नेकपा केन्द्रीय कमिटी बैठक : आजदेखि समूहगत छलफल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपा केन्द्रीय कमिटी बैठक : आजदेखि समूहगत छलफल


१६ माघ २०७६, बिहिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा आजदेखि समूहगत छलफल हुने छ ।

राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा आजदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको छ ।

महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरेका थिए । त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैठकको पहिलो दिन सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन । कार्यक्रमको शुभारम्भ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उद्घाटनपछि केहीबेरलाई स्थगित भएर पुनः बैठकको बन्दसत्र शुरु भएको थियो ।

उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि आज (बिहीबार)देखि नै समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि छ ।

यस्तै, बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्न दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ । बैठक माघ १५ देखि १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म चल्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस