प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण फागुनमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण फागुनमा


१ माघ २०७६, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण फागुनमा हुने भएको छ । उनको एपेन्डेसाइटिसको शल्यक्रियाको घाउ पूर्णरुपमा निको भएपछि मात्र फागुनमा मिर्गौला प्रत्यारोपण गरिने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यद्यपि स्वास्थ्य स्थितिमा कुनै समस्या देखिए पछाडि सर्न सकिने बताइएको छ । अप्रत्याशित कुनै जटिल वा जोखिम अथवा सम्भावित खतरा नदेखिए फागुनमा प्रत्यारोपण गरिने उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ । एपेन्डेसाइटिसको शल्यक्रियाको घाउ बाहिरबाट निको भएको देखिएपनि राम्रोसँग ठिक हुन अझै एक महिना लाग्ने चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको नियमित फलो अप शिक्षण अस्पतालमा भइरहेको छ । हप्तामा दुईपटक हेमोडायलासिस गराइरहेका प्रधानमन्त्रीको स्वास्थ्य स्थितिमा समस्या देखिएको छैन ।

गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताबाट ७ पटक प्लाज्मा फेरेसिस गराएर फर्केका थिए । त्यसपछि पनि मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस हुँदै आएको छ । प्रत्यारोपणको तयारी गरिरहेका बेला गत मंसिर १० गते एपेन्डेसाइटिसको शल्यक्रिया गर्नुपरेको थियो । शल्यक्रियाले गर्दा उनको प्रत्यारोपणका ढिलाइ हुन गएको छ ।

उनको १३ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस