इटलीमा २४ घण्टामा ७४३ ले ज्यान गुमाए, कोरोनाको कहर तत्काल रोकिने सङ्केत - प्रशासन प्रशासन
prasaLogo
१२ चैत्र २०७६, बुधबार

इटलीमा २४ घण्टामा ७४३ ले ज्यान गुमाए, कोरोनाको कहर तत्काल रोकिने सङ्केत


प्रकाशित मिति : 25 March, 2020 7:04 am

काठमाडौँ । कोरोना भाइरस(कोभिड–१९) को सङ्क्रमणका कारण इटलीमा गत २४ घण्टामा ७४३ जनाको मृत्यु भएको छ । यो सङ्ख्या सोमबारको भन्दा १४१ ले बढी हो ।

इटलीमा हालसम्म कोरोनाका कारण ६ हजार ८२० जनाको ज्यान गइसकेको छ । आइतबार र सोमबार मृत्युको सङ्ख्या केही कम देखिएको इटलीमा मङ्गलवार फेरि बढ्नाले चिन्ता थपिदिएको छ ।

बीबीसीले लेखेको छ –बढ्दो मृत्युलाई हेर्दा इटलीमा कोरोनाको कहर तत्काल रोकिने सङ्केत देखिएको छैन ।

कोरोना सङ्क्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रवार ६२७ र शनिवार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको थियो । तर मङ्गलवार बढेर ७४३ जनाको मृत्यु भएसँगै सोमबारको तुलनामा १४१ जना बढीले ज्यान गुमाए ।

विश्वका सबैभन्दा बढी प्रभावित देशको सूचीमा रहेको इटलीमा ६ हजार ८ सय २० जनाले ज्यान गुमाइसकेका छन् । सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सबैभन्दा लामो समयदेखि लकडाउन गरिएको छ । तर पनि मृत्यु रोकिएको छैन ।

इटलीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या ६९ हजार १ सय ७६ छ ।

विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ)का अनुसार कोरोना भाइरस १९५ देशमा फैलिइ सकेको छ । यसबाट १६ हजार ३६२ जनाको मृत्यु भइसकेको छ भने ३ लाख ७५ हजार ४ सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस