हेटौँडामा ग्यास अभाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हेटौँडामा ग्यास अभाव


१४ चैत्र २०७६, शुक्रबार


हेटौडा । वाग्मती प्रदेशको राजधानी हेटौँडालगायत मकवानपुर जिल्लामा खाना पकाउने ग्यासको अभाव भएको छ ।

कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको लक डाउनले बजारमा सहजरुपमा ग्यास उपलब्ध नभएको उपभोक्तहरुले गुनासो गरेका छन् ।

ग्यास बिक्रेताले ग्यास अभाव रहेको र ग्यास उद्योगमा थप ग्यास नआएकाले आ–आफ्ना पसल बन्द गरेको बताएका छन् । लक डाउनले बाहिर निस्कने अवस्था नरहेको र ग्यास अभाव भएको उपभोक्तलाई समस्या परेको ग्यास बिक्रेता नवीन अधिकारीले बताए ।

उता नेपाल आयल निगम अमलेखगञ्ज डिपो कार्यालका प्रमुख भरत रेग्मीले आवश्यकताभन्दा बढी ग्यास सिलिण्डर राख्ने कारणले समस्या भएको बताए । उनले वीरगञ्ज नाकाबाट दैनिक ३० देखि ४० ग्यास बुलेट आइरहेको र बिक्रीवितरण प्रणाली व्यवस्थित गरेमा समस्या नहुने बताए ।

लक डाउनले होटेलहरु बन्द भएको र ग्यास बुलेटका चालक तथा सहचालकलाई आफ्नो अमलेखगञ्जस्थित डिपोमा निःशुल्क खाना खुवाउने गरेको प्रमुख रेग्मीले जानकारी दिए ।

त्यसैगरी हेटौँडामा पम्पहरु बन्द हुँदा पेट्रोलियम पदार्थको समेत समस्या भएको सर्वसाधारणको गुनासो छ । हेटौँडामा रहेको एक दर्जन पम्पले पेट्रोलियम पदार्थ बिक्री वितरण बन्द गरेका छन् तर डिपो प्रमुख रेग्मीले मौज्दात पूरा रहेको छ भने । लक डाउनले हेटौँडा बजार अहिले सुनसान भएको छ । सर्वसाधारण घरमा बसेका छन् भने स्थानीय प्रहरी बजारमा व्यापक रुपमा परिचालन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस