‘इमोसनल्ली इन्टेलिजेन्ट’ कर्मचारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘इमोसनल्ली इन्टेलिजेन्ट’ कर्मचारी


९ मंसिर २०७६, सोमबार


आलोचना गलत होईन तर कुन हदसम्मको आलोचना भयो ? त्यसले अर्थ राख्छ । तीखो, तीतो आलोचना कहीँकतै हुन्छ भने त्यो पुनर्विचार गर्नुपर्ने संकेत हुन सक्छ । आज निजामती राष्ट्रसेवकहरु, सरकारी कार्यालयहरु र समग्र कर्मचारीतन्त्रको पलपलमा, टोलटोलमा र ‘होलसेल’मा यस्तै तीखो आलोचना हुन थालेकोले उक्त क्षेत्रले सोच्नुपर्ने बेला आइसकेको छ । मान्छेहरु लोसे, अनुत्पादक, पुरातन कर्मचारीतन्त्रको विकल्प खोजी गर्न थालिसकेका छन् । तर, विश्वमै हेर्ने हो भने कर्मचारीतन्त्रको विकल्प सुधारिएको कर्मचारीतन्त्र नै हो । त्यसैले विद्यमान कर्मचारीतन्त्रका अवगुणहरुलाई न्यूनीकरण गरेर कसरी मजबुत्, राम्रो र समयानुकूल बनाउने भन्नेमा आलोचना गर्ने र आलोचित हुने दुवैले सोच्नुपर्ने हो ।

कर्मचारी आफै सदाचार र नैतिकतामा बस्नुपर्छ । यतिमात्र हैन उनीहरु समाजमा आदर्श जीवनशैली अपनाएर बाँच्नुपर्छ भन्ने सर्वमान्य बुझाई हो तर कार्यालय अनुशासनदेखि अधिकारको प्रयोग, तलबभत्ता बुझ्नेदेखि सेवा सुविधाको उपयोगसम्म जताततै आलोचना हुने गरेको छ । कर्मचारीलाई विचार, भावना, आवेग, संवेगभन्दा कानून, पदसोपान, अधिकारले बाँध्न थालेपछि कर्मचारीतन्त्रको स्वरुप यान्त्रिक, अवैयक्तिक र संवेदनहीन हुदै गएको विद्वानहरु बताउँछन् । त्यसैले पछिल्लो समय सार्वजनिक प्रशासनमा नैतिकता, सदाचार, भावनात्मक सुझबुझ, नवप्रवर्तनकारी सोचलाई ठाउँ दिन थालिएको छ ।

आज सार्वजनिक पदधारण गरेका कर्मचारीलाई कार्यक्षेत्रमा निम्न चारओटा आयामहरुबीच तालमेल मिलाएर लैजानुपर्ने चुनौती सिर्जना भएको छः क) नैतिकता र सदाचारको आयाम, ख) जनमुखी र सेवाग्राहीमैत्री बन्ने आयाम, ग) सांगठनिक नियम, कानून, अधिकार र जिम्मेवारीको आयाम र घ) भावनात्मक बुद्धि, न्यायिक मन र नवप्रवर्तनको आयाम । कार्यबोझ र जिम्मेवारीले घेरिएको कर्मचारी जबसम्म यी चारओटै आयामहरुको उत्कृष्ट संयोजन गर्नबाट चुकिरहन्छ तबसम्म जनमुखी र जनउत्तरदायी सार्वजनिक प्रशासनको अपेक्षा पुरा हुन सक्दैन । उसको चर्को, तीतो आलोचना त हुन्छ नै । अर्को पक्षबाट गम्भीर भएर हेर्दा यी चारओटै आयामबीच उचित तादाम्यता मिलाउन उत्तिकै कठिन पनि छ ।

नैतिकता र सदाचारको आयामबाट हेर्दा कर्मचारीहरु कमजोर नैतिक शिक्षाको ‘स्कुलिङ’बाट आएका छन् । विभिन्न पूर्वीय हिन्दुलगायत अन्य धर्मका धर्मग्रन्थ, वेद, वेदांगहरु नैतिकता प्रवद्र्धन र विकास गर्ने महत्वपूर्ण आधार भएतापनि कार्यस्थलमा वा कर्मचारीको जीवनमा तिनको व्यावहारिक प्रयोग गर्न सकिएको छैन, सिकाइएको छैन । नैतिकता त्यस्तो दर्शन हो जसले व्यक्तिलाई सही र गलत, राम्रो र नराम्रोको बीचमा अन्तर छुट्याउन सक्ने बनाउँछ । त्यही आयाम कमजोर भए कर्मचारीले जनअपेक्षा पुरा गर्न सक्ने कुरै भएन । नैतिक शिक्षाको कमी, आफ्नो मान्छे राम्रो मान्छे संस्कृति, भनसुन संस्कार, सूचकमा आधारित भई निर्णय गर्ने पद्धति विकसित नहुनु जस्ता कारणहरु नैतिकता र सदाचारका अवरोधकका रुपमा देखिएका छन् ।

