रुकुम पूर्वमा मृत मृग फेला « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

रुकुम पूर्वमा मृत मृग फेला


प्रशासन संवाददाता

२७ फाल्गुन २०७६, मंगलबार


रुकुम पूर्व । रुकुम (पूर्व)मा मृत मृग फेला परेको छ । सिस्ने गाउँपालिका–५ स्थित कमलदहको छेउमै मृत पोथी मृग (रतुवा) फेला परेको हो । अन्दाजी चार/पाँच किलोको एक वर्ष जतिको मृग परेको डिभिजन वन कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

कमलदहको वरपर लगाइएको तारमा अल्झिएको अवस्थामा आज बिहान मृगलाई स्थानीयवासीले देखेका थिए । त्यसलगत्तै स्थानीयवासीले डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । तारमा अल्झिएको अवस्थामा फेला परेको मृग उद्धार गर्दा मरेको अवस्थामा रहेको सहायक वन अधिकृत विनोद गायकले बताए ।

दहमा पानी खान झरेको मृग फर्कने क्रममा तारमा अल्झिएर मरेको हुन सक्ने वन कार्यालयले जनाएको छ । मृत मृगलाई आज नै डिभिजन वन कार्यालय रुकुम (पूर्व), जिल्ला प्रहरी कार्यालय, पत्रकार र स्थानीयवासीको रोहवरमा गाडिएको छ ।

पछिल्लो समय जङ्गलबाट मृग बस्तीतिर झर्ने क्रम बढेको छ । योसँगै माघ र फागुनमा मात्र तीनवटा मृग फेला परेका छन् । योभन्दा अगाडि दुईपटक फेला परेका मृगलाई भने उद्धार गरेर डिभिजन वन कार्यालयले जङ्गलमा छोडेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस