उखु किसान र सरकारबीच वार्ता जारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

उखु किसान र सरकारबीच वार्ता जारी


१८ पुस २०७६, शुक्रबार


काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानसँग छलफल गरिरहेका छन् ।

उखु उद्योगीले गत वर्षदेखि भुक्तानी नदिएको भन्दै किसानले काठमाडौं केन्द्रित आन्दोलन गर्न थालेको एक हप्तापछि सरकारले उनीहरुसँग वार्ता गरेको हो ।

पुस १६ गते पनि वार्ता भएको थियो तर सो वार्तामा मन्त्री भट्टले मौखिक सहमति मात्र गरेका थिए । लिखित सहमति नभएसम्म आन्दोलन स्थगित नगर्ने उखु किसानले भनेपछि मन्त्रीले आज लिखित सहमति गर्न लागेको आन्दोलनका अगुवा राकेश मिश्रले बताए ।

उद्योगमन्त्री भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने बताए ।

यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराइसकिने विश्वास दिलाएका हुन् । उनले भने, ‘सरकारको तर्फबाट म चिनी मालिकसँग किसानहरुको बाँकी भुक्तानी उठाइदिने प्रतिबद्धता व्यक्त गर्दछु । सरकारले नै अब किसानहरुको भुक्तानी उठाइदिने जिम्मेवारी लिएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस