शहीद स्मारक लिग : पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शहीद स्मारक लिग : पुलिसलाई हराउँदै आर्मी शीर्ष स्थानमा


प्रशासन संवाददाता

१९ माघ २०७६, आइतबार


काठमाडौं । नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा पुगेको छ । दशरथ रङ्गशालामा आज भएको दोस्रो खेलमा आर्मीले पुलिस क्लबलाई ४–२ गोलले हराएको हो ।

आर्मीका लागि नवयुग श्रेष्ठले दुई तथा सुमन अर्याल र सुदिल राईले एक एक गोल गरे । पुलिसका लागि बुद्धबल तामाङ र मानबहादुर परियारले एक एक गोल गरे । आर्मीले उत्कृष्ट खेल प्रदर्शन गर्दै पुनः लिगको शीर्ष स्थानमा आफूलाई कायम राख्यो ।

पुलिसले अग्रता लिँदै खेलको २०औँ मिनेटमा बुद्धबल तामाङले पहिलो गोल गरेका थिए । कप्तान नीरकुमार राईको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए । खेलको २१औँ मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पहेलो कार्ड पाएका थिए । खेलको २४औँं मिनेटमा आर्मीका कप्तान भरत खवासको प्रहार खेर गयो । पुलिसका गोलरक्षक रोशन खड्काले उक्त प्रहारलाई सहजै रोके।

यस्तै खेलको ३५औँ मिनेटमा आर्मीका लागि सुमन अर्यालले पहिलो गोल गरे । सन्तोष तामाङको फ्रिकिकमा आएको बललाई सुमनले हेडमार्फत गोल गरेका हुन् । खेलको ४३औँ मिनेटमा भरत खवासले उत्कृष्ट प्रहार गरेको थियो तर गोल हुन भने सकेन् । यस्तै खेलको ५८औँ मिनेटमा पुलिसका मानबहादुर परियारले गोल गर्दै पुलिसलाई २–१ को अग्रता दिलाए । नीरकुमार राईको फ्रिकिकमा उनले गोल गरेका हुन् ।

खेलको ७७औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा पुर्‍याए । यस्तै खेलको ७९औँ मिनेटमा नवयुगको प्रहार खेर गयो । खेलको ८५औँ मिनेटमा नवयुगले नै आर्मीका लागि व्यक्तिगत दोस्रो गोल गरे।

खेलको ८९औंँ मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ४–२ गोलले जिताए । आर्मीले १० खेलमा सात खेलमा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै २३ अङ्क बटुलेको छ । यस्तै पुलिस १० खेलमा चारमा जित, दुईमा हार तथा चार खेलमा बराबरी खेल्दै १४ अंकसहित सातौँ स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस