आठ देशका नागरिकलाई आजदेखि अन–अराइभल भिसामा रोक « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

आठ देशका नागरिकलाई आजदेखि अन–अराइभल भिसामा रोक


२७ फाल्गुन २०७६, मंगलबार


काठमाडौं । कोरोना भाइरसका कारण आठ देशका नागरिकलाई मंगलबारदेखि अन–अराइभल भिसामा रोक लगाइएको छ ।

अघिल्लो साता सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान र इटली रहेकोमा थप तीन देशहरूका नागरिकलाई अन–अराइभल भिसा बन्द गर्न लागिएको अध्यागमन विभागले जनाएको हो।

नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात प्रवेशाज्ञा नलिकन आउने स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन–अराइभल भिसा नदिइने प्रावधान लागु गर्न लागिएको हो।

अब यो निर्णय अनुसार यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोनाभाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने बताइएको छ।

हाल विश्वका १३ वटा देशका नागरिकबाहेक सबैलाई नेपालले त्रिभुवन अनर्राष्ट्रिय विमानस्थल र अन्य सिमानाकामा नै ‘अन(अराइभल’ भिसा दिँदै आएको थियो।

पर्यटकका रुपमा नेपाल आउने विश्वका धेरै देशका नागरिकहरूले त्रिभुवन विमास्थलमा उत्रिएपछि र नेपालका विभिन्न नाकास्थित अध्यागमन कार्यालयबाट नेपाल प्रवेश गर्ने अनुमति लिन पाउने प्रावधान रहेको छ।

उक्त सुविधाका कारण नेपाल आउने पर्यटकले सम्बन्धित देशमा नेपालको दूतावास खोज्नुपर्ने र आवेदन दिनुपर्ने झन्झट नहुँदा धेरै पर्यटक नेपालको भ्रमणकालागि आकर्षित हुने गरेको बताइन्छ।

तर कोरोनाभाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले त्यस्तो व्यवस्था तत्कालका लागि केही देशका नागरिकका निम्ति स्थगन गर्ने निर्णय गरेको हो।

यी आठ देशका नागरिकले नेपाल प्रवेश गर्नका लागि स्थल नाका पनि प्रयोग गर्न नपाइने बताइएको छ।

‘कोभिड–१९’ नाम दिइएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका १ सय ९ वटा मुलुकमा देखिइसकेको छ।

तर सङ्क्रमण देखिएका र केहीको मृत्यु नै भइसकेका अन्य देशका नागरिकमाथि भने ‘अन–अराइभल’ भिसामा रोक लगाइएको छैन।

उक्त कमिटीमा विभिन्न मन्त्रालयलगायत सेनाको प्रतिनिधित्व रहेको छ।

अरु देशहरूको हकमा पनि अवस्था हेरी ‘अन–अराइभल’ भिसामा रोक लगाउनेबारे थप निर्णय गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस