गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालको अबको युग आर्थिक क्रान्तिको युग हुने बताएका छन् । गोरखाको सिराचोक गाउँपालिका–६ मा आज आयोजित कार्यक्रममा उनले राजीतिक परिवर्तनलाई माध्यम बनाएर आर्थिक क्रान्तिको प्रक्रिया अगाडि बढाउन दृढतापूर्वक सरकार अगाडि बढिरहेको बताए ।
प्रवक्ता श्रेष्ठले सरकार बनेको दुई वर्षमा सबै कुराको विकास सम्भव नभएको पनि बताए । जनताको जीवनस्तर नै परिवर्तन गर्न दुई वर्षको समय पर्याप्त नभएको उनको भनाइ थियो । ‘नेपाली जनताले देशको आर्थिक परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीलाई दुई तिहाइको मत दिएर सरकारमा पठाएको हो’, प्रवक्ता श्रेष्ठले भने, ‘यसमा जनताको ठूलो आशा र भरोसा छ तर त्यो अहिले नै सबै पूरा गर्न सजिलो छैन ।’
उनले नेकपा नेतृत्वको सरकार गठन भएदेखि नै देशलाई आर्थिक समृद्धिको दिशातर्फ लैजाने गरी योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अघि बढेको उल्लेख गरे ।
नयाँ संविधानले नागरिकको मौलिक अधिकारलाई संविधानमा लिपिबद्ध गरिसकेको भन्दै उनले अब त्यसको प्राप्तिका लागि सरकारले काम शुरु गरेको बताए । ‘मौलिक अधिकार संविधानमा मात्र सीमित नगरी हरेक जनताले भोग गर्न पाउने गरी कानून बनाउने काम सकेका छौँ’, प्रवक्ता श्रेष्ठले भने ।
‘ठूलो राजनीतिक परिवर्तनपछि राजनीतिक क्रान्तिलाई सफल गरी देश आर्थिक क्रान्तिको युगमा प्रवेश गरेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘आर्थिक विकासको दिशातिर देशलाई लैजानु नै आर्थिक क्रान्तिमा फड्को मार्नु हो, देशलाई समृद्ध मुलुक बनाउनु हो, यसबाट आम नागरिकले उपभोग गर्न पाउने खालको नयाँ ढङ्गको विकास हुन्छ । हिजो राजतन्त्र थियो, सामान्तवाद थियो, हजारौँसहित बेपत्ता घाइतेको बलिदानमा निरङ्कुशतन्त्र अन्त्य देशलाई नयाँ युगमा लैजान खोजिएको छ, त्यो युग भनेको नेपालका लागि आर्थिक क्रान्तिको युग हुनेछ’, उनले भने ।
शिक्षामा गुणात्मक परिवर्तन नगरेसम्म विकासको पूर्वाधार खडा गर्न नसकिने प्रवक्ता श्रेष्ठको भनाइ थियो । उनले घरदैलोमा रहेका सामुदायिक विद्यालय कलेजले आम नागरिकलाई गुणात्मक शिक्षा प्रदान गर्न सकेमात्र शिक्षामा गुणात्मक विकास भएको मान्न सकिने बताए ।