भीमदत्त नगरपालिकाका सबै वडाहरूमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भीमदत्त नगरपालिकाका सबै वडाहरूमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सुरु


२ चैत्र २०७६, आइतबार


काठमाडौँ । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाका सबै वडाहरूमा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सुरु भएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट २०७६ असार २५ गतेदेखि राष्ट्रिय परिचय पत्र कार्यक्रम सुरु गरेकोमा आज(आइतबार)देखि नगरपालिकाका १९ वटै वडाबाट अभियानकै रूपमा विवरण दर्ता सुरु भएको हो ।

उक्त अभियानको प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडा, नगरप्रमुख सुरेन्द्र विष्ट, राष्ट्रिय परिचय पत्र विभागका महानिर्देशक जितेन्द्र बस्नेत तथा निर्देशकद्वय शिवराज जोशी र सुवास ढकालले संयुक्त रूपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा १९ वटै वडाका वडाध्यक्षलगायतको उपस्थिति रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

सप्रजिअ उपाध्यायका अनुसार कञ्चनपुर जिल्लामा दश हजार दुई सय ६५ जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता भई एक हजार ६ सय बायोमेट्रिक स्मार्ट कार्ड छापिई कार्यालयमा प्राप्त भएकोमा भीमदत्त नगरपालिका १८ का ज्येष्ठ नागरिक ८४ वर्षीय नन्दादेवी पाण्डे र निजामती कर्मचारी मानबहादुर बोहरालाई अभियान शुभारम्भ स्थलबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ । सिडिओ खतिवडा, नगरप्रमुख विष्ट र विभागका महानिर्देशक बस्नेतले संयुक्त रूपमा राष्ट्रिय परिचय पत्र(वायोमेट्रिक स्मार्ट कार्ड) वितरण गरेका हुन् ।

राष्ट्रिय परिचय पत्रको प्राप्ति पश्चात् नागरिकले आफ्नो सही विवरण भएको बायो मेट्रिक सूचनासहितको स्मार्ट पाउने र धेरै काममा सहजीकरण हुने जानकारी सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताएका छन् ।

कञ्चनपुर जिल्लामा राष्ट्रिय परिचय पत्रका लागि एक लाख ९८ हजार नागरिकको विवरण दर्ता गर्ने लक्ष्य रहेको र त्यसका लागि ९ वटा स्थानीय तहमध्ये भीमदत्त नगरपालिकाबाट अभियानको शुभारम्भ भएको सप्रजिअ उपाध्यायले जानकारी दिए । विवरण दर्ताका लागि ९१ जना अपरेटर छनौट गरी १९ वटा घुम्ती टोलीमार्फत विवरण दर्ता थालिएकोसमेत उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस