म, अच्किल्टा सपना अनि अन्तिम सत्य ! « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

म, अच्किल्टा सपना अनि अन्तिम सत्य !


३ फाल्गुन २०७६, शनिबार


आफ्नै छायाँजस्तै हरदम,
मृत्यु अंगालेर हिंडेको छु प्रिय !
उसलाई खुश परुञ्जेल त म,
तिम्रै न्यानो अंगालोमा रहुँला !
तर …
‘ऊ’ ठुस्किएपछि…?

अनेकौं कमजोरी बोकेर साथमा,
लोभ, मोह, अभाव र दबावबीचमा
अलिकति मुस्कुराउन खोजेको,
म एउटा जंगली फूल !
खै ! कतिन्जेल रिझाउन सकूँला र उसलाई ?
अनि तिमीलाई …?

मलाई थाहा छ प्रिय
आफ्नै काल आफैंसँग ठुस्किएको दिन
म हाँस्दा हाँस्दै भुसुक्कै निदाउनेछु,
र बाँच्दा बाँच्दै अनायासै सिद्धिनेछु।
अनि तिमी नि…?
अजम्बरी त शायदै छैनौ होला !

आज तिमी अर्कोलाई पछारें भन्ठानेर
दङ्ग परौला !
उसले पनि सजिलै स्वीकार्ला तिम्रो जय ।
र भन्ठान्ला;
“म काबिल थिइनँ वा हुन चाहिनँ र त पछारिएँ !”
तर भोलि तिमीलाई पनि त …
मृत्युले नाङ्गै चितामा पछार्छ नि होइन र ?

पैसाको बिटा र शक्तिको छिटाले
केही दिन, केही हप्ता र महिना
उसलाई जरुर अल्मल्याउन सकिएला !
तर यहाँ नमर्न सक्ने हैसियत र ताकत
हिंजो कसैसँग थिएन,
आज छँदै छैन ।
र भोलि पनि पक्कै हुनेछैन, हैन र प्रिय ?

आज अगेनोको छेउमा बसेकाहरूले
शंकाकै भरमा जो कोहीलाई पनि
झर्झराउँदो अगुल्टोले
झटारो हान्नु अगाडि,
किन आफ्नो शुद्धि गुमाउँछन् प्रिय ?
र किन भुल्छन् ?
समय सकिएपछि आफ्नो,
आफूलाई पनि त्यही आगोले
भष्म बनाउनेछ भन्ने शास्वत यथार्थ ?
अनि किन मान्छे,
सधैं मान्छे भइरहन सक्दैन प्रिय ?

के मान्छे इमान जमान, नैतिकता र सदाचारको
मन्त्र जपेर मुखमा;
हृदयभरि प्रतिशोध, द्वेश र घृणाले लपेटिएको
शक्ति, सम्पत्ति र सानका खातिर,
विवेक यदि हुन्छ भने …
बन्धकी राख्न पनि पछि नहट्ने,
अ/कुरुप मांशपिण्ड र अस्थिपञ्जरको
एउटा अ/सुन्दर थुप्रो मात्रै हो त प्रिय ?

अनि प्रिय !
तिमी नै भन न;
के हिन्दू धर्मशास्त्रका
ठूलठूला र पवित्र ठेलीहरूमा
वर्णित अती क्रुर असूरहरूका
जिउँदा जाग्दा र असली प्रतिमूर्ति भनेका
के यी नै नरमुण्डधारी मान्छेहरू नै हुन् त ?

सुनेथें कतै; “अन्तिममा सत्यको जीत हुन्छ;
र यदि भएन भने अझै अन्तिम भएकै छैन”।
हो !
म पनि समहत नभइरहन सक्दिनँ
यदाकदा,
उल्लिखित उक्तिसँग ।

र बिस्तारै उद्घाटित हुँदै गएपछि त प्रिय !
तिमीले, मैले वा उसले दावी गरेको
अकाट्य र अभेद्य सत्य त
केही दिन, हप्ता र महिनासम्म पनि नटिक्ने
केवल क्षणिक भ्रम मात्रै त ठहर्ने रहेछ !

प्रिय ! तिम्रो, मेरो, उसको
कसैको कद र पदको कुनै ख्यालै नगरी
बिना आग्रह र बिना कुनै पूर्वाग्रह
मिति पुगेसी कुनै बार र तिथि समेत नहेरी
एक्कासी घाँटि निमोठ्ने
र मै हुँ भन्नेहरूका समेत
सबै अहम्,
आफ्नै पाइतालामुनिको माटोमा मिलाएर
सुकेको मुठो झैं डङरङ्ग लडाइदिने,
हैसियत र ताकत समेत भएको
मृत्यु !
हो! ऊ नै त रहेछ;
अन्तिम र एउटै मात्र शाश्वत सत्य !
प्रिय !
अरू त सबै तपसिलका न रहेछन्।

जसरी एउटा कोमल फूल
हावाको एक सानो झोक्कामै
अनायासै हाँगाबाट भुइँमा झर्छ,
उसैगरी एउटा बान्किलो जीवन
अघाउँजी बाँच्न र धीत मरुञ्जेल हाँस्नै नपाई
चितामा लमतन्न पर्छ ।

आखिर !
तिमीले भन्ने गरेका ती भोलि अनि भविष्य भनेका त,
तन्द्रामै त्यान्द्रिएका,
काँचा अनि अच्किल्टा सपना मात्रै त रहेछन्।
जसको त न कुनै लक्षण हुन्छ,
न भरोषा नै बाँकी रहन्छ ।

त्यसैले प्रिय !
खुलेर हाँस्न र चाहेजस्तै बाँच्न
भयो भोलिलाई नसाँचौं,
बिना कुनै शर्त र नबोकेर कुनै स्वार्थ,
आऊ अंगालोमा !
अनि बाँचुन्जेल सँगसँगै हाँसौं,
र हाँसुन्जेल साथ साथै बाँचौं।

Tags :
प्रतिक्रिया दिनुहोस