बालुवाटार प्रकरण सुशासन कायम गर्ने पाइला : मन्त्री अर्याल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बालुवाटार प्रकरण सुशासन कायम गर्ने पाइला : मन्त्री अर्याल


१ फाल्गुन २०७६, बिहिबार


पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छन् । सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रवर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

उनले बालुवाटार प्रकरण मुलुकमा सुशासन कायम गर्ने पाइला भएको बताइन् । ‘मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइला हो बालुवाटार प्रकरण । सरकारले अहिले प्रकृया अगाडी बढाएको छ’, मन्त्री अर्यालले भनिन्,‘यसबारेमा धेरैले निकै प्रश्न गरे । २ पटक मैले संसदमा जवाफ दिए । अहिले बालुवाटारमाथिको एक्सन हुदा केही उफ्रिरहेका छन् किन ’

मन्त्री अर्यालले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने बताइन् । उनले भनिन्, ‘सरकार सुशासन कायम गर्ने दिशामा छ । बालुवाटारको जग्गा सहकारी नै हो सरकारी नै बनाइन्छ ।’

बालुवाटार मात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउदै मन्त्री अर्यालले २६४ विघा सरकारी जग्गा कानुनी रुपमै फिर्ता गरिसकेको बताइन् । १३ विघा फिर्ताको अन्तिम तयारीमा रहेको भन्दै उनले ४६७ विघा जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रकृया अगाडी सारिसकेको मन्त्री अर्यालले बताइन् ।

जमिन संरक्षणको अभियान चलाइरहदा जोसुकै परेपनि परोस् भनेर सुशासनका निम्ती सरकार अगाडी बढेको उनको भनाइ थियो ।

मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जमिनको प्रोफाइल तयार गर्न लागेको भन्दै उनले सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा लाग्न स्थानीय तहका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गरिन्।

समावेशिता र समानता सहकारीको मूल ध्ये भएको भन्दै मन्त्री अर्यालले सहकारीले समाजवादको मूल सिद्धान्तलाई फलो गर्दै आएको बताइन् । समाजवाद प्राप्त गर्न सहकारी एउटा महत्वपुर्ण पक्ष भएको भन्दै उनले यसका बारेमा बुझ्न आवश्यक रहेको बताइन् । ‘समाजवादमा जानका निम्ती धेरै आधारसहितको मार्गदर्शन सहित स्पष्ट दिशा निर्देश सहकारीले गरेको छ । सहकारीलाई माध्यम बनाएर अगाडी बढाउ है भनेर अझ बढी बुझाउन मन्त्रालयले चाहेको’ मन्त्री अर्यालले भनिन् । जनस्‍तरबाटै यो कुराको सुरुआत गरिनुपर्ने उनको भनाइ थियो ।

सामाजिक रुपान्तरण सहित आर्थिक विकास गरेर कसरी जाने भनेर मन्त्रालयले एउटा डकुमेन्ट तयार गर्दै गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।

कृषि सहकारी मार्फत उत्पादन गरेर त्यसको प्रवर्द्धन गर्ने कुरा मौलिक पक्ष भएको बताउदै मन्त्री अर्यालले उत्पादनमा किसानहरुको आकर्षण सकारात्मक पक्ष भएको बताइन्। ‘कृषि सहकारीका माध्यमबाट किसानहरुले जुन व्यवसायिकताको शुरुआत गर्नुभएको छ । त्यसका निम्ती बजारको ग्यारेन्टी गर्नुपर्ने अवस्था छ’, मन्त्री अर्यालले भनिन्,‘यसमा स्थानीय, प्रदेश तथा केन्द्र सरकारले बजारको ग्यारेन्टी गरिदिँदा अझ उत्पादन बढ्न सक्ने अवस्था देखिन्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस