नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

नेपाल लाइफको स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन कार्यक्रम सम्पन्न


प्रशासन विशेष ब्युरो

२७ माघ २०७६, सोमबार


काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइतबार काठमाडौँमा ‘स्किल डेभलपमेन्ट एन्ड मोटिभेसन प्रोग्राम’ सम्पन्न गरेको छ ।

कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले पानसमा बत्ती बालेर समुद्घाटन गरेका थिए ।

आफ्ना अभिकर्ताहरुको क्षमता अभिवृद्धि गर्ने तथा उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सिइओ झाले नेपाल लाइफ इन्स्योरेन्सको ब्रान्ड एम्बेस्डर भनेकै देशका कुना कुनामा पुगेर जीवन बिमाका बारेमा सचेतना फैलाउने सम्पूर्ण अभिकर्ता भएको बताए । त्यसैले कम्पनीले सक्रिय अभिकर्ताहरु अझ बढाएर चालू आवमा दोब्बर गर्ने लक्ष्य राखेको सिइओ झाले बताए ।

बिमाबाटै देशको समृद्धि, नागरिकको भविष्यमा आइपर्ने जोखिम न्यूनीकरण र अभिकर्ताको पनि भविष्य निर्माण गर्न सकिने उनको कथन थियो ।

सो अवसरमा सिइओ झाले बिमा गराउनुभन्दा पहिले बिमा गर्ने व्यक्तिको आर्थिक स्थिति बुझेर, जीवन बिमाको आवश्यकता महसुस गराएर मात्र बिमा गराउन सुझाव दिए । उनले सस्तो लोकप्रियताभन्दा गुणस्तरीय सेवा प्रवाह तथा दीर्घकालीन लाभमा नेपाल लाइफले ध्यान दिने बताए ।

सिइओ झाले भने, ‘बिमा विश्वासमा हुन्छ, अभिकर्ताको बोलीमा हुन्छ, त्यसैले सबै अभिकर्ताले बिमा के हो र किन आवश्यक छ भन्ने चेतना आम नागरिकमा जगाउनुपर्छ । साथै बीमितको विश्वासमा आँच आउने काम गर्नु हुँदैन । त्यसपछि मात्र आम नागरिकमा बिमा गर्नुपर्छ भन्ने चेतनाको विकास हुन्छ, हरेक व्यक्ति बिमामा आबद्ध हुन चाहन्छन् र आफैँ अभिकर्ताको खोजी गर्दै आउनेछन् ।’

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले स्वागत मन्तव्य राख्दै कम्पनीलाई यो अवस्थासम्म ल्याइपु¥याउने श्रेय सम्पूर्ण अभिकर्ताहरुको रहेको बताउँदै सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गरे । सम्पूर्ण अभिकर्ताहरुले आम नागरिकलाई बिमाका बारेमा बुझाएर मात्र बिमा गराउन उनको सुझाव थियो ।

पेसागत बिमा अभिकर्ता सङ्घ केन्द्रीय समितिका अध्यक्ष नन्दप्रसाद तिवारीले अभिकर्ताहरु र कम्पनी दुवै पक्षको सहकार्यले नै कम्पनीले यो सफलता हात पारेको दाबी गरे ।

त्यस्तै, पेसागत बिमा अभिकर्ता सङ्घ बीमक समिति (नेपाल लाइफ) का अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफको उच्च व्यवस्थापनको सही निर्णयले नै कम्पनीले उच्च स्थान हासिल गर्न सकेको बताए ।

कार्यक्रममा सगरमाथाको आरोहण गर्ने पहिलो नेपाली फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सम्मान गरिएको छ । मिसन २०२० अन्तर्गत अन्नपूर्ण–१ चढ्ने तयारीमा रहेकी श्रेष्ठले आमादाब्लम, मनासलु हिमालको सफल आरोहण गरिसकेकीछिन् । सो अवसरमा पत्रकार श्रेष्ठले आप्mनो सफलताको कथा सुनाएकी थिइन् ।

कार्यक्रममा मोटिभेटर बालकृष्ण शर्माले प्रशिक्षण दिएका थिए । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक उमापति पोखरेल, प्रशासन एवं मानव संसाधन प्रमुख सोन बहादुर मगर र कम्युनिकेसन तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले उत्कृष्ट व्यवस्थापन गरेका थिए । कार्यक्रम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रीय प्रमुख दिवाकर बरालको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रममा १ हजार ५ सय भन्दा बढी सक्रिय अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

जीवन बिमा कम्पनीहरूमध्ये करिब एक तिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको चुक्तापूँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक रू. ५ अर्व ५० करोड रहेको छ भने लगानी रू. ८२ अर्व ५९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जीवन बिमा कोष ७२ अर्व ३३ करोड रुपैयाँ र शेयर धनी कोष ८ अर्व ५७ करोडभन्दा बढी रहेको छ । कम्पनीले यस आर्थिक वर्षको मध्य सम्ममा जम्मा रू. १४ अर्व ७ करोड बिमा शुल्क सङ्कलन गरेको छ । १ लाख ४७ हजार ४२ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका २ सय शाखा तथा उप शाखा कार्यालयहरू मार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी २७ लाख २ हजार ३ सय व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरूसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस