अनाहकमा ज्यान गुमाएका सहिद र तिनका परिवारको न्यायोचित मूल्यांकन हुनुपर्छ : उपाध्यक्ष गौतम « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अनाहकमा ज्यान गुमाएका सहिद र तिनका परिवारको न्यायोचित मूल्यांकन हुनुपर्छ : उपाध्यक्ष गौतम


१ फाल्गुन २०७६, बिहिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताए ।

उनले अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दावी गरे । जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।

उपाध्यक्ष गौतमले जनयुद्धकालमा मारिएका तीन सय भन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्यांकन हुनुपर्ने बताए ।

जनयुद्धका नाममा तत्कालिन नेकपा (एमाले) का दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको जनमुक्ति सेनाको तर्फबाट हत्या भएको र नेपाली सेनाले पनि पूर्वएमालेका सयभन्दा धेरै नेता र कार्यकर्तालाई मारेको उनले स्मरण गरे।

‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए । सबैलाई बाटो ढुकेर पक्राउ गरी हत्या गरिएको थियो ।’उपाध्यक्ष गौतमले कुनै पनि नाममा निशस्त्र र निहत्था व्यक्तिलाई पक्राउ गरी मार्न नपाइने उल्लेख गर्दै क्रान्तिकारिताको नाममा त्यस्तो व्यवहार नाममा गर्नु अनुचित हो भने ।

उनले झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका पनि स्मरण गरे । भने, ‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएकोे व्यक्ति हत्या गलत थियो र वर्ग शत्रु खत्तम पाने लाइन गलत छ ।’

स्मरणीय छ, २०३८/०३९ सालमा पुगेर तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटीले झापा विद्रोहमा ल्याएको वर्गशत्रु खत्तम पार्ने लाइन गलत थियो भनेर सच्याएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस