गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको कार्ययोजना कार्यान्वयन गरिने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको कार्ययोजना कार्यान्वयन गरिने


२४ मंसिर २०७६, मंगलबार


चिप्लेढुङ्गा । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले गण्डकी प्रदेशबाट लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरिने बताएका छन् । आज लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भूमिका र प्रतिबद्धता विषयक प्रदेशस्तरीय अभियान कार्यक्रममा मन्त्री गुरुङले हिंसा न्यूनीकरणका लागि गण्डकी प्रदेशबाट महत्वपूर्ण सुझावहरु सङ्कलन गरेर कार्य थालिने बताए ।

उनले लैङ्गिक हिंसा विरुद्धको वर्ष अभियान २०७६/७७ लाई प्रभावकारी बनाएर विशेष योजनामार्फत अघि बढिनेमा जोड दिए। उनले भने, ‘गण्डकी प्रदेशबाट हिंसा विरुद्धको अभियानमा प्रदेश कार्यालयसँग समन्वय गर्दै समस्याको पहिचानमार्फत प्रभावकारी तरिकाबाट काम थाल्नेछौँ ।’ उनले विस्तृत अध्ययनपछि मात्रै थप कुरा सार्वजनिक गरिने बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिला हिंसा सामाजिक विकासको बाधक भएको बताए । उनले भने,’सभ्य समाजका लागि हिंसा सबैभन्दा ठूलो बाधक हो । सबैभन्दा पहिला कुरीति र कुसंस्कारको अन्त्य गर्न जरुरी छ ।’ उनले शिक्षा र सचेतनामार्फत हिंसा न्यूनीकरणमा प्रदेशले जोड दिने बताए ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले हिंसा अन्त्यका लागि कानून कार्यान्वयन नै महत्वपूर्ण हुने भनाइ राखे ।

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्थानीय तहबाटै लैङ्गिक हिंसालगायतका समाजमा विद्यमान विभिन्न कुरीतिजन्य हिंसा निवारण गर्न स्थानीय तहदेखि नै निर्देशिका बनाएर कार्य गरिने बताए । महिला हिंसाको विषय शब्दबाट भन्दा पनि व्यवहारबाट नहटाएसम्म पीडितले न्याय पाउन नसक्ने उनको भनाइ थियो ।

कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ को वार्षिक कार्ययोजनासम्बन्धी सहसचिव श्री रुद्रादेवी शर्माले प्रस्तुति राखेका थिए । शर्माको प्रस्तुतिमाथि विभिन्न समूहगत छलफल गरेर महत्वपूर्ण सुझाव सङ्कलन गरिएको थियो ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सामाजिक संघ संस्थाका व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस