भ्रमण वर्षमा साहसिक पर्यटनमा वृद्धि हुने अपेक्षा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भ्रमण वर्षमा साहसिक पर्यटनमा वृद्धि हुने अपेक्षा


२३ पुस २०७६, बुधबार


पोखरा । कतै चराझैं उड्ने त कतै डोरीमा बाँधिएर हामफल्ने, झट्ट सम्झदा कहाली लाग्छ । पछिल्ला समयमा यिनै साहसिक पर्यटनका हरेक गतिविधिमा रुचि राख्नेहरू पोखरा र आसपासका क्षेत्रमा फर्किफर्कि आउने गरेका छन् ।

भौगोलिक अवस्थितिका आधारमा पनि गण्डकी प्रदेशमा हुने पद्यात्रा, पर्वतारोहण, साइक्लिङ, क्यानोनिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, रक क्लाइम्बिङ, जीपलाइन, अल्ट्रालाइट, स्किइङ जस्ता हरेक गतिविधिले पर्यटकलाई लोभ्याउने गरेको छ ।

पोखराको सराङकोटबाट चराझै उडी फेवातालको किनारामा आइपुग्ने प्याराग्लाइडिङ होस् या सराङ्कोटबाट तारमा झुण्डिएर दु्रतगतिमा हेमजासम्म झर्ने जीप लाइन आदि यहाँका हरेक गतिविधि स्वदेशी एवं विदेशी पर्यटकका आकर्षण बनेका छन् ।

नेपाल सरकारले भ्रमण वर्ष मनाइरहँदा र २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरिसकेको अवस्थामा यस क्षेत्रमा साहसिक पर्यटनमा रुचि राख्नेको आगमन पनि बढ्ने अपेक्षा गरिएको छ ।

यहाँको कालीगण्डकी, मस्र्याङ्दीजस्ता नदीमा र्‍याफ्टिङ गर्न आउनेको सङ्ख्या वर्षेनी बढ्दो छ । त्यस्तै कास्कीकै ल्वाङघलेल, स्याङ्जाको सुन्तलाबारी, बीरेठाँटीलगायतका स्थानमा सञ्चालित क्यानोनिङले वर्षेनी पर्यटकलाई आकर्षित गरेको छ ।

साहसिक पर्यटनकै लागि वर्षेनी पोखरामा ठूलो सङ्ख्यामा विदेशी पर्यटक आउने गरेको पर्यटन व्यवसायी साहसिक पर्यटन तथा खेलको राम्रो प्रचारप्रसार हुन सकेमा पर्यटकको चाप अझै बढ्ने बताउँछन् । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा यहाँका साहसिक पर्यटनका गतिविधिको प्रचारप्रसार गर्न सकेमा अझै पर्यटकको आगमन वृद्धि गर्न सकिने नेपाल भ्रमण वर्ष २०२० गण्डकी प्रदेश समितिका सदस्य सोम थापाले बताए ।

गण्डकी प्रदेशमा माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमाल रहेका कारण यस ठाउँले पर्वतीय पर्यटनको धेरै सम्भावना बोकेको उनको तर्क छ । वर्षेनी ठूलो सङ्ख्यामा विदेशी पर्यटक यहाँका हिमाल हेर्नका साथै कतिपय हिमाल आरोहण गर्नका लागि पनि आउने गरेका छन् ।

हिमाल आरोहणको जेठो हिमाल अन्नपूर्ण प्रथम यही प्रदेशमा रहेकाले पनि यहाँको छुट्टै महत्व छ । सन् १९५० जुन तीन तारिखमा सर्वप्रथम फ्रान्सका मौरिस हर्जोेगले अन्नपूर्ण प्रथम सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गएको हो । ८ हजार ९१ मिटर उचाइको यो हिमाल आरोहण भएसँगै सन् १९५३ मे २९ को दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एड्मन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।

गण्डकी प्रदेशको अर्को पर्यटकीय आकर्षण प्याराग्लाइडिङ हो । सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारासम्म झर्नका लागि धेरै पर्यटक लालायित हुने गर्दछन् । गण्डकी प्रदेशकै स्याङ्जाको स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सम्पन्न भइसकेको छ ।

गण्डकी प्रदेशमा नै अर्को साहसिक पर्यटन क्यानोनिङ (छागावरोहण) हो । हेर्दै डरलाग्ला चट्टानयुक्त पहराबाट डोरीको माध्यमबाट तल झरिने यो खेलका लागि पर्यटक इच्छुक बन्ने गरेका छन् । साहसिक पर्यटनकै रुचि राख्नेहरू पोखरा आइसकेपछि यहाँ सञ्चालित बञ्जी जम्प र जीप लाइनको अनुभव लिने गरेका छन् । माछापुच, अन्नपूर्णलगायत हिमाललाई आँखा अघि सजाउँदै जीप फ्लाई र बञ्जी जम्प गर्न चाहनेका लागि हाई ग्राउन्ड एड्भेन्चर्स नेपालले यी दुवै सुविधा उपलब्ध गराएको छ ।

अक्टोबर, नोभेम्बर र डिसेम्बरका साथै मार्च र अर्पिलको समयमा दैनिक ४० जनाको हाराहारीमा पर्यटकले बञ्जी जम्प र जीप लाइन गर्ने गरेको हाई ग्राउन्ड एडभेन्चर्स नेपालका प्रमुख सञ्चालन अधिकृत दीनेश महर्जनले जानकारी दिए।

उनका अनुसार जीप फ्लाईका लागि विदेशी पर्यटकले ८ हजार ५०० तिर्छन् भने स्वदेशी पर्यटकले ४ हजार ५०० रुपैयाँ तिर्छन् । त्यस्तै बञ्जी जम्पका लागि विदेशीले ७ हजार ५०० रुपैयाँ र स्वदेशीले ४ हजार रुपैयाँ तिर्ने गरेका छन् ।

सरकारले भ्रमण वर्ष मनाउँदै गरेका अवस्थामा साहसिक पर्यटनमा रुचि राख्नेको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गरिएको महर्जनले बताए । साहसिक पर्यटन अन्तर्गत नै यस प्रदेशमा हवाई खेलकूदका गतिविधिमा वर्षेनी आकर्षण बढ्दै गएको नेपाल हवाई खेलकूद संस्था गण्डकी प्रदेशका अध्यक्ष कृष्ण भण्डारीले बताए ।

पोखराको सराङकोटबाट प्याराग्लाइडिङ गरी फेवाताल किनारमा झर्नका लागि पोखरा आउने अधिकांश पर्यटक लोभिने गरेको बताउँदै उनले पर्यटनको मुख्य याममा लगभग ५०० को हाराहारीमा उडान हुने गरेको जानकारी दिए । भ्रमण वर्ष मनाउँदै गरेका अहिलेको अवस्थामा प्याराग्लाइडिङलगायत साहसिक खेलका लागि आउने पर्यटकको सङ्ख्या पनि वृद्धि हुने अपेक्षा गरिएको भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस