ट्रेड युनियन राष्ट्र, सरकार र नागरिकको साथमा छ -अध्यक्ष ढकाल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्रेड युनियन राष्ट्र, सरकार र नागरिकको साथमा छ -अध्यक्ष ढकाल


१३ चैत्र २०७६, बिहिबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको अध्यक्ष पुण्य ढकालले आधिकारिक ट्रेड युनियन र यस अन्तर्गत आबद्ध रहने सबै ट्रेड युनियन पेशाकर्मीहरु राष्ट्र, सरकार र नागरिकको साथमा रहेको बताएका छन् ।

युनियनका अध्यक्ष ढकालले आज एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ मा कर्मचारीले सशक्त क्रियाशील र सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्दै आवश्यकताअनुसार जुनसुकै सेवामा तत्पर रहन आधिकारिक, राष्ट्रिय स्तर र स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू सहयोग र सहभागिता जनाउने विश्वास दिलाउन चाहेकोसमेत बताएका छन् ।

हेर्नुहोस् विज्ञप्ति
विश्वव्यापी फैलिएको कोभिड–१९ महामारीबाट सङ्क्रमित, प्रभावित र असरमा रहनुभएका सर्वसाधारण नागरिकहरूलाई तथा सेवा प्रदायमा अहोरात्र खटिनुभएका सरकारी सेवाका चिकित्सक, अन्य स्वास्थ्य प्राविधिक कर्मचारीहरू अत्यावश्यकता कार्यमा संलग्न कर्मचारीहरू यस सङ्क्रमण अवस्थामा यहाँहरूबाट निर्वाह गरिएको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्दछ ।

विश्वव्यापी रूपमा यस सङ्क्रमित महामारीबाट कोही पनि अछुतो छैन । के विकसित, अल्पविकसित र विकासोन्मुख सबै राष्ट्र र आबद्ध नागरिकहरू कुनै न कुनै रूपमा प्रभावित रहिरहनु भएको हुनसक्छ । यस महामारी विरुद्ध प्रतिवाद सामूहिक रूपमा गर्नु सबै नागरिकको कर्तव्य रहेको छ । नेपाल सरकारबाट हालै घोषणा गरिएको लकडाउनबाट नागरिकको स्वास्थ्य संवेदना र महामारीमाथि विजय हासिल गर्ने कार्यप्रति हामी सबैको जिम्मेवारीपूर्वक भूमिका हुनुपर्ने अवस्था छ । सङ्कटका समयमा देश र नागरिकप्रति कर्तव्यनिष्ट दायित्व निर्वाह गर्ने भूमिकामा रहेका निजामती उच्चपदस्थ, चिकित्सक, स्वास्थ्य प्राविधिक कर्मचारी, ट्रेड युनियनकर्मीहरुबाट देखाइरहेको भूमिकाप्रति निजामती क्षेत्रमा क्रियाशील आधिकारिक, ट्रेड युनियन आभार व्यक्त गर्दछ । कर्मचारीहरूबाट दायित्व निर्वाह देखाएको यस अदम्य साहसको प्रशंसा समेत गर्दछ । विगतमा देशलाई सङ्कट पर्दा भूकम्प, स्वास्थ्यसम्बन्धी झाडापखाला लगायतमा जस्तै कोभिड–१९ मा समेत आगामी दिनमा अझ सशक्त क्रियाशील र सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने विश्वास यस जनशक्तिबाट हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छु ।

नेपाल सरकारले नचाहँदा नचाहँदै यस महामारीबाट जीवन सुरक्षित आफू र अरूलाई बनाउन आगामी चैत १८ बिहान ६ः०० बजे सम्म घरमै बस्न अनुरोध गरेको छ । यसलाई सबैले अनुशासित र मर्यादित भई पालना गरौँ । सङ्कटका बेला थुप्रै समस्याहरू हुन सक्छन्, त्यस्ता हातमा हात मिलाई सहकार्य गरौँ, सबैले सबैलाई सचेत र सजग गराऔँ । केही दिन घरमा बस्ने बानी नपरेका कारणले असहजता हुनसक्छ त्यसलाई सामना गर्ने नेपाली साहस र सामर्थ्य प्रदर्शन गरौँ । समाजमा कुत्सित मनसाय राखी कालोबजारी गर्ने, मौकाको फाइदा उठाउने जस्ता मानव र समाज विपरीतका कार्यप्रति संलग्न नहोऔंं र सजगता समेत अपनाऊँ । सरकार र राज्यलाई सहयोगी भूमिका निर्वाह गरी सकारात्मक धारणा र दृष्टिकोण राख्ने कार्य गरौँ । सामाजिक सूचना सञ्जालबाट यस घडीमा झुटा र अफवाहका सन्देश होइन सत्य सन्देश प्रवाह गरौँ ।

लकडाउनका कारण देश, विदेशका विभिन्न स्थानमा रही घरपरिवार भेट्न आतुर मनस्थितिलाई केही समयका लागि आत्मसंयमता अपनाऔँ । धैर्यता र संयमता नै सङ्कट निकासको मुख्य आधारहरू हुन्, यसतर्फ सबैले ध्यान पुर्याऔं । घर परिवार आफन्तलगायतमा हुने घटनाबाट असर र प्रभावित हुने नागरिकका लागि मनोसामाजिक कार्य योजना तयार गर्ने कार्यमा सरकारले ध्यान पुर्‍याउने अपेक्षा गर्दछु । विश्व स्वास्थ्य सङ्गठनले यस महामारीबाट सुरक्षित रहन आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी र अन्य उपायहरूमा कुनै कन्जुस्याइँ नगरी पालना गरौँ ।

आवश्यकताअनुसार नागरिकको जुनसुकै सेवामा तत्पर रहन आधिकारिक, राष्ट्रिय स्तर र स्वास्थ्यकर्मीका ट्रेड युनियनहरू सहयोग र सहभागिता जनाउने विश्वास दिलाउन चाहन्छु । सकारबाट अझ जिम्मेवारीपूर्वक जनताप्रति बोली, व्यवहार र कार्यशैलीमा ध्यान पुर्‍याउन सुझाव समेत राख्दछु । साथै नागरिकहरूबाट समेत सरकार र राज्यबाट घोषित नीति, योजना र निर्णयहरूप्रति संवेदनशील बनी पालना गर्न समेत आह्वान र अपिल गर्दछु । आधिकारिक ट्रेड युनियन यस अन्तर्गत आबद्ध रहने सबै ट्रेड युनियन पेशाकर्मीहरु राष्ट्र, सरकार र नागरिकको साथमा रहेको ब्यहोरा समेत यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछु ।

 

पुण्यप्रसाद ढकाल
अध्यक्ष

Tags :
प्रतिक्रिया दिनुहोस