कोहलपुर घटनाको विरोधमा नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोहलपुर घटनाको विरोधमा नेविसंघद्वारा काठमाडौंमा प्रदर्शन


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । कोहलपुर घटनाको विरोधमा नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका छन् । उनीहरुले गृहमन्त्रीको राजीनामासमेत मागेका छन् ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको थियो ।

आइतबार बिहान एक ट्रकले ठक्कर दिएर कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज–कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस