‘राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै छ’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै छ’


२० पुस २०७६, आइतबार


भीमदत्तनगर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताएका छन्।

प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा नेकपाको शक्ति वृद्धि हुने दाबी गरेका हुन् ।

‘प्रतिनिधिसभा हुँदै अब राष्ट्रियसभामा पनि नेकपाको शक्ति वृद्धि हुँदैछ’, उनले भने, ‘जनभावनाअनुसार सरकार पनि गम्भीर भएर अघि बढ्नुपर्छ ।’ जनताको भरपर्दो र विश्वासिलो पार्टीका रूपमा नेकपा रहेको भन्दै उनले प्रतिनिधिसभाको सभामुख चयनका विषयमा पनि पार्टीको केन्द्रीय कमिटीले टुङ्गो लगाउने जानकारी दिए ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन मुलुकका सबै प्रदेशहरुले आ–आफ्नो विशेषतालाई पर्यटकसामु पुर्‍याउन पहल गर्नुपर्नेमा नेता नेपालको जोड थियो । ‘पर्यटन आर्थिक विकासको इन्जिन हो’, उनले भने, ‘यसलाई गतिशील बनाउन आवश्यक छ ।’

भारतसित देखिएको सीमा विवादको विषय तथ्य र प्रमाणका आधारमा टुङ्गो लगाउनुपर्ने भन्दै उनले त्यसका लागि अहिले उपयुक्त समय भएको बताए । ‘आर्थिक विकासका लागि सबैसित सद्भाव चाहन्छौँ’, उनले भने, ‘छिमेकीले एकअर्काको विश्वास जित्नु ठूलो कुरा हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस