कोरोना भाइरसको परीक्षण नेपालमै हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कोरोना भाइरसको परीक्षण नेपालमै हुने


१३ माघ २०७६, सोमबार


काठमाडौँ । कोरोना भाइरसको परीक्षण एकसाताभित्र नेपालमै हुने व्यवस्था मिलाइँदै छ । नेपालमा परीक्षणको व्यवस्था नहुँदा यसको परीक्षण हङ्कङमा गरिँदै आएको चिकित्सकहरुले बताएका छन् ।

चीनबाट नेपाल आएका एक नेपाली विद्यार्थीमा कोरोना भाइरसको परीक्षण गर्दा उनमा संक्रमण देखिएको थियो । अब नेपालमै परीक्षणको व्यवस्था मिलाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चीनबाट नेपाल भित्रिने मानिसहरुको स्वास्थ्य परीक्षणका लागि विमानस्थलमा कडा निगरानी गरिएको छ । रुघाखोकी लागेको व्यक्ति भेटिए विमानस्थलबाटै अस्पताल लगिने व्यवस्था मिलाइएको छ ।

त्यस्तै, परीक्षणका लागि नेपाल चीन नाकामा पनि परीक्षण केन्द्रहरु राखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रमान श्रेष्ठले जानकारी दिएका छन् ।

चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका अन्य देशहरुमा पनि फैलिइसकेको छ । यो मानिसबाट मानिसमा सर्ने घातक रोग मानिएको अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरस बारे प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरसबाट संक्रमितलाई उपचारका लागि आवस्यक तयारी गर्न निर्देशन दिएको छ ।

उनले आइतबार स्वास्थ्मन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई बालुवाटार बोलाएर निर्देशन दिएका हुन् ।

स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले वीर, शिक्षण, पाटन र निजामती अस्पताललाई आइसोलेसन वार्ड बनाएर तीन दिनभित्र योजना पेस गर्ने निर्देशन दिएको छ । उपत्यका बाहिरका केन्द्रिय अस्पतालहरुलाई पनि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस