ललितपुरमा घर नम्बर राख्ने काम अघि बढ्यो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ललितपुरमा घर नम्बर राख्ने काम अघि बढ्यो


२२ माघ २०७६, बुधबार


ललितपुर । ललितपुर महानगरपालिका–३ बाट मेट्रिक ठेगाना प्रणालीअनुसार घर नम्बर राख्ने काम अघि बढेको छ । महानरपालिका प्रमुख चिरिबाबु महर्जनले मङ्गलबार तीनवटा नम्बरप्लेट ‘१८७३ सत्यमोहन जोशी मार्ग’ महानगरपालिकाको कार्यालयमा, ‘२९१ पुल्चोक झम्सीखेल मार्ग’ वडा नं ३ को कार्यालयमा र ‘३५ भनीमण्डल मार्ग’ लिखित प्लेट सेन्टमेरिज विद्यालयको गेटमा टाँसेर उक्त कामको शुभारम्भ गरेका हुन् ।

ग्वार्कोबाट महानगरपालिकाको पछाडि उत्तरी गेटसम्म मापन गरिएको १८७३ नम्बरप्लेटको दूरी हो । यसैगरी २९१ नम्बरप्लेट झम्सीखेल चोकबाट वडा नं ३ को वडा कार्यालयसम्म र ३५ नम्बरप्लेट भनीमण्डल चोकदेखि सेन्टमेरिज विद्यालयको गेटसम्मको दूरी रहेको महर्जनले जानकारी दिए । उनले भने, ‘महानरपालिकाका घरघरमा नम्बरप्लेट राखेपछि एक स्थानबाट अर्को स्थानमा सजिलै पुग्न सकिन्छ । वडा नं ३ मा पाँच हजार घरधुरी रहेका हुँदा हाललाई परियोजनाका रूपमा हामीले पहिला यहाँका एक हजार घरमा नम्बरप्लेट राख्ने छौँ ।’ परियोजना अघि बढाउँदै जाँदा काम गर्न समस्या भएन भने यसैअनुरूप दोस्रो चरणको काम अघि बढाइने उनको भनाइ थियो ।

घर नम्बर प्रणालीको विकासले घर पत्ता लगाउने समस्याको अन्त्य भई स्मार्टसिटीको परिकल्पना सकारात्मक बनाउन सहयोग गर्ने महर्जनको बुझाइ छ । महानगरपालिकाका वरिष्ठ इञ्जिनीयर तथा नक्सा शाखा प्रमुख श्रीकुमार महर्जनले महानगरपालिकाले उक्त कामलाई दुई चरणमा अघि बढाउने बताए। उनले भने, ‘हामीले जियो–नेष्ट–इन्डेको जेभी नामक तीन संस्थासँग सहकार्य गरेर पहिलो चरणमा घरको सङ्ख्या गणना गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, हरेक वडा, टोल, सडक र गल्लीमा नाम दिएका छौँ ।’ नगरपालिकामा रहेका अन्य ८७ घरलाई दोस्रो चरणको योजना बनाएर नम्बरप्लेट राखिने महर्जनले बताए ।

महानगरपालिकाका परामशर्दाता ईश्वरमान जोशीले महानगरपालिकामा रहेको हिलो र धुलोका कारण घर गन्ती गर्न निकै समस्या परेको बताउनुभयो । उहाँले भने, ‘महानगरपालिकाभित्र कूल ८८ हजार घर छन् । यी घरमध्ये ५८ हजार ४२३ आवासीय घर र बाँकी अन्य करीब ३० हजार घर व्यापारिक महल आदि छन् ।’

नम्बरप्लेट राख्न इच्छुक व्यक्तिले घरजग्गाको कर तिरिसकेको हुनुपर्ने र प्रतिनम्बरप्लेट जडान गरेवापत एउटा घरले रु एक हजार तिर्नुपर्ने जनाइएको छ । कार्यक्रममा महानगरपालिकाभित्र वार्षिक दुई हजार घर थपिँदै गएको, पहिलो चरणको परियोजनामा रु चार करोड २१ लाख ३० हजार खर्च भइसकेको र दोस्रो चरणको काम अघि बढाउन बोलपत्र आह्वान गरिने र यसमा रु नौदेखि १० करोड खर्च लाग्ने जानकारी दिइयो ।

Tags :
प्रतिक्रिया दिनुहोस