१२ गते अदालतमा हाजिर हुन अग्नि सापकोटालाई सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१२ गते अदालतमा हाजिर हुन अग्नि सापकोटालाई सर्वोच्चको आदेश


१० माघ २०७६, शुक्रबार


High Court_Sarbocha adalat

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभाको सभामुखमा चयन हुन लागेको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता अग्नि सापकोटालाई १२ गते हाजिर हुन भनेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको पेशी तोक्दै अदालतले सापकोटासहित विपक्षी बनाइएका व्यक्ति तथा निकाय र रिट निवेदकलाई समेत तारेखका लागि हाजिर हुन भनेको हो ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गर्दै द्वन्द्वकालीन घटनामा कर्तव्य ज्यानको मुद्दा खेपिरहेका व्यक्ति (सापकोटा)लाई सभामुख चयन नगर्नका लागि आदेश माग गरेका छन् । सापकोटालाई गिरफ्तार गरी न्यायालयमा उपस्थित गराउने आदेश जारी गर्न पनि त्रिपाठीले माग दाबी गरेका छन् ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अग्नि सापकोटा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्त ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

प्रतिनिधिसभाको सभामुख चयनका लागि सुरु भइसकेको निर्वाचन प्रक्रियामा(नेकपा)का नेता सापकोटाको एकल उम्मेदवारी परेको थियो । माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकबाट सापकोटालाई निर्विरोध रूपमा सभामुखमा चयन भएको घोषणा गर्ने कार्यसूची छ ।

सापकोटा विरुद्ध काभ्रेको छत्रबाँसका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप छ । १७ वैशाख २०६२ मा माओवादी कार्यकताको अपहरणमा परेका भनिएका लामाको २ महिना पछि काभ्रेकै बुढाखानीको चारकिल्ला भन्ने ठाउँमा शव फेला परेको थियो ।

लामाकी श्रीमती पूर्णमाया लामाले ७ मङ्सिर २०६९ मा सापकोटासहितका माओवादी नेता कार्यकताविरुद्ध मुद्दा दायर गरेकी थिइन् । सोसम्बन्धी मुद्दा अहिले पनि सर्वोच्च अदालतमै विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस