कोभिड–१९ प्रभाव : दैनिक सर्जिकल पसलको अनुगमन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कोभिड–१९ प्रभाव : दैनिक सर्जिकल पसलको अनुगमन


२३ फाल्गुन २०७६, शुक्रबार


काठमाडौं । कोरोना भाइरसको प्रभावका कारण दैनिक उपभोग्य सामग्रीको अभाव भएको उजुरीपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । विभागले हाल दैनिकजसो सर्जिकल पसल, फार्मेसी तथा मागको दैनिक अनुगमन गर्ने गरेको छ ।

कोरोना भाइरसका कारण मास्क, स्यानिटाइजर एवं औषधिजन्य सामग्रीको कृत्रिम अभाव भएको उपभोक्ताको उजुरीपछि बजार अनुगमनलाई तीव्रता दिइएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म चारवटा सर्जिकल पसललाई ठूलो मात्रामा जरिवाना तोकिएको छ ।

अनुगमनका क्रममा अनुचित व्यापारिक कारोवार (बढी मूल्यमा सामान बिक्री वितरण) गरेको भेटिएपछि उनीहरुलाई उपभोक्ता संरक्षण ऐनको दफा ३८(ङ) को कसुरमा ३९ (१) (ख) अनुसार कारवाही गरिएको छ । बिहीबार बजार अनुगमनका क्रममा बढी मूल्यमा दैनिक उपभोग्य सामग्रीको बिक्री गरेको भेटेपछि वीर अस्पतालमा रहेको आयुष फार्मेसी र क्षेत्रपाटीमा रहेको आइज्याक फार्मेसीलाई रु २/२ लाख जरिवाना गरिएको छ ।

त्यस्तै मङ्गलबार र बुधबारको बजार अनुगमनका क्रममा कमलपोखरीस्थित सिने स्टारको बिग मुभिजलाई रु २ लाख ५० हजार र क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई २ लाख जरिवाना गरिएको छ । काठमाडौँको त्रिपुरेश्वर, क्षेत्रपाटी, कमलपोखरी, मण्डिखाटारलगायत क्षेत्रको बजार अनुगमनका क्रममा खरिद बिल नभेटिएको भन्दै अधिकांश फार्मेसी पसललाई रु ५ हजारदेखि रु ५० हजारसम्म जरिवाना तोकिएको उनले बताए ।

विभागले बजार अनुगमनका क्रममा खरिद बिल देखाउन नसकेको भन्दै विभिन्न सर्जिकल तथा फार्मेसी पसललाई जरिवाना तोकेको छ । त्रिपुरेश्वरको गौतम इन्टरनेशनल र दृष्टि सर्जिकल हाउसलाई रु १०/१० हजार, भिजन मार्ट प्रालिलाई रु ५० हजार र मेडिहेल्थ सर्जिकल र स्वस्तिक सर्जिकल सप्लायर्सलाई रु २०/२० हजार जरिवाना गरिएको छ ।

त्यस्तै क्षेत्रपाटीको सचिन ट्रेड कन्सर्नलाई रु १० हजार, मण्डिखाटारको खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल सप्लायर्स र फिस्टेल सर्जिकल हाउसलाई रु ५/५ हजार जरिवाना तोकिएको छ ।

त्यस्तै बिहीबार क्षेत्रपाटीमा रहेको एसजे मेडिको सर्जिकलाई २० हजार र महाबौद्धमा रहेको आरएफ फार्मेसीलाई १० हजार जरिवाना गरिएको छ । दुवै पसलमा अनुगमनका क्रममा खरिद बिल नभेटिएपछि कारवाही गरिएको हो । ‘उपभोक्ताको उजुरी तथा विभिन्न मिडियामा मास्कमा कालोबजारीलगायत समाचार प्रकाशन तथा प्रसारण भएपछि बजार अनुगमनलाई तीव्रता दिइएको हो’, महानिर्देशक सुवेदीले भने, ‘मास्क लुकाउने र बढी मूल्यमा बेचेको पाइए कारवाही र जरिवाना दुवै गर्छौं ।’

सप्लायर्सले मास्क, स्यानेटाइजरलगायत सामग्रीको भण्डार गरेर (लुकाएर) राख्ने र बजारमा कृत्रिम अभाव सिर्जना गरेको पाइएको विभागले जनाएको छ । कारवाही गरेका सबै सप्लायर्सहरुलाई विभागले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरेको महानिर्देशक सुवेदीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस