हामी कसरी बाँच्ने ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हामी कसरी बाँच्ने ?


२३ पुस २०७६, बुधबार


धादिङ । ८० वर्षीया सासु र ५० वर्षीया बुहारीको सहारा दिने यो संसारमा आफ्नो भन्ने कोही बाँकी छैन । परिवारमा नाता पर्नेहरु सकिए । सम्पत्ती केही बाँकी छैन । केवल बाँकी छ त अब सरकारले दिएको भत्ता ।

सासु आमाले महिनाको तीन हजार पाउँछिन् भने बुहारी नेत्रहिन भएकोले उनले २ हजार भत्ता बुझ्दै आएकी छिन् । राज्यले दिने यही भत्ताको भरमा बाँचिरहेका छन् यो दुईजनाको परिवार ।

८० वर्षीया सासु अमृत कुमारी अधिकारी उतिबेला आफ्नो श्रीमान् बितिसकेपछि घरको सम्पति जम्मा २ हजार र काखमा छोरा रेशमनाथ अधिकारी (कृष्ण) लाई लिएर माईति घर गजुरी गाँउपालिका वडा न. ५ सिमडाँडामा शरण लिन पुगिन् । माईति घरमा आठ जना दिदी बहिनिमध्ये साहिली छोरी हुन् अमृतकुमारी ।

जन्म दिने आमा बुबालाई पनि उनले नै स्याहार गरी छोरा नभएको महशुस गराइनन् । बुबाको मृत्यु भए पछि २०४५ सालमा छोरा रेशमको मागी बिबाह गरिदिइन् । बुहारी यम कुमारी जन्मजात नै आँखा नदेख्ने नेत्रहिन थिइन् । आमा र छोराले खेती किसान गर्थे भने बुहारी बोल्नको लागि साथी थिएन् । जेनतेन जीवन निर्वाह भईरहेको थियो । २०५० सालमा पेट दुख्ने समस्याले छोरा रेशमको मृत्यु भयो भने नाती पनि जन्मिएको सात दिनमा नै बिते पछि यो परिवारलाई सहन नसक्ने बज्रपात पर्‍यो ।

सिँगो परिवारको एउटै सहारा छोराको मृत्युपछि के गर्ने भन्ने अन्योल भएको बेला बहिनी अण कुमारी (सरस्वती) र ज्वाई(नाताले भान्जा) पर्ने तेज कुमारले आफ्नो घर लैजाने निर्णय गरे । भएको सम्पति बेचेर आएको ७० हजार रकम बोकी २१ वर्ष अघि अमृत कुमारी र नेत्रहिन बुहारी यम कुमारी गल्छी गाँउपालिका वडा नं. १ फोस्टार, कल्लेरीमा बहिनीको घर नजिक रहेको धनसारमा आएर बसे । उमेर छँदा अण कुमारीकै जग्गामा अधिया लगाएर भए पनि वृद्ध आमालाई पालेर बसेकी थिईन् यम कुमारी ।

०७२ सालको भुकम्प अघि नै आमाको निधन भयो । भुकम्पमा त्यही धनसार पनि भत्काइदिएपछि त्रिपालमै दिनहरु बिते । बहिनिको घर बनिसकेपछि एउटा कोठा बस्नको लागि दिएकोले धन्न बस्न त पाए तर ०७६ जेठ १४ गते बहिनीको पनि हृदयघातका कारण मृत्यु भए पछि भएको साहरा पनि गुम्यो । बहिनिको छोरा बासु र बुहारी छोरा पढाउन काठमाडौँमै बस्दै आएका छन् । बहिनी बिते पछि ज्वाईकै अबस्था नाजुक छ । आफै पकाएर खानु पर्ने अबस्था छ वृद्ध सासु र नेत्रहीन् बुहारीको ।

सरकारले बुहारीलाई दिएको एकल महिला भत्ता २ हजार र आफुलाई दिएको वृद्ध भत्ता ३ हजार गरी ५ हजारले जति पुग्छ त्यतिले नै गुजारा चलिरहेको छ यी सासुबुहारीको ।  ‘अब त भात पकाएर बुहारीलाई खान दिन पनि नसक्ने भए’, अमृत कुमारीले भनिन्, ‘आँखा पनि धमिलो हुन थाल्यो, अब केहि उपाय छैन’ सहाराको खोजीमा रहेका यी सासुवुहारीले साँझ विहानको छाक टार्न नै नसकिने अवस्थामा पुगेको उनको भनाई छ ।

‘आमा नसक्ने भएपछि मलाई पकाएर खान दिने मान्छे पनि हुँदैन, फरियासमेत लगाई दिनुहुन्छ, मत आमा जहाँ गए त्यहि जानी हो ,आमालाई छोड्दिन’ भन्छिन बुहारी यम कुमारी ।  अहिले उनिहरुसँग बोरामा थोरै चामल, दुईचार दाना आलु, दुईवटा खाट र ओढ्नलाई दुईवटा पुरानो सिरक मात्र छ । जाडोमा लगाउने न्यानो कपडासमेत छैन उनीहरुसँग । सरकारले दिएको भत्ताबाहेक आफूले केहि गर्न नसकेको बताउँछन् वडाध्यक्ष पुर्ण प्रसाद खतिवडा ।

सासु वुहारीको अबस्था नाजुक भएको उनको भनाइ छ । संविधानमा उल्लेखित मौलिक हकमा समावेश प्रावधानहरुले उनिहरुको संरकक्षकत्व राज्यले गर्छ । नेपालको संविधानमा ‘आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला……..आफ्नो हेरचाह गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानून बमोजिम सामाजिक सुरक्षाको हक हुनेछ’ उल्लेख छ । प्रधानमन्त्रीलेसमेत यस किसिमको परिवार बेसाहारा हुनु पर्दैन भन्दै आउनु भएको छ । तर न त सरकार नै उनीहरुसम्म पुग्न सकेको छ न त उनीहरु नै सरकारको नजरमा पर्न सकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस