राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्र निर्माण र राज्य निर्माणको अर्थ, भिन्नता र अन्तरसम्बन्ध


२७ पुस २०७६, आइतबार


राष्ट्र (Nation)
अङ्ग्रेजी शब्द nation को व्युत्पति ल्याटिन भाषाको natio शब्दबाट भएको हो । natio को अर्थ जन्मको आधारमा वा कुन जराबाट पलाएको भन्ने हुन्छ । विभिन्न शब्द कोषको अनुसार कुनै जन समुदायले भूमिसँगको पुर्ख्यौली सम्बन्ध, भाषा, इतिहास, संस्कृति, जीवन दर्शन आदिका आधारमा अन्य समूहभन्दा आफ्नो समूहलाई फरक मान्छन् भने त्यो समुदाय एउटा राष्ट्र हो ।

वास्तवमा राष्ट्र भनेको साझा वंश वा कुल भएका मानिसहरूको ठुलो समूह हो (It is a large group of people with common  ancestry) .

नेपालको संविधानको धारा ३ अनुसार ”नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो ।”
राज्य ( state)
राज्य वा देश शब्दको व्युत्पति राष्ट्रको जति पुरानो छैन र होइन पनि । राज्यको अर्थ र सान्दर्भिकता एउटा निश्चित चौघेरा भित्र प्रशासनिक, राजनैतिक व्यवस्थापन, सैन्य, सामरिक सुरक्षा, नागरिकको बालिग मताधिकार आदिको व्यवस्थासँग जोडिएको छ ।
राष्ट्रले एउटा नस्ल, भाषा र धर्मको समुदायलाई जनाउँछ । एउटा राजनीतिक राज्य भित्र त्यस्ता विभिन्न राष्ट्रियता संलग्न भएका हुन सक्छन् । राज्य भनेको सिमाना र मानिसहरूको एक अंश भएको एउटा राजनीतिक सङ्गठन हो ।
सन् १९३३ मा उरुग्वेमा भएको Montevideo Convention ले आधुनिक राज्यको पभिाषा गर्दै राज्य हुनको लागि निम्न अनुसार ४ वटा तत्त्वहरू हुनुपर्ने कुरा औँल्याएको थियो

1. Permanent population
2. Defined territory
3.  Government
4. Capacity to enter into relations with the other states.

नेपालको संविधानमा राष्ट्रको जसरी राज्यको परिभाषा नदिएर यसका विशेषताहरू उल्लेख गरिएको छ । संविधानको धारा ४ अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो ।

राज्य वा देश भनेको राष्ट्र होइन र राष्ट्र मात्र भन्नाले पनि राज्य बुझिँदैन । राज्य र राष्ट्र दुवै परिपूरक भने हुन् र राष्ट्रलाई आधार मानेर राज्यको स्थापना र निर्माण गर्ने चलन मूलतः युरोपबाट सुरु भयो । यस प्रक्रियालाई नै राष्ट्रवादमा आधारित राज्य (nation state) निर्माण भनिएको हो । नेपालमा पनि खसभाषी हिन्दु धार्मिक जातीय राष्ट्रलाई आधार मानेर एकल राष्ट्रवादी राज्यको सुरुवात भएको हो । यसरी nation state को स्थापना र निर्माणमा नेपाल युरोप सँगसँगै अघि बढेको हो ।

बेलायत र फ्रान्सजस्ता देशहरूमा राज्य निर्माणले राजामा निहित दैवी अधिकारलाई समाप्त गर्‍यो तर नेपालमा भने राज्यको स्थापनापछि राजाको दैवी अधिकार संस्थागत भयो , हिन्दु धर्म र जातीय व्यवस्थाको विस्तार भयो । आज नेपालमा राजनीतिक, भाषिक, धार्मिक, सांस्कृतिक पहिचानपरक समस्याहरूको सुरुवात यही राज्य निर्माणको थालनीबाट भएको हो ।

वास्तवमा राष्ट्र भनेको बेग्लै राज्य वा देश होइन । तर विगतमा राष्ट्र र राज्य शब्दहरूको गलत प्रयोग गरेकोले पनि सही बुझाइमा गडबडी पैदा गरेको छ । उदाहरणका लागि विभिन्न देश वा राज्यहरूको संघलाई संयुक्त राज्य सङ्घ भन्नुपर्नेमा संयुक्त राष्ट्र सङ्घ भनियो । यसै गरी संयुक्त राष्ट्र अमेरिका हुनुपर्नेमा फेरि संयुक्त राज्य अमेरिका भएको छ । आजका सन्दर्भमा गलत लाग्ने ती नाम तत्कालीन औपनिवेशिक राजनीतिक पृष्ठभूमिमा भने ठिकै थिए भन्न सकिन्छ । त्यति बेला एक राष्ट्र एक राज्य भन्ने औपनिवेशिक राजनीतिक अवधारणाको बोलवाला थियो । एक राष्ट्र एक राज्य हुनाले संयुक्त राष्ट्र सङ्घ भन्दा संयुक्त राज्यसंघ बुझिने भयो । यही प्रभावले गर्दा राष्ट्र शब्दको प्रयोग राज्यको अर्थमा हुन थालेको हो । राज्यको प्रतिनिधित्व गर्ने टोलीलाई राष्ट्रिय भन्ने गरियो भने बहु राज्यको प्रतिनिधित्व गर्नेलाई बहुराष्ट्रिय वा अन्तर्राष्ट्रिय भन्ने गरियो ।

पृथ्वी नारायण शाहले नेपाल राज्य निर्माण गरे तर राष्ट्र निर्माण गरेका होइनन् तर उनलाई भनियो राष्ट्र निर्माता ।

राष्ट्र निर्माण (Nation building)
राष्ट्र निर्माण धेरै पहिचान भएका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने मनोवैज्ञानिक आधार हो ।
राष्ट्र समान पहिचान र भावना हो, जसको पृष्ठभूमिमा इतिहास, संस्कृति, धर्म जस्ता पक्षहरू रहने गर्दछन् । त्यसैले राष्ट्र निर्माणका लागि राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय दिवस, राष्ट्रिय वायुसेवा, राष्ट्रिय प्रसारण, राष्ट्रिय संवाद जस्ता विम्ब र सांकेतिक कार्यको समेत उपयोग गरिन्छ । जसले सबै राष्ट्रवासीमा एकताको अनुभूति प्रवर्द्धन गर्दछ ।
कार्ल डोएचले भनेका छन् : साझा पहिचानको स्थापना मार्फत राष्ट्रप्रति निष्ठावान् नागरिक निर्माण गर्नुलाई राष्ट्र निर्माण भनिन्छ । ( National building , broadly speaking, aim to establish a common identity among the population through process in which they become loyal citizen)

राष्ट्र निर्माण भएपछि नागरिकमा राष्ट्रप्रति निष्ठा रहन गई वैयक्तिक स्वार्थ र चाहना राष्ट्रिय स्वार्थमा समर्पण हुने गर्छ । राष्ट्र निर्माण राजनीतिक रूपमा विकसित भएको सिद्धान्त वा भावना हो । ऐतिहासिक रूपमा राष्ट्रहरू उपनिवेशबाट मुक्त हुने अभियानका रूपमा राष्ट्रिय भावनाको विकास भएको पाइन्छ । अरूको औपनिवेशिकताम रहँदा आफ्नो पहिचान गुमाउन पुगेका देशवासीहरूमा पुनः अस्तित्व र पहिचान स्थापना गर्ने प्रक्रियाको साथै राष्ट्र निर्माणले महत्त्व पाएको हो । आधुनिक अर्थमा छरिएका वा विभिन्न समाजलाई एकताको सूत्रमा बाँध्न अवलम्बन गरिएको राजनीतिक प्रक्रिया राष्ट्र निर्माण हो जसले खास समुदायभित्र एकत्वको भावना जगाउँछ ।
जोरेन हिट्लरका अनुसार राष्ट्र निर्माण निम्न ३ पक्षको अन्तर सम्बन्धित प्रक्रिया हो :
♦  एकीकृत भावनाको सिर्जना ( creation of an integrating ideology)
♦  एकीकृत समाजको सिर्जना ( Creation of an ingratiating society)
♦ सबल राज्य संयन्त्रको सिर्जना ( Creation of functioning state apparatus)

राष्ट्र निर्माणको महत्त्व :
अल्पविकसित, राजनैतिक संस्कृति निर्माण नभएका तथा आर्थिक समृद्धि प्राप्त नभएका समाजमा निम्न कारणले राष्ट्र निर्माणको बढी नै महत्त्व हुन्छ ः
देशवासीमा न्यूनतम साझा मूल्य कायम गर्न,
विभिन्न भूगोललाई राष्ट्रिय भावनामा आबद्ध गर्न,
♦  अल्पसङ्ख्यक वर्ग र अन्य वर्गबिचको दुरी कम गर्न,
♦ सामाजिक सहभावलाई स्थापित गर्न,
♦  राज्य प्रणालीको वैधता कायम गर्न,
राज्य निर्माण (State Building)
राज्यलाई काम गर्न सक्ने गरी सक्षम बनाउने प्रक्रियालाई राज्य निर्माण भनिन्छ (State building is construction of functioning state )

राज्य सबल बन्न उसको राजनीतिक क्षमता (राजनैतिक व्यवस्थापन), साधन परिचालन क्षमता(सामाजिक विकास) र विनियोजन क्षमता(उत्पादनशील खर्च, उपयोगिता सिर्जना र जकल्याण अभिवृद्धि) आवश्यक छ । राज्य निर्माणमा राज्यका पात्रहरू यिनै कार्यहरूमा सत् रहन्छन् ।
मुलुकको राजनीतिक, सामाजिक, सांस्कृतिक, व्यवस्थापकीय लगायतका मानव जीवनका सम्पूर्ण पक्षमा सुधार गरी सक्षम बनाउने प्रक्रियालाई राज्य निर्माण भनिन्छ ।

राष्ट्र निर्माण र राज्य निर्माणमा फरक :

राष्ट्र निर्माण र राज्य निर्माणमा अन्तर सम्बन्ध :
राष्ट्र निर्माण र राज्य निर्माण शासन प्रणालीका दुई महत्त्वपूर्ण अवयवहरू हुन् । कतिपय विद्वानहरूले यी दुवैलाई समानार्थी रूपमा पनि प्रयोग गर्दै आएका छन् । सर्वसाधरणहरुले पनि यसै गरी बुझ्ने गरेका छन् । यी दुईको सम्बन्ध निम्न बुँदाहरूमा उल्लेख गर्न सकिन्छ :
♦  राष्ट्र निर्माण साझा संस्कृति र पहिचानको निर्माण गर्ने प्रक्रिया हो र राज्य निर्माण राज्यका संरचना र संयन्त्रको सुदृढीकरण गर्ने प्रक्रिया हो ।
♦  राष्ट्र निर्माण र राज्य निर्माण दुवै शासकीय प्रणाली तथा देशको अस्तित्व कायम राख्ने र देशको हित प्रवर्द्धन गर्ने आधारभूत पक्षहरू हुन् ।
यी दुईमध्ये एकको निर्माणले अर्कोको निर्माणमा सहायता गर्छ । एक विना अर्कोको अस्तित्व खतरामा पर्छ ।

उपसंहार
राष्ट्र निर्माण र राज्य निर्माण अन्तर सम्बन्धित विषय हुन । यी दुई मध्ये एकको निर्माणले अर्कोको निर्माणमा सहयोग पुर्‍याउँछ । दुवैलाई एकैसाथ अघि बढाउन सके समृद्ध, न्यायपूर्ण, शान्तिपूर्ण र आधुनिक नेपाल निर्माण गर्न सकिन्छ । तर विगतमा हामीले राष्ट्र निर्माण र राज्य निर्माणलाई सँगसँगै अघि बढाउन नसकी राज्य निर्माण तर्फ बढी केन्द्रित भएको यथार्थतालाई हामी सबैले स्वीकार गर्नै पर्छ । तसर्थ विगतको गल्ती सच्याउँदै अव यी दुवैलाई सँगसँगै अघि बढाउनुपर्छ । राज्यका क्षमता निर्माण, संयन्त्र विस्तार र यिनीहरूको प्रभावकारिता वृद्धिले नै मुलुक समृद्ध र सबल राष्ट्र बन्ने गर्दछ । विकास, सुशासन, प्रभावकारी सेवा र वितरण प्रणालीको संस्थागत पक्षले राज्य निर्माण गर्दछ भने राष्ट्र निर्माण आम नागरिकको पहिचान निर्माण, स्वाभिमान र सशक्तीकरण, एकत्ववोधका लागि गरिने प्रतिकात्मक कामहरू समेत पर्दछन् ।

सामाजिक र भौगोलिक विविधता भएको मुलुकमा विविधताको व्यवस्थापन र विकासको व्यवस्थापन नै राष्ट्र निर्माणका लागि अवलम्बन गरिनुपर्ने रणनीति हुन् । नेपालले हालै संविधान सभाबाट ऐतिहासिक संविधान निर्माण गरेको भएता पनि केही समुदायले यसमा असहमति राखी आन्दोलनमा गएकोले असन्तुष्ट पक्षका जायज माग समेत संशोधन हुने गरी संविधानको संम्बोधन गरी यसको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ । संवैधानिक भावनाको कार्यान्वयन गर्न आवश्यक कानुनी, नीतिगत, संस्थागत, प्रक्रियागत तथा कार्यगत सुधार गरी अघि बढ्नु आवश्यक देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस