दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका - प्रशासन प्रशासन
prasaLogo
२६ मंसिर २०७६, बिहीबार

दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका


प्रकाशित मिति : 12 December, 2019 1:59 pm

कञ्चनपुर । भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित जैविक मार्ग क्षेत्रमा पर्ने बन्दा ताल आसपासकै क्षेत्रमा विश्वकै दुर्लभ चरा राजधनेश र राज लाहाचे फेला परेपछि संरक्षणको प्रयासको थालनी गरिएको छ । बन्दा ताल क्षेत्रको जैविक विविधता जोगाउन नगरपालिकाले चासो देखाउन थालेको हो ।

बन्दा ताल क्षेत्रमा दुर्लभ प्रजातिका चरा पाइन थालेपछि संरक्षणका लागि योजनाबद्धरुपमा कार्यक्रम सञ्चालन भइरहेको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । ‘जैविक मार्ग आसपासका पुरिँदै गएका ताललाई पुरानै अवस्थामा फर्काउने कार्य गरिएको छ’, उनले भने, ‘तालको सरसफाइसँग पुर्नभरणको कार्य गरी ताललाई पुरानो अवस्थामा फर्काएका छौँ ।’

दुर्लभ तथा अन्य प्रजातिका चरा र जीवजन्तु संरक्षणका लागिसमेत संरक्षणका क्षेत्रमा क्रियाशील संघसंस्थाको सहकार्यमा कार्यक्रम अगाडि बढाउन इच्छुक रहेको उनले बताए । नेपाल पक्षी संरक्षण संघ र नेपाल ग्रामीण विकास केन्द्रले गरेको पक्षी सर्वेक्षणका क्रममा जैविक मार्ग क्षेत्रमा लोपोन्मुख पक्षीसहित ८८ प्रजातिका चरा देखिएका थिए ।

अङ्गे्रजीमा ग्रेट हर्न बिल भनिने हेलमेट जस्तो रङ्गिन शिर भएको राजधनेश धेरै वर्षपछि पहिलोपटक देखापरेको नेपाल पक्षी संरक्षण संघका जीव विज्ञ हिरुलाल डङ्गौराले बताए । उनका अनुसार प्रायजसो सानो सानो झुण्डमा देखिने यो पक्षी हेर्दा निकै नै सुन्दर र आकर्षक हुन्छ । यसलाई स्थानीय भाषामा होमराई पनि भनिन्छ जसको अर्थ जङ्गलको राजा भन्ने हुन्छ ।

हाल नेपालमा राजधनेशको सङ्ख्या १५० भन्दा कम रहेको अनुमान गरिएको छ । नेपालको वन्यजन्तु संरक्षण ऐनद्वारा संरक्षित नौ पक्षीमध्ये राजधनेश पनि एक हो । राजधनेशलाई साइटिस अनुसूची–१ मा सूचीकृत गरिएको छ । गुँड निर्माण र ओथारो प्रक्रियामा रोचक र अनौठो स्वभाव देखाउने राजधनेशले ठूला र बुढा रुखका टोड्कामा गुँड बनाई वर्षायाममा प्रजनन गर्छ ।

राजधनेशको भालेले पोथीलाई अण्डा पारेपछि बच्चा नहुर्कञ्जेलसम्म टोड्कामा रहेको गुँडमा नै थुनेर राख्छ । धनेश दम्पतीले हिलो र पोथीको विष्टाको सहयोगमा टोड्काको मुख पूरै टाल्छन् र त्यसमा बनाइएको सानो प्वालबाट पोथीले हावा तथा आहारा लिने गर्छ । ओथारो अवधिभर पोथीलाई र तत्पश्चात् बच्चालाई पनि भालेले नियमितरुपमा बाहिरबाट आहारा खुवाउने गर्छ ।

‘सम्भवत यही स्वभावका कारणले होला राजधनेशलाई पत्नीवर्ता पक्षी पनि भनिन्छ’, डगौराले भने, ‘प्रकृतिमा भएका कतिपय हानिकारक किराफट्याङ्ग्रा, मुसा तथा छिपकली खाई राजधनेशले पर्यावरणीय सन्तुलन तथा खाद्यचक्र गतिशील राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ, विभिन्न बिरुवा तथा फलफूलको बीउ विस्तार र वितरणमा उल्लेख्य योगदान पुर्‍याउने हुँदा यसलाई जङ्गलको किसान पनि भनिन्छ ।’ खास किसिमको बासस्थानमा मात्र पाइने यो चरा त्यस्ता क्षेत्रको वातावरणीय सूचक पनि मानिन्छ ।

राज लाहाचे पनि लाहचेमध्येको सबैभन्दा ठूलो हो र यसलाई स्वस्थ बनको सूचकका रुपमा लिइन्छ । समुन्द्र सतहबाट ३०० मिटरको उचाइसम्म पाइने राज लाहाचेको सङ्ख्या नेपालमा २५० भन्दा कम रहेको अनुमान गरिएको छ । पछिल्ला दशकमा वन विनाश र अतिक्रमणले ठूला तथा पुराना रुखको अभावमा राजधनेश र राज लाहाचेको सङ्ख्या दिनानुदिन घटिरहेको बताइएको छ ।

पछिल्ला दशकमा खासगरी मानवीय क्रियाकलापको परिणामस्वरुप बासस्थान सङ्कुचन तथा विनाश, वन फँडानी र अतिक्रमण, वन डढेलो, घाँसे मैदानको नाश, अवैध चरा सिकार तथा व्यापार, रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग, बद्लिँदो तापमान र मौसम परिवर्तन जस्ता कारणले थुप्रै प्रजातिका चराले सङ्कट झेलिरहेका छन् ।

हालसम्म नेपालबाट आठ प्रजातिका चरा लोप भइसकेका छन् भने विश्वमै दुर्लभ मानिएका ४४ प्रजाति र १६८ प्रजातिका चरा राष्ट्रियरुपमा सङ्कटापन्न अवस्थामा रहेका बताइउको छ । नेपालमा बासस्थान विनाश नै चराका लागि मुख्य खतरा हो । त्यसका कारण ८६ प्रतिशत चरा सङ्कटापन्न अवस्थामा पुगेका डगौराले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस