गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिकाका कागजात अख्तियारको नियन्त्रणमा !


२ चैत्र २०७६, आइतबार


खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाका कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । मृत्यु भइसकेका र बसाई सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको भन्दै उजुरी परेपछि अख्तियारले पालिकालाई पत्र पठाएको थियो ।

छानबिनका लागि भन्दै अख्तियारले चिठ्ठी पठाएपछि गाउँपालिकाले फागुन २७ गते सामाजिक सुरक्षा भत्ता सम्बन्धी आवश्यक कागजात अख्तियारमा बुझाएको छ ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवृद्धा एवं बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गत कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले सिङ्गो पालिकामा भइरहेको सामाजिक सुरक्षा भत्ता दुरुपयोगको विषयमा छानबिन गर्न उपाध्यक्ष गोमाबेदी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षा भत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी पाएको सर्वदलीय छानबिन समितिले गत मङ्सिर १७ गते सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता देखिएको प्रतिवेदन बुझाएको थियो। छानबिन समितिले बराह पोखरी गाउँपालिका–१ बराहपोखरी, बराहपोखरी गाउँपालिका–२ सुन्तले, बराहपोखरी गाउँपालिका–३ साउनेचौंर र बराहपोखरी गाउँपालिका–४ फाक्टाङमा सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको प्रतिवेदन पेस गरेको थियो।

समितिले पहिल्यैदेखि सामाजिक सुरक्षा भत्तामा अनियमितता हुँदै आएको पाइएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस