भत्ता वितरणमा अनियमितता गर्ने वडासचिव र कार्यालय सहयोगीमाथि भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भत्ता वितरणमा अनियमितता गर्ने वडासचिव र कार्यालय सहयोगीमाथि भ्रष्टाचार मुद्दा


१६ मंसिर २०७६, सोमबार


अख्तियार

काठमाडौं । बाराको आदर्शकोतवाल गाउँपालिकाको वडा नम्बर ६ का वडा सचिव र कार्यालय सहयोगीमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीबाट घुस माग गरेको आरोपमा वडा सचिव रामएकवाल यादव र कार्यालय सहयोगी दिनेश हजरामाथि अख्तियारले १२ हजार बिगोसहित विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो ।

आदर्शकोतवाल गाउँपालिका वडा नं. ६ का वडा सचिव यादव र कार्यालय सहयोगी हजराले वृद्ध भत्ता तथा विधवा भत्तासमेत वितरण गरेवापत प्रत्येक व्यक्तिसँग घुस रकम लिइरहेको खुलेको छ । वडा सचिव रामएकवाल प्रसाद यादवले रकम उठाउन लगाएको तथा कार्यालय सहयोगी दिनेश हजराले वडा सचिवको निर्देशनबमोजिम रकम उठाएको तथ्य सप्रमाण पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

राज्यले असहाय तथा असक्त नागरिकहरुलाई संरक्षणको लागि सामाजिक सुरक्षामार्फत उपलब्ध गराएको रकमबाट कानूनविपरीत रकम लिन मन्जुर गरेको देखिएकाले उनीहरुविरुद्द भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यादव र हजरालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको देखिंदा बिगो १२ हजार ५ सय ४८ रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३
को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस