काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । हृदयघातका कारण निधन भएका अध्यक्ष भट्टराईको आज अपरान्ह पशुपति आर्याघाटमा राट्रिय सम्मानकासाथ अन्त्येष्टि गरिने सूचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।
भट्टराईको पार्थिव शरीरलाई सोमबार दिउँसो श्रद्धाञ्जलीका लागि बोर्डको कार्यालयमा राखिने भएको छ ।
स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि आइतबार राति अस्पताल पुर्याउँदा बाटैमा अध्यक्ष भट्टराईको निधन भएको थियो।
उनल चलचित्र क्षेत्रमा उदाहरणीय योगदान गरेकाले राष्ट्रिय सम्मान दिन लागिएको बताइएको छ ।
करिब एक वर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भट्टराईले केही राम्रा कामको सुरुवात गरेका थिए । उनले बनाएका चलचित्रमा ‘आफ्नो मान्छे, पाहुना, कर्मयोद्धा, देवरबाबु, छोडी गए पाप लाग्ला, सो सिम्पल’ लगायत छन् । भट्टराईले दर्जनौं चलचित्रमा अभिनयसमेत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले प्रतिभावान कलाकार गुमाएको बताउँदै ट्विटबाट समवेदना व्यक्त गरेका छन् ।
उनले ट्वीट गर्दै भनेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं, ‘उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि १ शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’