनी कहिल्यै हाँसेनन्, तर आफ्नो दुःख कसैको अगाडि प्रकट पनि गरेनन् I पसलमा मिठाई खान आउने दौँतरीलाई उनी भन्ने गर्दथे ‘’देखो भैया ! यी जो भगवतीको दर्शन गर्न जान्छन् नि, सबका सब आफ्नो दुखडा सुनाउन र माग्न जान्छन् I सबलाई आफ्नै दुःख ठुलो छ I सबैलाई आफ्नै धन थोरै छ I सबैलाई देवीले दिनु छ I एक गोटा लड़डुसङ्ग एक लाख साट्न मन्दिर जान्छ मान्छे I ल भन त भला, यदि दश रुपैयाँ दिएर पाँच रुपैयाँ फिर्ता मिल्ने भए को जान्थ्यो मन्दिर ? को चढाउँथ्यो रुपियाँ ? मलाई देवीको ढोकामा आफ्नो दुखडा सुनाउनु छैन I केही माग्नु पनि छैन I म जहाँ छु ठिक छु I देवी मेरो हृदयमा बस्छिन् I कहिलेकाहीँ सपनामा आएर भन्छिन् ‘ भिखारी तू ही सही भक्त है I’
थापाथली पुल पारीको कान देवताको थानलाई बायाँ पारेर पश्चिमतिर छ सात मिनेट पैदल हिँडेपछि ठ्याक्कै अनुरागको घरमा पुगिन्छ I पन्ध्र सोह्र वर्ष अघिको कुरा हो I ऊ एक हप्ताको बिदा लिएर नेपालगन्ज गएको थियो I घरमा बाबु भिखारी र जेठी दिदीतर्फको लठेब्रो भान्जो मात्र थिए I अनुराग बिहानै उठ्यो I बाबुलाई खोज्यो, तर उनी पसल गइसकेछन् I अनुराग दुकानामा गयो I भिखारी जलेबी पकाउँदै थिए I अनुरागले भनेको थियो ‘’पापा अब त आराम गर्नुहोस् ! सत्तरी वर्षको हुन लागिसक्नुभयो I अब यो दुकान बन्द गर्नुहोस्, या कसैलाई जिम्मा लगाउनुहोस् I अब तपाईँ म जहाँ पुग्छु त्यहीँ जानु पर्छ I नातिनीहरू पनि बाबुजीको बुलाओ भन्छन् I” भिखारीले अनुरागलाई अश्रुपूर्ण नजरले हेरिरहे I उनले भनेका थिए , ‘‘धन्यवाद छ छोरा I आजको जमानामा कति यस्ता बाबु पनि छन् , जो जवान छोराको बोली सुन्न तरस खान्छन् I देख् छोरा ! यो मेरो ठाउँ हो , यहाँ मेरो चार सय लिटर पसिना चुहिसकेको छ I यही माटोमा मैले कमसेकम बीस लिटर आँसु बगाएको छु I यही जमिनमा बसेर मेरो बाबुले पसिना बगाए , मलाई हुर्काए I यही माटोमा मेरा बा आमा मरे I तेरी आमाले यही माटोमा अन्तिम सास फेर्नु अघि भनेकी थिइन् , ‘मेरा बच्चाहरूको वास्ता गर्नु I’ म यो धर्ती छाडेर कहीँ जाने वाला छैन I“ गम्छाले पसिना पुछ्दै उनले भनेका थिए , ‘’तर जमाना पहिले जस्तो छैन I आजको मानिसमा पहिलेजस्तो प्रेम छैन I अब मधेसमा ठुलो उथलपुथल हुन्छ I”
