कोप–२५मा सहभागी हुन वन मन्त्री स्पेन प्रस्थान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोप–२५मा सहभागी हुन वन मन्त्री स्पेन प्रस्थान


२३ मंसिर २०७६, सोमबार


काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन(कोप–२५) मा सहभागी हुन स्पेनको म्याड्रिड प्रस्थान गरेका छन् । उनी स्पेनको म्याड्रिडमा कोपको विशेष सभालाई सम्बोधन गर्न आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मन्त्री बस्नेतले सभालाई बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२५) मा नेपालले हिमालयहरुमा हिउँ पग्लने क्रम बढेको विषयमा ध्यानाकर्षण गराउने भएको छ । साथै जलवायु परिवर्तनमा कम योगदान भएर पनि नेपालजस्ता अति प्रभावित मुलुकले क्षतिपूर्तिस्वरुप पाउनुपर्ने ‘ग्रीन क्लाइमेट फण्ड’ (हरित जलवायु कोष) उपलब्ध गराउन लबिङ गर्ने भएको छ ।

सभामा मन्त्री बस्नेतले नेपालको तर्फबाट विश्व तापमानमा परेको नकारात्मक प्रभावले उत्पन्न विषम परिस्थितिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने बताएका छन् ।

उनको साथमा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली लगायतको नेपाली प्रतिनिधिमण्डल छ ।

यसअघि दक्षिण अमेरिकी मुलुक चिलीको सान्टियागोमा तय भएको कोप–२५ त्यहाँको सरकारले विषम राजनीतिक परिस्थितिका कारण व्यवस्थापन गर्न असक्षम रहेको बताएपछि स्पेन सारिएको हो ।

मंसिर १६ देखि २७ सम्म चल्ने सम्मेलनमा विश्वका १ सय ९७ मुलुकका राष्ट्र तथा सरकार प्रमुख, वातावरणमन्त्रीहरुका साथै जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधि सहभागी छन् ।

मन्त्री बस्नेत मंसिर २९मा स्वदेश र्फकने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस