हिउँदेबालीका लागि मलको अभाव नहुने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

हिउँदेबालीका लागि मलको अभाव नहुने


१७ मंसिर २०७६, मंगलबार


विराटनगर । हिउँदे खेतीका लागि प्रदेश नं–१ मा रासायनिक मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरले जनाएको छ ।

प्रदेशका १४ जिल्ला र प्रदेश नं–२ को सिरहा र सप्तरी गरी १६ जिल्लामा कम्पनीमार्फत किसानलाई सरकारी अनुदान प्राप्त रासायनिक मल आपूर्ति भइरहेको कम्पनीका सहायक प्रबन्धक नवरत्न गौतमले जानकारी दिए ।

हिउँदे मौसमका लागि १३ हजार ५०० मेट्रिक टन युरिया र ११ हजार मेट्रिक टन डिएपी विराटनगरको कार्यालयमा आउने र अहिले चार हजार १५८ मेट्रिक टन युरिया र एक हजार ६१३ मेट्रिक टन डिएपी गोदाममा आइसकेको सहायक प्रबन्धक गौतमले बताए । अहिले दैनिक २५ देखि ३० वटा ट्रकमा कोलकाताबाट मल आइरहेको बताइएको छ ।

नेपाल सरकारले युरिया, डिएपी र पोटास मलमा किसानलाई अनुदान दिँदै आएको छ । अनुदानका कारणले प्रतिबोरा रु दुई हजार २०० मूल्य पर्ने युरिया रु ७०० मा र रु दुई हजार १५० मूल्य पर्ने डिएपी रु एक हजार ५५० मा किसानलाई सरकारले मल उपलब्ध गराइरहेको छ ।

गहुँ, चिया, उखु, केरा र आलुखेतीका लागि आवश्यक पर्ने पोटास यस क्षेत्रका लागि पाँच हजार मेट्रिक टन आवश्यक रहेको र दुई महिनापछि मात्रै यो मल आइपुग्ने देखिएको कम्पनीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस