घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी काठमाडौं तानिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी काठमाडौं तानिए


२० मंसिर २०७६, शुक्रबार


निर्मला

काठमाडौं । घुस प्रकरणमा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । गृहले शुक्रबार उनलाई छानविनका लागि मन्त्रालय तानेको हो ।

उनले मेलुङ गाउँपालिका–४ भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका–१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङबाट बुधबार २१ हजार लिएको तथ्य सार्वजनिक भएको थियो। घटना सार्वजनिक भएपछि उनीमाथि दोलाखाबासीले कारबाहीको माग गर्दै आएका थिए।

सार्वजनिक मुद्दा लागेका लामा र तामाङसँग प्रजिअ रिजालले एक लाख ११ हजार रकम लिए पनि १० हजारको मात्रै बिल दिएपछि घटना सार्वजनिक भएको हो। त्यसलगत्तै उनले सम्बन्धित व्यक्तिहरुलार्इ बोलाएर बिहीबार सो रकम फिर्ता गरेका थिए।

यसअघि अख्तियारकै कर्मचारी समेत रहेका प्रजिअ रिजालले जनप्रतिनिधिमाथि हातपातको आरोपमा पक्राउ परेका लामा र तामाङसँग मुद्दा नचलाउने भन्दै सो रकम लिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस