डोल्पा । शिक्षा नेपालका अभियान्ताले एक किताब अभियान थालनी गरी बालबालिकालाई किताब प्रदान गर्न थालेका छन । हरेक बालबालिकाको हातमा पुस्तक र बाल पुस्तकालय निर्माणमा सघाउँदै शिक्षा नेपालले तीनहजार बाल किताब वितरण गरेको हो ।
जिल्लाको ठुलीभेरी नगरपालिका–६मा रहेको लक्ष्मी माध्यामिक विद्यायमा बाल पुस्तकालयको सुरुवात गरिएको छ । शिक्षा नेपालले डोल्पाका बालबालिकाहरुको हातमा एक पुस्तक भएपनि पुग्नै पर्छ भनेर यस पटक तिन हजार किताब डोल्पा पुर्याएर वितरण गरेको शिक्षा नेपालका अध्यक्ष प्रेमबहादुर बोहोराले जानकारी दिए ।
डोल्पामा पहिलो पटक लक्ष्मी माध्यामिक विद्यालय, थरगाँउ, विद्यामन्दिर माध्यामिक विद्यालय, माझफाल र सहिद शुक्रराज आधारभूत विद्यालय लाहारामा तीनहजार बाल किताब निःशुल्क वितरण गरिएको बोहोराले जानकारी दिए ।
शिक्षा नेपालले निःशुल्क उपलब्ध गराएका बालकिताबहरु बालबालिकाहरुले निरन्तर पढ्नेछन, शिक्षकले पढ्न दिनेछन् अभिभाबकले पढ्ने समय मिलाइदिनेछन् बोहोराले भने ।
निःशुल्क किताबसमेत पाएपछि बालबालिका दङ्ग छन भने सानैदेखी पढ्ने बानी लगायो भने बालबालिकाको भविष्य उज्वल छ भन्ने बारे अभिभावकले बिस्तारै बुझि रहेको पाइएको शिक्षा नेपालको दाबी छ । बालबालिकाहरुले निरन्तर नयाँ किताब पढि शिक्षा लिन र विद्यालय आउने गरेका छन ।
काठमाडौंमा स्वयंसेवकहरुले सक्लन गरेका बालकिताबहरु र अन्य विभिन्न कार्यक्रममा सँकलन भएका किताबहरु सँकलन गरी डोल्पाका बालबालिकाहरुलाई पढ्ने व्यवस्था शिक्षा नेपालले गरिदिएको छ ।
लाखौं मुल्य पर्ने तीनहजार बालकिताबहरु शिक्षा नेपालले विद्यालयमा निःशुल्क वितरण गरेको हो । यसबाट बालबालिकामा पढ्ने बानीको विकास, विद्यालय आउने रहरको विकास र लगनशीलता बढाउने विश्वास गरिएको लक्ष्मी माध्यामिक विद्यालयका प्रधानाध्यापक गगन बुढाले जानकारी दिए ।
समयमा पाठ्यपुस्तक नपाउने डोल्पाका बालबालिकाले बालकिताब पाएपछि बालबालिकामा खुसि छाएको हो । त्यसका साथै ठुलीभेरी नगरपालिका–५ को माझफालमा माझफाल सामुदायिक पुस्तकालयको स्थापना समेत गरेको बोहोराले जानकारी दिए ।
उनले उक्त सामुदायिक पुस्तकालयमा बालबालिकाहरुदेखि गाँउका सबैले बसेर पढ्न पाउने र ज्ञानका कुरा आर्जन गर्न पाउने बताए ।