विधि प्रक्रिया र कानूनका आधारमा सरकार अघि बढ्दै : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विधि प्रक्रिया र कानूनका आधारमा सरकार अघि बढ्दै : मुख्यमन्त्री गुरुङ


प्रशासन संवाददाता

२४ माघ २०७६, शुक्रबार


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विधि प्रक्रिया एवम् ऐन कानूनका आधारमा प्रदेश सरकार अघि बढेको बताएका छन् ।

गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ उन्मुख रहेको बताए । आवश्यक भौतिक संरचना निर्माण, स्वास्थ्य, शिक्षा, पर्यटन प्रवर्द्धन, खेलकूदको विकाससँगै सुशासनको प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताउँदै उनले सरकारले विकास र समृद्धिका लागि गोरेटो समातिसकेको छ भने ।

प्रदेश सरकार जनताको नजीकको सरकार भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले संघीयताको मर्म र भावनाका साथै जनताले अपेक्षा गरेको समृद्धि र विकासको चाहना पूरा गर्नेतर्फ सरकार उन्मुख रहेको धारणा राखे । संघीय शासन प्रणालीअनुसार संघ सरकारले प्रदेशको भावनालाई मनन गरेसँगै विश्वास पलाएको बताउँदै उनले यसले प्रदेशसभा र सरकारको प्रभावकारिता बढेको बताए ।

सभामा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले अन्नपूर्ण आधार शिविरअन्तर्गत पदयात्राका क्रममा बेपत्ता भएका सातजनाको खोजीका लागि बिहीबार २५ जना पर्वतारोहीको टोली त्यसतर्फ पठाइएको बैठकमा जानकारी दिए ।

माघको २ गते परेको हिउँका कारण पदयात्रामा गएका तीन नेपाली र चार कोरियाली नागरिक बेपत्ता भएको स्मरण गर्दै उनले लगातार हिउँ परेका कारण उद्धारमा कठिनाइ परेको बताए ।

पदमार्गलाई सुरक्षित बनाउने उद्देश्यका साथ प्रदेश सरकारले रु एक करोड ५० लाखको लागतमा विभिन्न तीन स्थानमा उद्धार केन्द्र स्थापना गर्ने तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री चुमानले त्यसका लागि फागुन महिनाबाट काम शुरु हुने विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस