मास्कमा कालोबजारी : दुई औषधि पसलमा तालाबन्दी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

मास्कमा कालोबजारी : दुई औषधि पसलमा तालाबन्दी


२२ फाल्गुन २०७६, बिहिबार


पोखरा । कोरोना भाइरसको त्रास बढिरहेका बेला पोखराका औषधि पसलेले तेब्बर रुपैयाँसम्म मास्क बेचबिखन भइरहेको पाइएको छ। गण्डकी प्रदेश बजार अनुगमन समितिले बिहीबार गरेको अनुगमनले त्यस्तो देखाएको हो। मास्को कालोबजारी गरेको आरोपमा २ औषधि पसलमा समितिले तालाबन्दी गरेको छ।

चल्तीको बजार महेन्द्रपुलस्थित स्याङ्जा औषधि पसल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सामुन्नेको परी औषधि पसलमा समितिले ताला लगाएको हो। दुवै पसलले महँगोमा मास्क बिक्री गरेको फेला परेको थियो। स्याङ्जा औषधि पसलले एन ९५ अंकित मास्क ४ सय ५० रुपैयाँसम्ममा बेचेको फेला परेको थियो। उक्त मास्कको बजार मूल्य भने २ सय रुपैयाँमात्रै हो।

पसल बन्द गराएपछि बजार अनुगमन टोलीले उक्त पसलका सञ्चालक केदार पोखरेललाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन ३ दिने म्याद दिएको छ। परी औषधि पसलले १० रुपैयाँ पर्ने साधारण मास्कलाई ३० रुपैयाँमा बिक्री गरेको भेटिएको थियो। उसले बेचेको सर्जिकल मास्कको खास बजार मूल्य १० रुपैयाँमात्रै हो। उक्त पसलका सञ्चालकलाई पनि बजार अनुगमन टोलीले प्रशासनमा हाजिर हुन निर्देशन दिएको छ।

प्रदेशको टोलीले बिहीबार पोखराका थुप्रै औषधि पसलमा अनुगमन गरेको थियो। टोलीमा उपभोक्तासमेत सामेल थिए। महँगोमा मास्क बिक्री गरेका पसलमा मौत्जाद बाँकी थियो। अरुमा भने मास्क अभाव थियो।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका सदस्य सचिव बरालका अनुसार मास्कको कालोबजार भइरहेको गुनासो आएपछि अनुगमन गरिएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस