डोटी । मानव अधिकारका लागि एकल महिला समूह डोटीले पुर्विचौकी गाउँपालिकामा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरूले एकल महिलाहरूलाई विभेद गर्न नहुने बताएका छन् ।
संस्थाले पुर्विचौकी गाउँपालिकामा सञ्चालन हुने नेपालका सीमान्तकृत महिला सहभागिता तथा आवाज परियोजनाको बारेमा जानकारी गराउन आयोजित कार्यक्रमका सहभागी एकल तथा जनप्रतिनिधि महिलाहरूले सो कुरामा जोड दिएका हुन् ।
नेपालको संविधानमा महिलाहरूका हक अधिकारको बारेमा धेरै व्यवस्था भए पनि महिलाहरूले जति मात्रामा अवसर पाउनु पर्ने त्यति मात्रामा पाउन नसकेको पूर्व चौकी गाउँपालिका वडा नम्बर १ की वडा सदस्य बास्ना खड्काले बताइन् । उनले भनिन् ‘हाम्रो समाजमा एकल महिलाहरूले रातो सिन्दूर लाउन नपाउने, रातो कपडा पहिरन नपाउने जस्ता कुरुतिहरु एकातिर छन् भने अर्को तिर शुभ कार्यमा एकल महिलाहरूलाई नजिक जान दिँदैनन् यस्तो विभेद किन ? यस्तो प्रथाको अन्त्य गर्न महिलाहरू नै अग्रसर हुनुपर्ने र सरकारले पनि एकल महिलाहरूका लागि विशेष कार्यक्रम ल्याउनु पर्ने समेत बताइन् ।
श्रीमानको मृत्यु पश्चात् एकल महिलाहरू सँग हाम्रो समाजले कस्तो व्यवहार हुन्छ भन्ने कुरा स्वयम् महिलालाई मात्र थाहा हुने गरेको वडा नम्बर ४ की एकल महिला चन्दरी कोलीले बताइन् । उनले भनिन् ‘पहिलो त एकल महिलालाई अरू महिलाहरूले नै विभेद गर्छन् त्यसपछि अन्य संस्कारले हो ’ अहिले पनि कुनै मानिस घर बाट यात्रामा जाँदै गर्दा एकल महिला सँग भेट हुँदा सायद बिग्रियो अलच्छीना सँग भेट भयो भनेर हेला गर्ने, यात्रा नै स्थगित गर्ने चलन कायमै रहेको अनुभव सुनाइन् । यस्ता चलनहरूको अन्त्य हुन आवश्यक रहेको बताइन् ।
स्थानीय सरकार र विभिन्न सङ्घ संस्थाले एकल महिलाहरूका लागि आय आर्जनमूलक, सिपमूलक कार्यक्रमलाई विशेष जोड दिनुपर्ने समेत बताइन् । उनी मात्र होइनन् कार्यक्रममा बोल्ने अधिकांश महिलाहरूले एकल महिलाहरू माथि हुने विभेद अन्त्य हुनुपर्ने कुरामा जोड दिएका थिए ।
महिलाहरूलाई अवहेलना होइन अझै एकल महिलाहरूलाई विशेष सम्मान गर्नुपर्ने पुर्विचौकी गाउँपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष नवराज खड्काले बताए । उनले भने हामीले भाषणमा भनेर भन्दा पनि व्यवहारमा देखाउनु पर्छ ।’ आफ्नो स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्दा आफू जुनसुकै समयमा पनि सहकार्य, समन्वय र सहयोग गर्न तयार रहेको समेत अध्यक्ष खड्काले बताए ।
एकल महिलाहरू आफ्नो हक अधिकारको लागि जुनसुकै समयमा पनि आवाज उठाउनु पर्ने पुर्विचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले बताइन् । गाउँपालिकामा सञ्चालन हुने परियोजनालाई उपलब्धिमूलक बनाउन कहाँ के सहयोग गर्नु पर्छ आफू तयार रहेको समेत उपाध्यक्ष साउदले बताइन् ।
एकल महिलाहरूको दुःख सुखमा सात दिन जति बेला पनि आफूहरू तयार रहेको मानव अधिकारका लागि महिला एकल महिला समूह डोटीकी अध्यक्ष सरिता श्रेष्ठले बताइन् । एकल महिलाले भोग्नु पर्ने पीडा, अपहेलना कस्तो हुन्छ एकल महिलाहरूलाई मात्र थाहा छ त्यसैले यस्तो पीडा कसैले भोक्नु नपरोस् यसको विरुद्धमा आवाज उठाउन आवश्यक रहेको समेत अध्यक्ष श्रेष्ठले बताइन् ।
महिलाहरूको नेतृत्व र क्षमता विकास गर्नुका साथै महिलालाई आयमूलक कार्यमा सहभागी हुन सिप विकास गर्ने उद्देश्यले डोटी जिल्लामा परियोजना सञ्चालन गरिएको जिल्ला परियोजना अधिकृत लक्ष्मी देउवा बमले बताइन् । उनले भनिन‘ हामी सहयोगी निकाय मात्र हौ हामी एक्लै केही गर्न सक्दैनौ स्थानीय सरकार सँगको साझेदारीमा विभिन्न कार्यक्रमहरू अगाडी बढाउन चाहन्छौ सबैको सहयोग चाहिन्छ । ’
डोटीको दिपायल सिलगढी नगरपालिका र पुर्विचौकी गाउँपालिकामा सञ्चालन हुने परियोजनाको समयावधि ३ वर्षको हुने र परियोजनालाई ओ म्यान काईन्डले सहयोग गरेको समेत परियोजना अधिकृत बलमे जानकारी दिइन् । कार्यक्रममा पुर्विचौकी गाउँपालिकाका अन्तर्गत महिला जनप्रतिनिधि, महिला सञ्जालका प्रतिनिधि, एकल महिला समूहका सदस्यहरूको सहभागिता रहेको थियो ।