जनमुखी र सेवाग्राहीमैत्री बन्नुपर्छ कर्मचारी । त्यसका पछाडि पनि कम्तीमा चारओटा कारणहरु छन् । पहिलो, सार्वभौमसत्ताका स्रोत जनता हुन् । दोस्रो, कर्मचारीको तलब, सुविधा जनताले तिरेको करबाटै प्राप्त हुन्छ । तेस्रो, देश र जनताको सेवा गर्ने सपथ कर्मचारीले सेवा प्रवेशबिन्दुमै लिइसकेका हुन्छन् । चौथो, सेवाग्राही र कर्मचारीबीच मालिक–सेवक सम्बन्ध हुन्छ । कर्मचारी सेवाग्राहीको चाहनाप्रति जानकार, तिनका आवश्यकताप्रति संवेदनशील र तिनकै सहजताको लागि हरदम् तम्तयार बस्नुपर्छ ।

सांगठनिक नियम, कानून, अधिकार र जिम्मेवारीले थिचिएको हुन्छ कर्मचारी । यसो गरौं नियम, कार्यविधिले छेक्छ । उसो गर्न खोज्यो क्षेत्राधिकारमा पर्दैन । ऐन, कानुनका पाना पल्टायो फरक ढंगले कार्यसम्पादन गर्न निर्देशित गर्छ । त्यतिञ्जेल सेवाग्राहीमा धैर्यताको बाँध भत्किसक्छ । अरुको काम गर्ने, मेरो नगर्ने ? नियम, कानुनको चौघेरामा बाँधिएका कर्मचारीले आधुनिक प्रविधिको बानी परेका र सामाजिक सञ्जालमा जोडिएका सेवाग्राहीको अपेक्षा पुरा गर्न सक्दैनन् । सेवाग्राहीको नजरबाट गिर्छन् । पत्रकार, नागरिक समाज र आलोचकको नजरमा पर्छन् । कामचोर, अल्छेदेखि भ्रष्टसम्मको उपाधि पाउँछन् ।

भावनात्मक सुझबुझ, विवेक र नवप्रवर्तनको आयाम विश्वमै नौलो आयामको रुपमा भित्रिएको छ । भावनात्मक सुझबुझको प्रयोग मार्फत कर्मचारीले आफ्नो भावना, संवेगदेखि सेवाग्राहीको भावना एवम् संवेगलाई बुझेर काम गर्न सक्छ । सेवा प्रवाह गर्न सक्छ । आफ्नो विवेक, बुद्धिको सही उपयोग गर्न सक्छ । सेवा प्रवाहमा नवप्रवर्तनलाई स्वागत गर्न सक्छ । ‘अफिसियल’ नाताभन्दा मानवताको नातालाई ठाउँ दिन सक्छ । मस्तिष्कमात्रै हैन मनको प्रयोग गरेर जुनसुकै परिस्थितिमा राम्रो नतिजा निकाल्न सक्छ । अप्ठ्यारो परिस्थितिमा पनि ‘आवेश’ भन्दा ‘ऊर्जा’ ल्याउन सक्छ ।

आजको व्यवस्थापक, नेतृत्व, कर्मचारी सबैमा सेवाग्राही वा नागरिकले यिनै आयामहरुको खोजी गर्छन् । त्यसैले आजको नवप्रवर्तनकारी राज्यका लोकतन्त्रका ‘वितरक’ मानिने ‘सेतो कमिज, निलो पाइन्टधारी’ कर्मचारीहरु नैतिकवान, सेवाभावले युक्त, अधिकारप्रति उत्तरदायी र ‘इमोसनल्ली इन्टेलिजेन्ट’ हुनुपर्छ । सबै किसिमका परिस्थिति र आयामलाई संयोजन गरेर लैजानसक्ने क्षमता हुनुपर्छ ।

(लेखक नेपाल सरकारका उपसचिव हुन् ।)

प्रतिक्रिया दिनुहोस