नेकपा स्थायी कमिटी बैठक : स्थानीय तहसम्मको एकतालाई पूर्णता दिन सुझाव « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

नेकपा स्थायी कमिटी बैठक : स्थानीय तहसम्मको एकतालाई पूर्णता दिन सुझाव


१ पुस २०७६, मंगलबार


काठमाडौं । पार्टी एकताको धेरै काम सम्पन्न भए पनि स्थानीय तहसम्म त्यसले पूर्णता नपाएकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा बोल्ने नेताहरुले गुनासो गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज बसेको स्थायी कमिटीको बैठकमा स्थानीय तहसम्मको एकता प्रक्रियालाई तत्काल पूर्णता दिई थप सुदृढीकरण गर्नुपर्नेमा नेताहरुले जोड दिएका थिए ।

एकता प्रक्रियाले लामो समय लिँदा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको, सङ्गठन भद्रगोल हुँदा पार्टीले जीवन पाउन नसकेको उनीहरुको जोड थियो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै स्थायी कमिटी सदस्यहरुले पार्टी एकतालाई थप मजबुत बनाउनुपर्ने र एकताका कुनै पनि काम बाँकी राख्न नहुने सुझाव दिएका थिए ।

यस्तै पार्टीको कार्ययोजना ठोस रुपमा आउनुपर्ने, एकता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने, सरकारको काम अझ प्रभावकारी हुनुपर्ने जस्ता सुझाव आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बोल्ने अधिकांश स्थायी कमिटी सदस्यले सरकारको काम कारवाहीलाई अझै गति दिनुपर्ने र भए/गरेका कामको समेत सकारात्मक प्रचारप्रसार गर्नुपर्ने बताएका थिए ।

स्थायी कमिटीका सदस्यले प्रतिवेदन र संशोधन प्रस्ताव मूलतः सही रहेको धारणा राख्दै थप परिमार्जन र सुधारका लागि सुझाव र आलोचनात्मक टिप्पणी गर्ने क्रम जारी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज १३ जना स्थायी कमिटी सदस्य तथा आमन्त्रित सदस्यले सुझाव दिएका थिए । यसरी सुझाव दिनेमा नन्दकुमार प्रसाईं, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, शङ्कर पोखरेल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, घनश्याम भुसाल, शक्ति बस्नेत, मणि थापा र जनार्दन शर्मा थिए । स्थायी कमिटीको अर्को बैठक बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस