सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा, पश्चिमी मूल नहरको भविष्य अन्योलमै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सिक्टा सिँचाइ आयोजना तीव्र गतिमा, पश्चिमी मूल नहरको भविष्य अन्योलमै


१२ फाल्गुन २०७६, सोमबार


बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको पश्चिमी मूल नहरको भविष्य अन्योलमै छ । नहरमा मर्मतपछि चार क्युमेक्सभन्दा बढी पानी थेग्न सक्छ भन्ने विश्वास आयोजनाका प्राविधिकहरुमा छैन । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् ।

पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट नौ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । जीर्ण पश्चिमी नहर मर्मत गरेर बढीमा तीन घनमिटर प्रतिसेकेण्ड (क्युमेक्स) सम्म पानी सञ्चालन भएको छ । आयोजनाले कुन विधिबाट, कसरी मर्मत गर्दा नहर टिकाउ हुन्छ भन्ने यकिन गर्न सकेको छैन ।

पश्चिमी नहरको सिँचाइ हुने ३३ हजार ७६६ हेक्टरमा क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउन ५० क्युमेक्स पानी आवश्यक पर्छ । शाखा नहर निर्माण नभएकाले नहरको पानी सिधै किसानका खेतबारीमा जाने अवस्था छैन । मर्मत गरेर सञ्चालन गरेको नहरको पानी शाखा नहर र पम्पसेटबाट तानेर गरी करिब दुई हजार ५०० हेक्टरमा मात्र सिँचाइ पहुँच भएको छ ।

यो कूल सिँचाइ लक्ष्यको करिब पाँच प्रतिशत मात्र हो । पछिल्लो समय पूर्वीनहर निर्माण र पश्चिमी नहर मर्मतको काम जारी छ । नहरको केन्द्रीय अनुगमनका नाममा वर्षेनी करिब रु डेढ करोड खर्च हुँदै आएको छ । २०७६ मङ्सिरसम्ममा आयोजनाको निर्माण कार्य ६० प्रतिशतमात्र पूरा भएको छ । यसमा करिब रु १६ अर्ब खर्च भएको जनाइएको छ । यतिधेरै रकम खर्च भइसक्दा पनि न मूल नहर दर्बिलो छ, न अब बन्ने शाखा नहर गुणस्तरीय बन्ला भन्नेमा प्रत्याभूति नभएको स्थानीयले जनाएका छन् । नहर निर्माणका नाममा सरकारले वर्षेनी करिब रु डेढ अर्ब छुट्याउने गरे पनि गुणस्तरीय काम हुन सकेको देखिँदैन । राष्ट्रिय चासोको यो आयोजनालाई चालु आर्थिक वर्ष २०७६/०७७ मा रु एक अर्ब ५२ करोड बजेट छुट्याइएको छ ।

निर्माण सम्पन्न गरेर हस्तान्तरण नगर्दै पश्चिमी मूल नहरमा समस्या देखिएको हो । पूर्वी मूल नहरमा काम शुरु भएको करिब तीन वर्ष मात्रै भएको छ । यो नहरको निर्माण कार्य २०७६ मङ्सिर १५ गतेसम्म पूरा हुनुपर्ने थियो । तर ठेक्का सकिँदासम्म करिब ४५ प्रतिशतमात्र काम भएको छ । यसले गर्दा यहाँको उर्वर जमिन आकाशे पानीको भरमा छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अनुसार सिँचाइ सुविधा नहुँदा अझै जिल्लाका करिब ४६ हजार किसान आकाशे पानीका भरमा खेती गर्न बाध्य छन् । पछिल्ला वर्षमा खडेरी र अत्यधिक वर्षाले किसान समस्यामा पर्दै आएका छन् । सिँचाइको उचित व्यवस्था नहुँदा किसानलाई खेतीबाट लागत खर्च उठाउनसमेत हम्मेहम्मे भएको छ ।

यहाँका करिब ६५ प्रतिशत जनता कृषिमा आश्रित छन् । यहाँको खेतीयोग्य उर्वर जमिनमा सिँचाइ सुविधा पु¥याएर किसानको प्रतिव्यक्ति आय रु एक हजार ४९२ बाट बढाएर रु चार हजार ५६५ पुर्‍याउने लक्ष्य साथ शुरु भएको सिक्टा सिँचाइ आयोजनाको लक्ष्यअनुसार काम नहुँदा यहाँका किसानले वर्षेनी करोडौँको नोक्सानी ब्येहोर्दै आएका छन् ।

भारतबाट खाद्यान्न आयात वर्षेनी करिब १५ प्रतिशतका दरले बढ्दै गएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आव २०७५/०७६ मा मात्र रु छ अर्ब ४७ करोड मूल्य बराबरको चामल आयात भएको छ । भन्सार कार्यालयका अनुसार गत आवमा सबैभन्दा बढी आयात हुने खाद्यान्नमध्ये चामल तेस्रोमा पर्छ । गत आवमा एक लाख २४ हजार २७० मेट्रिक टन चामल आयात भएको कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताए ।

बालुवा र गिट्टीमा चुन मिसाएर बनाएको घोल भ्वाङमा हाल्ने, वर्षाका बेला भलले नहरका किनारामा पुर्‍याउन सक्ने क्षति रोक्ने काम गर्ने र नियमित मर्मतसम्भार गर्नुपर्ने सुझाव विज्ञको टोलीले दिएको छ ।

पछिल्लो समयमा निर्माण कम्पनी कुमार कालिका जेभीले कामको गति तीव्र पारेकाले कारण म्याद थप भएको मितिमा काम सम्पन्न हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । ठेक्काको म्याद सकिएको करिब एक महिनापछि पुसको १७ गते ठेक्काको म्याद १४ महिनाअर्थात् २०७७ पुससम्म थपिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस