कोरोनाभाइरसको आधिकारिक नाम कोभीड–नाइनटिन : डब्लुएचओ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोनाभाइरसको आधिकारिक नाम कोभीड–नाइनटिन : डब्लुएचओ


२९ माघ २०७६, बुधबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरसको आधिकारिक नाम दिएको छ । अब कोरोनाभाइरसको संक्रमणलाई कोभीड–नाइनटिन भनिनेछ ।

यो भाइरसको संक्रमणलाई विश्वको लागि ठूलो चुनौति बताउँदै डब्लुएचओले यसलाई रोक्ने सम्भावना अझै रहेको जिकिर गरेको छ । मङ्गलबार जेनेभामा पत्रकारहरुसँग कुराकानी गर्दै डब्लुएचओका प्रमुख तेद्रोस अधानोम घेब्रेइससले भने, ‘हामीले यस रोगलाई नाम दिएका छौँ कोभीड–नाइनटिन,’

तेद्रोसका अनुसार कोभीड–नाइनटिनमा ‘सीओ’ को अर्थ कोरोना, ‘भीआई’ को अर्थ ‘भाइरस’ र ‘डी’ को अर्थ डिजिज (रोग) हो । १९ को अर्थ यो रोग शुरुवात भएको वर्ष हो । यो रोग सन् २०१९ को डिसेम्बर ३१ मा सबैभन्दा पहिले पत्ता लागेको थियो । यसअघि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले यसलाई नोभेल कोरोनाभाइरस निमोनिया (एनसीपी) नाम दिने बताएको थियो ।

यस रोगबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबारसम्म १ हजार १ सय १३ पुगेको छ । मंगलबार मात्र थप ९७ जनाले ज्यान गुमाएका छन् । यस रोगको केन्द्रविन्दु मानिएको हुबेइमा नै ९४ जनाले ज्यान गुमाएका थिए ।

चीनभर थप २ हजार १५ जना नयाँ बिरामी थपिएका छन् । जनवरी ३० यता नयाँ बिरामी थपिने दर यो सबैभन्दा न्यून हो । हालसम्म यसबाट ४४ हजार ६ सय ५३ जना संक्रमित भएका छन् । एजेन्सी

Tags :
प्रतिक्रिया दिनुहोस