पशुपतिको दर्शन गरेपछि अनुराग र रुना बाहिर निस्के I अनुरागले भनेका थियो , ‘छोरी आज ट्याक्सीमा जानुपर्छ I’ रुनाले बाबुलाई एकोहोरो हेरिरही I उसले भनेकी थिई , ‘’आज शनिवार हो पापा , बसमा धेरै भीड हुँदैन I हजुर थाक्नुभयो जस्तो छ, हुन्छ ट्याक्सीमै जाऊँ I” उनीहरू ट्याक्सीमा बसेपछि अनुरागले भनेको थियो, ‘‘आज जीवनमा तेस्रोपल्ट ट्याक्सी चढियो I” रुनाले भनी ,’म दोस्रो पल्ट I’ ट्याक्सी ड्राइभरले ऐनाबाट उनीहरूलाई हेर्यो I ड्राइभरले भनेको थियो , ‘‘तपाईँ धेरै बाठो मान्छे हो दाइ I सबै जना तपाईँजस्तै बाठा निस्के भने हामी ट्याक्सी चलाएर खानेको हालत के होला ?” अनुरागले भनेको थियो ,’’बाठो होइन गुरु ! विवशता हो I”
अनुराग सरकारी अड्डाको ओभरसियर हो I बाबु भिखारीको सधैँ एउटै लक्ष्य थियो, छोरालाई सरकारी कारिन्दा बनाउने I सरकारी अड्डामा ठूलाठूला हाकिम हुन्छन् भन्नेसम्म त उनले सुनेकै थिए , तर आफ्नो छोरो हाकिम हुन मिल्छ भन्ने कुरा उनलाई थाहा थिएन I राणा शासन समेत देखेका उनको सोचाइ थियो , ठुलो हाकिम हुन त ठुलै बाबुको छोरो भएर जन्म लिनु पर्छ I नागरिकता बनाउन एकपल्ट सिडिओ कार्यालय पुगेका उनी खरिदार बिन्तीराम बर्माको झम्टाइबाट पूर्ण रूपमा तर्सेका थिए I उनले त्यसै दिन मनमनै दुई प्रतिज्ञा गरेका थिए ,एउटा थियो ‘अबदेखि बरु भोकै बस्छु , तर बिन्तीराम जस्ता हरामीको गाली खान सरकारी अड्डाभित्र पस्ने छैन’ र अर्को ‘मेरो छोरो अनुरागलाई पनि बिन्तीराम जस्तै सरकारी नौकर बनाउने छु I तर मेरो छोराले जनतालाई हेप्ने र हकार्ने छैन I’
अनुरागले सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गर्यो I उसले खरिदार बिन्तीराम सरहको प्राविधिक पदमा जागिर पनि पायो I किन्तु आफ्नो योग्यता अनुरूपको पदमा पुग्न उसले थप बीस वर्ष कुर्नु पर्यो I उसलाई आफ्नो ‘जागिर’ प्रति न त ठुलो गौरव भयो न त कुनै पछुतो नै I कम बोल्ने र आफ्नो अनुशासनमा बस्ने अनुरागका साह्रै आत्मीय मित्र पनि छैनन् I उसको विश्वास थियो , उसले कुनै त्यस्तो शत्रु पनि कमाएको छैन I किन्तु आज उसको विश्वासप्रति तुषारपात भएको छ I उसले आज महसुस गरेको छ , मित्र कमाउन ज्यादै गाह्रो छ , तर शत्रु त कमाउनै पर्दैन , आफै जन्मने रहेछ I
अफिसका साथीहरूमाझ अनुरागको छवि अत्यन्तै छुचो र ‘मख्खीचुस’ को छ I कुटुम्ब , छिमेकी र परिचितहरू उसलाई एक नम्बरको कन्जुस मान्छन् I उसका सालीहरू सुलभासङ्ग भन्ने गर्छन् ‘यी भिनाजु त आफ्नो औकातमा पनि नबस्ने के ! अरू सरकारी नौकरहरु कस्तो शानसँग बस्छन् , हाम्रो भिनाजु त साह्रै दरिद्रजस्तो I’ अनुरागलाई कसले के भन्छ भन्ने कुरामा मतलब थिएन I उसको सिद्धान्त थियो ‘खुरुखुरु आना खुरुखुरु जाना I चल भाइ अकेला !’
उसका तीनओटी छोरी छन् I रुना , मुना र बुना I जेठी रुना समाज शास्त्रमा मास्टर्स सक्दै छ I माहिली मुना म्यानेजमेन्टमा स्नातक गर्दै छ , कान्छी बुनाले बाह्र सकी I जेठीले एमबिबिएसमा नाम त निकाली , तर छात्रवृत्ति मिलेन I ऊ समाज शास्त्र पढ्न थाली I साह्रै मेधावी छ ऊ I अरू छोरीहरू पनि प्रतिभाशाली छन् I दुनियाँले जे भनोस् , छोरीहरूका लागि अनुराग एक आदर्श पिता हो I उसलाई छोरीहरू अत्यन्त सम्मान गर्छन् I छोरीहरूको यो अति सम्मान आज उसको लागि बोझ भएको छ I लज्जा बोधको कारण बनेको छ I
पिताको सल्लाह मुताबिक उसले काठमाडौँमा चार आना जग्गा किन्यो I बाबुले दिएको पैसा र आफूले जम्मा गरेको रकमले डेढ तल्ले चिटिक्कको घर पनि बनायो I तर उसलाई आज यही घर गलाको पासो भएको छ I सारा समाज , छिमेक , कुटुम्ब र सहकर्मी मित्रहरूको लागि ऊ महाको कन्जुस र हैसियतभन्दा साह्रै तल्लो दर्जामा बस्ने दरिद्र मनस्थितिको मान्छे हो I किन्तु सरकारको लागि ऊ अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर बिताउने विलासी कर्मचारी हो I
अनुराग र रुना घर पुगे I आज घरमा विशेष खाना पाकेको छ I माहिली छोरी मुनाले पूरा एक केजी खसीको मासु पकाएकी छ I अनुराग आफ्नो बाबुसँग कहिल्यै झूटो बोलेन , तर एउटा कुराको भने उसलाई पछुतो छ I ऊ उसको खानदानको पहिलो मांसाहारी जीव हो I बाबु भिखारी कहिलेकाहीँ भन्ने गर्थे ‘आजके जमानेकी सरकारी नौकर हो , मांस तो खावथ हो ना ? कोही बात नाइँ है घरमा मत खाना I’ तर उसले भनेको थियो , ‘नाइँ बाबुजी नाइँ खाइथ है I’ उसले बाबुको दिल दुख्न नदिने प्रयत्न गर्दा आफ्नै दिल दुख्छ भन्ने कुरा विचार गर्न सकेन I
आश्चर्य ! उसकी कान्छी छोरी बुनाले उसको अगाडि तात्तातो मासु र रक्सीको गिलास ल्याएर राखिदिई I पत्नी सुलभाले साँधेको भटमास , पिनट्स , मूला , गाजर र प्याजको सलाद ल्याएर राखिन I रुना अनुरागको छेवैमा आएर बसी I रुनाले भनेकी थिई ‘आज एक दिनलाई खानुस् पापा I आजदेखि बन्द I हजुरलाई मेरो कसम पापा I’ अनुरागले एकै सासमा गिलास खाली गरिदियो I दुई टुक्रा मासु चपायो र फेरि अर्को प्याग खन्यायो I उसले एकै घुड्कोमा त्यो पनि खायो र भन्यो ‘भोलिदेखि मलाई कुनै चिजको दरकार पर्ने छैन छोरी I’ अनुराग ग्वाँ ग्वाँ रुन थाल्यो I उसलाई आमाको अनुहार याद छैन , आमाको मृत्यु याद छैन I उसले पहिलोपल्ट ‘अम्मा’ भन्दैमा आमा खसिन् I दोस्रोपल्ट अम्मा भन्न नसिबले दिएन I उसले त्यो निर्दोष शैशव कालमा अविरल आमा खोजिरह्यो , तर आमा अनन्तमा हराइसकेकी थिइन I आमा फेरि आइनन् I उसले आमा बिर्स्यो I उसलाई आमा सम्झेर रुनु परेन I
उसकै सुखको लागि बाबुले आजीवन दुःख गरे I नेपालगन्जको पैँतालिस डिग्रीको गर्मीमा उनी भट्टीमा खुवा घोटेर र जलेवी पकाएर बसे I ती बाबुको अकस्मात् मृत्युमा उसले आँसु पियो , छोरीहरूको अगाडि भक्कानो छोडेन I तर आज ऊ तिनै छोरीहरूको अगाडि क्वाँ क्वाँ रुँदै छ I लाज पचाएर रुँदै छ I उसको निर्दोष रोदनका साक्षी यिनै चार जना मात्र छन् I सायद उसको कुरा पत्याउने यस धरामा यी चार जना बाहेक कोही छैन I आज राज्यले उसलाई जुन अभियोग लगाएको छ , त्यसैमाथि समाज , नाता पाता , छिमेकी सबैको विश्वास हुनेछ I उसलाई थाहा छ , अब ऊ नितान्त एक्लो हुनेछ I अब कोही पनि उसको आफ्नो हुने छैन I यी चार जना साक्षीहरूको नियति अब घोप्टो मुन्टो लाएर हिँड्ने निरीह प्राणीमा रूपान्तर हुनेछ I
उसले भनेको थियो , ‘‘छोरी म बेइमान नेपाली हुँ I तैँले आज मलाई भोलेनाथको अगाडि उभ्याएर ‘साँचो साँचो कुरा भन्नुस्’ भनिस् I ठिकै गरिस् I हेर् छोरी ! तिमीहरूको अगाडि म यो देशको पूर्ण इमानदार नागरिक हुँ भनेर कसरी भन्न सक्छु , जब मेरो देश मलाई विलासी बेइमान भन्दै छ ? म यो देशको इमानदार र ‘पाकसाफ’ नागरिक हुँ भनेर कसरी भन्न सक्छु ? मलाई कसैले तामो र तुलसी लिएर आफ्नो इमानको शपथ खा भन्यो भने म सहर्ष भन्नेछु , म इमानमा छैन I किनकि मेरो सरकारले मलाई बेइमान भनेर डामिसक्यो I यो देशमा अरू कोही पूर्ण इमानदार नेता, व्यापारी , न्यायाधीश , प्रहरी , शिक्षक या कर्मचारी छ कि छैन मलाई थाहा छैन I किन्तु म इमानदार छैन I”
‘‘मलाई अख्तियारले गोप्य रूपमा बोलायो I केही सोधपुछ गर्न होला भनेर म गएँ I मलाई भनियो ‘तिमीमाथि हैसियतभन्दा उच्च जीवनस्तर यापन गरेको उजुरी परेको छ I अब तिमीले आफ्नो सम्पत्तिको वैधता प्रमाणित गर्नुपर्छ I’ म जागिरमा भए तापनि मैले घरमा एक पैसा पठाउनु परेन I मेरो बाले आफूले झुम्रा भिरेर पनि मलाई राम्रै खान लाउन दिनुभयो I बा भन्नुहुन्थ्यो ‘मेरो एउटा मात्र इच्छा छ बेटा , मैले यो भट्टी तापेर जुन सास्ती खेप्नु पर्यो , त्यो तैँले बेहोर्नु नपरोस् I’ बाबाले महिनै पिच्छे मेरो खातामा रकम जम्मा गरिदिनुहुन्थ्यो I बाबा भन्ने गर्नुहुन्थ्यो मेरो जे छ , सबै तेरै हो , तेरो दुःख मेरो दु;ख , तेरो सुख मेरो सुख I
म सोच्ने गर्दथेँ ,मैले मेरो बाबुलाई सुख दिन सकिन , मैले मेरो बाबुको शरीरबाट बगिरहने परिश्रमको पसिनाको महक सुँघ्न सकिन I मैले मेरो बाबुको पसिना पुछेर ओभानो राख्न सकिन I माई ग्लानि हुन्थ्यो मैले मेरो बाबालाई भोले बाबाको अगाडि उभ्याएर परिचय गराउन सकिन I किन्तु हे बाबा ! धन्न तिमी आज यहाँ छैनौ , नत्र तिमी पनि रातो घरको पाहुना हुन जानुपर्थ्यो I तिमी पनि भ्रष्टाचारी छोराको नालायक मतियार बनेर थरथर काँप्दै ठिङ्ग उभिनुपर्थ्यो I आज तिम्रो अकस्मातको मृत्युमा म धेरै खुसी छु बाबा I
मलाई बयान गराउने अफिसरलाई म चिन्छु I एक दुई पल्ट लिफ्ट पनि लिएको छु I उसको बारेमा सबै भन्ने गर्छन् जागिर खानु त फलानाले जस्तो पो खानु I समाजमा प्रतिष्ठा छ , ठूलाठूला मानिससँग उठबस छ , मान मनिता पनि छ I त्यो अफिसरले भन्यो , ‘तिम्रो बाउको आम्दानीको स्रोत के हो ?’ मैले बयान गरेँ मेरो बाबाको मिठाई पसल थियो I त्यही पसलको आम्दानीबाट जोगाएको पैसा मेरो खातामा राखिदिनुहुन्थ्यो I अख्तियारले बाबाको पसलको दर्ता र कर तिरेको प्रमाण माग्यो I बाबाको पसल दर्ता नै थिएन I कर पनि तिर्नु भएको थिएन I अचेल त ससाना पसल पनि सरकारको रेकर्डमा हुन्छन् , तर पहिले पहिले त्यस्तो चलन थिएन I बाबाले क्रमशः जम्मा गर्दै जानुभयो I मैले बयान गरेँ , ‘मलाई बाबाले दिएको पैसा हो हजुर I त्यस्तो धेरै पनि त छैन I मेरो सत्य तथ्य कुरा यही हो , म प्रमाण जुटाउन असमर्थ छु I’ तर अफिसरले मेरो कुरा चित्त बुझाएन I बयान लिने बेलामा मलाई साह्रै अपमान गर्यो I मजस्ता ‘नमकहराम’ हरूकै कारण यो मुलुक हरि कङ्गाल हुनु परेको कुरा गर्र्यो I ‘छोरीहरू पनि निकै शानदार होलान् , शानको जिन्दगी बिताउँदै होलान्’ भनेर खाता पाताबारे खुलाउन भन्यो I खाता पाता भए पो खुलाउनु I अफिसरले मेरो बिरादरीको नाम लिएर पनि धेरै अपमान र परेसान गर्यो I अफिसरले बाबाले जम्मा गरिदिएको रकमबारे भन्यो ‘त्यो रकम तेरो अवैध कमाइबाट आएको हो I त्यो सबै पैसा बाबुको नामबाट जम्मा गरिएको मात्र हो I’ मैले प्रमाण जुटाउन सकिन I अफिसरको चित्त बुझाउन सकिन Iअख्तियारले मलाई वैधानिक आम्दानीभन्दा धेरै रकम जम्मा गरेको र हैसियतभन्दा उच्चस्तरको जीवनयापन गरेको अभियोगमा मुद्दा हाल्यो I
यो बयानपछि मेरा हातखुट्टा लुला भए I जहाँ चार जना जम्मा भएर कुरा गरेको देख्छु , मलाई लाग्दछ हो न हो यिनीहरू मेरो बारेमा कुरा गर्दै छन् I पुलिसलाई देख्नासाथ मलाई लाग्दछ , यिनीहरू मलाई समात्न आउँदै छन् I हिजो दिनभरि चिडियाखानामा एक्लै बसेर घर आउँदै थिएँ , यहाँ नजिकै चिया पसलमा बसेर गफ गरिरहेको छिमेकीले भन्यो , ‘के छ गुप्ताजी खबर ? यत्रो वर्ष जागिर खाएको पैसा केको लागि साँच्नुहुन्छ ? यसो तलमाथि पनि गर्नुभयो होला , हातको सफाइ पनि गर्नुभयो होला I कति कन्जुस हँ तपाईँ ? यसो मोज मस्ती गर्नुहोस् , यसो ‘नाइट लाइफ’ तर्फ लाग्नुहोस् I मरेर लानु के पो छ र गाँठे !’ म थर्र कापेँ I अनि मलाई उज्यालोसँग डर लाग्न थाल्यो I आफैसँग भाग्न मैले रक्सीको सहारा लिन थालेँ I सुलभा र मेरो खातामा गरी हाम्रो जम्मा चौबिस लाख नगदी छ I हाम्रो गुप्ता जातमा बिना दहेज छोरीको विवाह हुँदैन I तिमीहरूको विवाहमा खर्च गर्न चाहिन्छ भनेर राखेको पैसा हो त्यो I त्यही चौबिस लाखको आयस्रोत देखाउन नसक्दा मलाई मुद्दा लाग्यो I त्यति पैसा त अलि मीठो चोखो खाएर पनि भ्याउन सकिन्थ्यो I मोज मस्ती र उच्च जीवनस्तरको के कुरा I सुलभाले आफ्ना बाबु र भाइहरूले ‘सारी किनेर लाऊ’ भनेर दिएको पैसा समेत छोरीहरूको सादीमा काम लाग्छ भनेर साँचेर राख्ने गर्थिन I
मेरो फिल्डको कामको सिलसिलामा एक जना ठेकेदारसँग झगडा परेको थियो I ठेकेदार भन्थ्यो , ‘धेरै लफडा नगर्नुस् साहेब , हैरान नगर्नुस् I मेरा पनि ठुलो ठाउँमा मान्छे छन् I’ म भन्ने ‘म क्वालिटीमा ‘कम्प्रोमाइज’ गर्न सक्दिन I बस् आज त्यसैको ‘खामियाजा’ भोग्दै छु I मेरो विरुद्धमा फरक फरक ठेगानाबाट चार ओटा उजुरी परेछ I अहिले म फरार अभियुक्त हुँ I”
रुनाले भनी ‘‘पापा यस्तो ‘प्यानिक’ भएर कहाँ साध्य चल्छ I शान्त र धैर्यवान् हुनुहोस् , न आतिनुहोस I मैले एउटा रिसर्च गरेर थेसिस लेख्दै छु , जो करिब सकिने चरणमा छ I भन्न त नेपालमा भ्रष्टाचारीलाई बहिष्कार गर्नुपर्छ भन्छन् I नेपालमा जति पनि जाने बुझेका मानिस छन् , ती सबैले यही भन्छन् I जो वास्तवमा ‘चोखा’ छन् , तिनीहरूलाई केही थाहा छैन I तिनीहरूका लागि नैतिकता के हो , सदाचार के हो , दुराचार के हो , बहिष्कार के हो केही थाहा छैन I तिनीहरूलाई सबै मिलेर ठगिरहेछन् I नेता , कर्मचारी , व्यापारी र राज्य समेत I
यहाँ ठूलोठूलो कमाइ हुनेलाई को बहिष्कार गर्न सक्छ ? उनीहरूको आफ्नो स्थापित समाज छ , जो उनीहरूलाई सम्मान गर्दछ I. मानौँ कसैले बहिष्कार गर्यो रे , बहिष्कारले के फरक पर्छ ? हाम्रो समाज , मानिसहरूको मानसिकता र राज्य सबैको प्रवृत्ति निरीहलाई पेलपाल पार्ने हो I अहिले हुलहालमा पर्ने भनेकै यसो जीवन निर्वाह सहज पार्न ससाना लोभ गर्नेहरू हुन् I यी खुद्रेहरू भविष्यमा पनि धेरै फेला पर्नेछन् , यिनीहरूको भीडले राज्यको हिरासत भरिने छ I मौका नै नपाउनेको कुरा अर्कै हो , पाउनेहरूले जताततै हात चाटेकै छन् I चाटेको हात राम्ररी सफा राख्न सक्ने चोखै जोगिन्छन् , जो हात धुन जान्दैनन् जालभित्र पर्छन् I त्यो जालमा तपाईँजस्तो हात नचाट्ने पनि पर्न सक्छन् I
अध्ययनले देखाएको छ – यहाँ कुनै संस्थामा पनि निष्पक्ष र इमानदार अधिकारीहरू छैनन् I यहाँ जे कारबाही हुन्छ , सबै ‘सिलेक्टिभ’ हुन्छ I यहाँ कोही पैसाको पछाडि छन् , कोही पदको I तिनीहरू पैसा र पद पाउनको लागि जेजस्तो कर्म गर्नुपर्छ , सबै गर्छन् I तिनीहरूका पनि घर छन् , तर ती घरमा हरियो ‘ट्याग’ लागेको छ I यो टोलका साना घरमध्ये हाम्रो घर पनि पर्छ I किन्तु हाम्रै घर विलासी हुने भयो , हैसियतभन्दा ज्यादा हुने भयो , किनकि हामीसँग राज्यले मागेको प्रमाण छैन I यहाँ एक हजार घुस खाएको अभियोग लागेको व्यक्ति डेढ महिना थुनामा बसेर आत्महत्या गर्छ I अध्ययनले देखाएको छ – यहाँ ससाना सामाजिक नैतिकता उल्लङ्घन गर्नेहरू समातिन्छन् , झमेलामा पर्छन् I ठूलाठूला राष्ट्रिय नैतिकता परित्याग गर्नेहरू शासन गर्छन् I
पर्सि सोमबार मलाई हेर्न केटा आउँदै छ I तपाईँ चिन्ता नगर्नुहोस् पापा I म उसलाई सबै कुरा भन्नेछु I विवाह गर्न राजी भए गर्छ , नभए गर्दैन I सरकारको नजरमा तपाईँ औकातभन्दा उच्च जीवनयापन गर्ने मानिस हुनुहोला तर आमा , हामी सबै छोरी र भगवानको नजरमा तपाईँ सच्चा ‘इन्सान’ हो I मुद्दा जित्नुभयो भने नोकरीमा फर्कनुहोला, नत्र फेरी मिठाई पसल खोलेर खाउँला I”
अनुरागले अर्को प्याग लगायो र ‘पिसाब गर्न जान्छु’ भन्दै उठ्यो I उसले अगाडिको खल्तीबाट सानो कागज खसेको चाल पाएन I रूनाले कागजमा लेखिएको ब्यहोरा पढी I कागजमा लेखिएको ब्यहोरा यस्तो थियो ‘आज मलाई मेरै अस्तित्व भारी भइरहेको छ I म त्यहाँ जाँदै छु, जहाँबाट फर्कनु पर्दैन I राज्यले मेरो लासलाई सार्वजनिक प्रदर्शन गरोस् I मेरो मुखमा फलामका किला ठोकोस् I मेरो निधारमा ‘दामल’ गरोस् I नेपाल आमाको कुलङ्गार छोरो लेखेर छातीमा टाँसोस् I मेरो अवसानसँगै देशबाट भ्रष्टाचार निवारण भएको घोषणा गरोस् I’