अनुत्तरित प्रश्नहरू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अनुत्तरित प्रश्नहरू


१५ चैत्र २०७६, शनिबार


आज म जहाँ छु,
मैले सोचेकै थिइन म यसरी यहाँ हुनेछु ।
आज उ जहाँ छ,
उसले पनि सोचेकै थिएन उ त्यसरी त्यहाँ हुनेछ ।
आज उनीहरू जहाँ छन्,
उनीहरूले पनि सोचेकै थिएनन् उनीहरू त्यसरी त्यहाँ हुनेछन् ।

गर्ल्याम गुर्ल्म्म ढलिसके,
ती रङ्गिन सपनाहरू
बस्ती बसाउनु थियो मङ्गल ग्रहमा,
हिउँदे बिदा मनाउन जानु थियो चन्द्रमामा,
पत्ता लगाएरै छाड्नु थियो
नित्से जिउँदै छ कि? ईश्वर मरिसक्यो?
जान्न अझै बाँकी थियो
मुसोलिनिको फाँसीवाद,
गान्धीको अहिंसावाद,

मार्क्सको पुँजीवाद ।

कहाँ छन्?
एक निमेषमै विश्व ध्वस्त बनाउन सक्ने हतियार,
कहाँ छन्?
विश्व शक्ति छेक्न सक्ने ग्रेटवाल?
कहाँ छन्?
लादेन र सद्दाम हुसेनलाई पत्ता लगाउने तिम्रा जासुशहरु?
कहाँ छन्?
विश्व हल्लाउन सक्ने तिम्रा ती तागतहरू?

विश्व विजय गर्न गोर्खे पठाऊ भन्यौ,
हामी मान्यौ ।
तिमीले वन जङ्गल जोगाऊ भन्यौ,
हामी मान्यौ ।
तिमीले निजीकरण गर भन्यौ,
हामी मान्यौ ।
तिमी विश्वव्यापीकरण स्वीकार भन्यौ,
हामी मान्यौ ।

आज तिम्रा सामु केही थान अनुत्तरित प्रश्नहरू छन्,
जवाफ दिन सक्छौ?
म मेरो छोरोलाई स्कुल पुर्‍याउन के गर्नुपर्ने हो?
मेरो छीमेकीलाई नुन पैँचो फर्काउन कुन आदेश कुर्नुपर्ने हो?
मेरो साथीसँग निर्धक्क कुरा गर्न के गर्नुपर्ने हो?
पढ्न सहर पसेको छोरो बुढा बा आमैलाई भेट्न के गर्नुपर्ने हो?
अतिथि देवो भव लेखेर ढोकामा कहिले झुन्डाउन पाउने हो?

वसन्त अधिकारी

प्रतिक्रिया दिनुहोस