भूकम्पले ढालेका १४ हजार घरको पुनःनिर्माण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भूकम्पले ढालेका १४ हजार घरको पुनःनिर्माण


६ पुस २०७६, आइतबार


हेटौँडा । मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

जिल्लामा पहिचान भएका कूल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनःनिर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको सङ्ख्या १४ हजार १३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिए ।

प्रमुख केपीका अनुसार प्रबलीकरणमा भने मकवानपुरको प्रगति शून्य प्रायः छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्ने घरहरुमध्ये ०.०४ प्रतिशतमात्रै घर प्रबलीकरण भएका छन् । मकवानपुरमा प्रबलीकरणका लागि छनौट भएका लाभग्राही १२ हजार ९४६ मध्ये सात हजार ९७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेको र प्रथम किस्ता लिएकामा जम्मा तीन जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको आयोजना प्रमुख केपीले जानकारी दिए ।

प्रमुख केपीका अनुसार मकवानपुरमा दुई हजार ७१९ वटा घर भने मापदण्ड विपरीत बनेका छन् । त्यस्तै जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानीमात्र जग्गा भएका भूमिहीन लाभग्राही सङ्ख्या ३ हजार ६७२ पहिचान भएको, तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनःनिर्माण प्रक्रिया प्रारम्भ गरेको र बाँकीले आफ्नै ऐलानी जग्गामा पुनःनिर्माण प्रक्रिया शुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिए । त्यस्तै जिल्लाका २८ जना लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।

मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५१६ वटा विद्यालयमध्ये भूकम्पका कारण ४०९ वटा विद्यालयका २ हजार ३१० वटा कक्षाकोठा पूर्ण क्षति भएका थिए । त्यस्तै एक हजार ४५४ वटा कक्षाकोठाहरु आंशिकरूपमा क्षति भएका थिए ।

जिल्लामा आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत रहेर ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समितिमार्फत र विभिन्न संघसंस्थाहरुमार्फत गरी तीनवटा प्रक्रियामा विद्यालय भवनहरु पुनःनिर्माण भइरहेको प्रमुख पाठकले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस